Logo

आफुखुसी भाडा बढाउँदै यातायात व्यवसायी, सरकारदेखि व्यवसायीसम्मले भन्छन-गैरकानूनी, कारवाही भने हुँदैन्

आफुखुसी भाडा बढाउँदै यातायात व्यवसायी, सरकारदेखि व्यवसायीसम्मले भन्छन-गैरकानूनी, कारवाही भने हुँदैन्



काठमाडौं । पछिल्लो समय छोटो दुरी (प्रदेशभित्र) मात्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा व्यवसायीहरुले आफुखुसी बढाइरहेका छन् । लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहँदा प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनको भाडा सरकारले बढाएको छैन । त्यसैको फाइदा उठाउँदै उपत्यकामा चल्ने केही सार्वजनिक यातायात व्यवसायीहरुले भने आफुखुसी भाडा तोकेर यात्रुसँग लिने गरेका छन् ।

laxmi

काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको बुढानीलकण्ठ यातायातले पनि आइतबारदेखि भाडा बढेको भन्दै नयाँ भाडादरको मूल्यसूची आफु मातहतको बसहरुमा टाँसिसकेको छ । सरकारले भाडा नबढाइकनै यसरी यात्रुसँगै आफै नयाँ भाडा तोकेर लिनु गलत रहेको यातायात व्यवसायी केन्द्रीय महासंघका महासचिव भरत नेपाल बताउँछन् । उनका अनुसार पछिल्लो समय केही व्यवसायीहरुले उर्दी जारी गरेर यात्रुसँग बढेको भाडा लिन निर्देशन दिने गरेका छन् । तर, सरकारद्वारा तोकिएकोभन्दा बढी भाडा लिनु गैरकानुनी हुने उनको भनाई छ ।

यता ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक संजिव शर्मा दास भने यसरी बढी भाडा लिनेलाई कारबाही गर्नुपर्ने बताउँछन् । उनका अनुसार हालसम्म आन्तरिक रुपमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर नबढेपनि केही यातायत व्यवसायीले भने आफुखुसी बढेको भाडा लिइरहेका छन् । यसरी भाडालिनु गैरकानुनी हुने भन्दै उनले कारबाही गर्ने बताए ।

काठमाडौं उपत्यकामा चल्ने बुढानीलकण्ठलगायत केहि सार्वजनिक यातायात व्यवसायीहरुले सरकारले भाडा नबढाएको रिसमा आफै भाडा बढाएर यात्रुसँग असुलिरहेको एक यातायात व्यवसायीले बताए । सरकारसँग भाडा बढाउने लबिङ गर्न नसकी यात्रुबाट भाडा बढेको भन्दै बढी असुल्न केही व्यवसायीहरुले नै उर्दी जारी गरेको उनको भनाई छ । तर, यात्रुसँग सरकारले तोकेको भन्दा बढी भाडा लीनु सिधै गैरकानुनी भएकाले त्यस्ता व्यवसायीलाई कारबाही गर्नुपर्ने उनी स्वयं बताउँछन् ।

बुढानीलकण्ठ यातायातले पछिल्लो २ दिनदेखि बढेको भाडाको सूची बसमा टाँसेरै यात्रुसँग बढी भाडा असुलिरहेको बारे कम्पनीका अध्यक्ष बाबुराजा महर्जनलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडादर घटबढ गर्ने जिम्मा यातायात व्यवस्था विभागका भएपनि प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्ने जिम्मा भने प्रदेश सरकारको हुन्छ ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका उपसचिव हरिहर पोख्रेल भने हालसम्म प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर नबढेको बताउँछन् । उनका अनुसार भाडा बढाउने प्रक्रिया अघि बढेपनि हालसम्म भने भाडा बढिसकेको छैन । तर, भाडा नबढिकनै यात्रुसँग भाडा बढी लिन नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL