Logo

यसकारण अब अर्थ मन्त्रालयको जिम्मेवारी माओवादीलाई नदिने अडानमा काँग्रेस, मन्त्रालय हेरफेर विकल्प

यसकारण अब अर्थ मन्त्रालयको जिम्मेवारी माओवादीलाई नदिने अडानमा काँग्रेस, मन्त्रालय हेरफेर विकल्प



काठमाडौं । लामो विवाद र रस्साकस्सीपछि अन्ततः अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिए । आर्थिक वर्ष २०७९÷०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिए ।

laxmi

एमालेसहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए । अर्थमन्त्री शर्माले राजीनामा नदिएको भन्दै बुधबारकै प्रतिनिधिसभाको बैठक एमालेले बहिष्कार गरेको थियो । बुधबार नै संसदले अर्थमन्त्री प्रकरणको छानबिन गर्न १० दिनको समय दिएर ११ सदस्सीय संसदीय विशेष समितिको गठन पनि गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्ने क्रममा अर्थमन्त्री शर्माले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेसँगै बजेट प्रकरणका रुपमा चर्किएको विवाद हाललाई छानविन समितिमा पुगेर विश्राम लिएको छ । अर्थमन्त्री शर्माले छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको जानकारी दिँदै उनले छानबिन समिति गठनको स्वागत गर्दै समितिको प्रतिवेदन स्वीकार्य रहने पनि बताएका छन् ।

काँग्रेसले पाउँला अर्थमन्त्री ?

बुधबार अर्थमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत भएसँगै अब नयाँ अर्थमन्त्री को बन्ला भन्ने चासो सर्वत्र छ । देशको ढुकुटीको चाबी आफ्नो हातमा पार्ने चाहना सबैको देखिन्छ । गठबन्धन सरकारमा भएको भागबण्डाअनुरुप अर्थमन्त्रालय एकीकृत माओबादीको भागमा रहेको भएपनि अहिले तत्कालका लागि अर्थमन्त्रीको पदभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन् ।

माओबादीले राजीनामा दिएका आफ्ना नेता तथा अर्थमन्त्री जनार्दन शर्मामाथि छानविनका लागि गठित समितिको प्रतिवेदन नआएसम्म अर्को अर्थमन्त्री नपठाउने स्पष्ट पारिसकेको छ । माओबादी नेता वर्षमान पुनका अनुसार छानविन समितिबाट निर्दोष ठहरिए शर्मा नै अर्थमन्त्रीमा पुनः फर्किन सक्नेछन् ।

तर, सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसमा भने अब कुनै पनि हालतमा अर्थमन्त्री माओबादीलाई दिन नहुने चर्चा भइरहेको छ । काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालातथा कार्यकर्ता पक्तिंसमेत माओबादीलाई अर्थमन्त्रालय दिदा देशको अर्थतन्त्र नै डामाडोल भएको भन्दै अब अर्थमन्त्री काँग्रेसले नै लिएर जनतालाई सकारात्मक सन्देश दिनुपर्ने बताइरहेका छन् । यसका लागि प्रधानमन्त्री देउबालाई अर्थको सट्टा माओबादीलाई अर्को मन्त्रालय दिएर अर्थ काँग्रेसले लिनुपर्ने विकलप नेताहरुले सुझाएको स्रोतको दाबी छ ।

माओबादीको चाहना गृहमन्त्रालय भएपनि चुनावको मुखमा गृह काँग्रेसले कुनै पनि हालतमा माओबादीलाई नदिने स्पष्ट छ । यस्तो अवस्थामा परराष्ट्र र सूचना तथा सञ्चार मन्त्रालयमध्ये एक माओबादीलाई दिन सकिने काँग्रेस नेताहरुले बताएका छन् । तर, आफ्नो भागमा परेको अर्थमन्त्रालय माओवादीले छाडने सम्भावना नरहेको माओबादी नेताहरु बताउँछन् । तर, छानविन समितिबाट शर्मा दोषी ठहरिएमा नैतिक रुपमा पनि माओबादीले अर्थ मन्त्रालयको दाबी छाडन सक्ने र अर्को मन्त्रालयमा चित्त बुझाउन सक्ने स्रोत बताउँछ ।

यता काँग्रेस नेताहरु संघ र प्रदेशको चुनाव सम्मुख आइसकेको अवस्थामा अर्थमन्त्रालयको जिम्मेवारी काँग्रेसले लिएर मतदातालाई सकाारत्मक सन्देस दिन सके निर्वाचनमा फाइदा पुग्ने बताइरहेका छन् । यसमा केही काँग्रेस नेताहरु भने अर्थमन्त्रालय काँग्रेसले लिए आफुले अर्थमन्त्री बन्ने अवसर प्राप्त गर्न सकिने भन्दै प्रधानमन्त्री देउबालाई अब कुनै हालतमा माओबादीलाई अर्थमन्त्रालय दिन नहुने भनेर लबिङ गरिरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL