Logo

बागमती प्रदेशमा पनि साउनदेखि ७० प्रतिशत अंक ल्याए ट्रायल पास, कस्तो छ अन्य प्रदेशको अनुभव ?

बागमती प्रदेशमा पनि साउनदेखि ७० प्रतिशत अंक ल्याए ट्रायल पास, कस्तो छ अन्य प्रदेशको अनुभव ?



काठमाडौं । बागमती प्रदेशका यातायात कार्यालयले पनि साउनदेखि सवारी चालकको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक ल्याउनेलाई पास गर्ने भएका छन । देशका अन्य प्रदेशका यातायात कार्यालयले यसअघि नै उक्त प्रावधान लागु गरिसकेका भए पनि बागमती प्रदेशभित्रका यातायात कार्यालयले भने अहिलेसम्म पुरानै व्यवस्थाअनुसार परीक्षा सञ्चालन गरिरहेका छन् ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार वर्ग ‘ए’ र ‘के’ अनुमतिपत्रका लागि प्रयोगात्मक ७ वटा विविध शीर्षकमा अंक विभाजन गरेको छ । जसमा पहिलो चरणअन्तर्गत घुमाउरो आठ परीक्षणलाई २० अंक दिने व्यवस्था गरेको छ । यस्तै दोस्रो चरणमा साँघुरो फ्लेकलाई १० अंक दिने व्यवस्था रहेको छ भने तेस्रो चरण घुम्ती परीक्षण (यु टर्न) को १० अंक दिन पाईने प्रावधान रहेको छ ।

यस्तै चौथो चरणमा ट्राफिक संकेत परीक्षणको १५ अंक, पाचौं चरणमा उबड–खाबड परीक्षणको लागि १५ अंक दिन पाईने प्रावधान रहेको छ । छैटौं चरणमा उकालो परीक्षणको २० अंक र सातौ चरणमा समग्र व्यावहारगत पक्षको परीक्षणका लागि १० अंकमा विभाजन गरेको छ । यस्तै निर्देशिकामा बर्ग ‘बी’ का लागि पनि विभिन्न ७ परीक्षाका चरण छुट्याएको छ । जसका कारण सेवाग्राहि सानो गल्तीकै कारण अनुत्तीर्ण हुने दरमा कमि आएको विभागको बुझाई रहेको छ ।

साना साना गल्तीका कारण पनि सेवाग्राहीहरु फेल हुने नियमले सेवाग्राहीहरुले दलालको बाटोमार्फत पैसा तिरेर लाइसेन्स लिने प्रवृत्ति बढ्दै गएको थियो । ट्रायल नदिईकनै पैसा दिएर पाइने यस्तो लाइसेन्सले सवारी दूर्घटना बढाउने निष्कर्ष निकाल्दै नयाँ कार्यविधिमार्फत सरकारले ट्रायलको अंकमा हेरफेर गर्ने व्यवस्था गरेको थियो । तर, नेपालभरका सबै यातायात कार्यालयहरुले उक्त कार्यविधि लागु गरिसकेपनि बागमती प्रदेश अन्तर्गतका कार्यालयहरुले भने अटेर गर्दै आईरहेका थिए । अब भने विभागले आगामी साउन १ गतेदेखि नै यस्तो व्यवस्था गर्नका लागि निर्देशन दिएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार बागमती प्रदेशले पनि साउनदेखि सवारी अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याउनेलाई ट्रायल पास गर्ने व्यवस्था लागु गर्ने तयारी गरेको छ । उनले अहिलेसम्म बागमती प्रदेशवाहेक अन्य प्रदेशमा सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लागु भइसकेको र यसको प्रतिक्रिया सकारात्मक रहेको बताए । उक्त निर्देशिका २०७७ लागु भएका प्रदेशका अनुसार अहिले ७० अंक ल्याएर पास हुने व्यवस्था लागु भएपश्चात ‘म अलिकति छोएर फेल भए’ भन्ने किसिमका व्यक्ति न्यून रहेको र ठूलै गल्ती गर्नेमात्र फेल भएका उनको भनाई छ ।

‘सानोतिनो गल्तीका कारण नै अनुत्तीर्ण हुनेको संख्यामा कमी आएको छ,’ उनले भने, ‘यसअघि ट्रायल दिएर बढीमा ३० प्रतिशत परीक्षार्थीमात्रै पास हुने गरेको भएपनि अहिले पास हुनेको संख्या ७० प्रतिशतसम्म पुगेको छ ।’ निर्देशिकामै अंक कति र कुन चरणमा कसरी फेल भइन्छ वा कुन चरणमा कतिसम्मको गल्ती गर्दा मात्रै अंक घट्ने भन्ने स्पष्ट उल्लेख गरिएको छ । जसका कारण सेवाग्राहीले आफै कति अंक कसरी आयो भन्नेवारे थाहा पाउन सक्ने विभागका भनाई छ । सवारी चालकको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक ल्याउने ट्रायल पास हुने निर्देशिका अनुसार पास हुनेको संख्यामा उल्लेख्य बृद्धि भएको र अब परीक्षणकालीन लाइसेन्समा कडाई गर्नुपर्नेमा विभागका महानिर्देशक घिमिरेले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL