Logo

Global_Ime

१९ दिनमा २ खर्ब २२ अर्ब राजस्व उठाउनुपर्ने, लक्ष्य हासिल गर्न सफल होला सरकार ?

१९ दिनमा २ खर्ब २२ अर्ब राजस्व उठाउनुपर्ने, लक्ष्य हासिल गर्न सफल होला सरकार ?



काठमाडौं । चालु आर्थिक बर्ष सकिन अब १९ दिनमात्र बाँकी छ । यो अवधिमा सरकारले आफ्नो लक्ष्यअनुसार २ खर्ब २२ अर्ब राजस्व उठाउनुपर्ने छ । तर, अहिलेको गति हेर्दा सरकार चालू आवको राजस्व लक्ष्य हासिल गर्न असफल हुने देखिएको छ । हालसम्म सरकारले लक्ष्य अनुसारको राजस्व उठाउन नसकेका कारण बाँकी रहेको छोटो अवधिमा लक्ष्य भेट्टाउन मुस्किल हुने जानकारहरु बताउँछन् ।

laxmi bank orange saving
NABIL

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले शनिबार रातिसम्म लक्ष्यको जम्मा ८२ प्रतिशत राजस्व उठाएको छ । जसमध्ये कर राजस्वतर्फ ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँको लक्ष्य राखिएपनि हालसम्म उक्त शिर्षकमार्फत लक्ष्यको ८१.३८ प्रतिशत अर्थात ९ खर्ब ६० अर्ब रुपैयाँ उठेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार अनुदानमार्फत सरकारले चालु आवभरी ५९ अर्ब ९१ करोड रुपैयाँ उठाउने लक्ष्य राखेपनि सोही अनुसार उठ्न नसकेको देखिन्छ । कार्यालयका अनुसार चालु आबको हालसम्म सरकारले अनुदानबापतको जम्मा १३ अर्ब ८८ करोड रुपैयाँ मात्रै प्राप्त गरेको छ । त्यो लक्ष्यको जम्मा २३ प्रतिशत हो ।

यसरी समग्रमा हेर्दा सरकारले बाँकी रहेका १९ दिनमा लक्ष्यको १७ प्रतिशत राजस्व उठाउनुपर्ने छ । यो भनेको २ खर्ब २२ अर्ब रुपैयाँ हुन्छ । अर्थात सरकारले १९ दिनमा उक्त राजस्व उठाउनुपर्ने बाध्यता छ । जसको जिम्मा आन्तरिक राजस्व विभाग र भन्सार विभागले पाएका छन् । चालु आवको हालसम्म यी दुई विभागले पनि लक्ष्य अनुसार राजस्व उठाउन नसकेकाले पनि लक्ष्य भेट्टाउन मुस्किल हुने देखिन्छ ।

पछिल्लो समय केही बाधाहरुका कारण लक्ष्यअनुसार राजस्व उठाउन नसकिने आन्तरिक राजस्व विभागले जानकारी दिएको छ । अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षमा ५ अर्ब ३० अर्व रुपैयाँ राजस्व उठाउने गरी लक्ष्य तोकिदिएको छ । त्यो लक्ष्य प्राप्त गर्नका लागि जेठ मसान्तसम्म ४ खर्ब ६६ अर्ब रुपैयाँ उठ्नु पर्ने थियो । तर, जेठ मसान्तसम्म त्यो लक्ष्यमै दबाव परेकाले कार्यालयले लक्ष्य अनुसार राजस्व उठाउन नसक्ने विभागका सूचना अधिकारी राजु प्रसाद प्याकुरेल बताउँछन् । उनका अनुसार विभागले जेठ मसान्तसम्म जम्मा ४ खर्ब १० अर्ब रुपैयाँ उठाएको छ ।

बाँकी एक महिनामा विभागलाई १ खर्ब २० अर्ब रुपैयाँ उठाउने दबाव रहेपनि सोहीअनुसार उठाउन नसकिने उनी बताउँछन् । प्याकुरेलका अनुसार सरकारले आयातमा गरेको कडाई, अर्थतन्त्रमा देखिएको समस्या र कोरोना महामारीका कारण चपेटामा परेको सेवा क्षेत्र अझै शतप्रति चलायमान नहुँदा लक्ष्यअनुसार राजस्व उठाउन सकिने अवस्था छैन । ‘हामीले पाएको लक्ष्यअनुसार राजस्व जेठ मसान्तसम्म उठेको छैन, यसले लक्ष्य भेट्टाउन नसकिने देखाईसकेको छ,’ उनले भने, ‘हामी लक्ष्यअनुसार उठाउन काम गरिरहेका छौं, महानिर्देशकज्यु अनुगमनमा हुनुहुन्छ, देशभरका ८४ वटै कार्यालयमा लक्ष्य अनुसार राजस्व उठाउने गरी निर्देशन पनि दिईसकेका छौं ।’

यता भन्सार विभागलाई भने चालु आवमा ५ खर्ब ३७ अर्बको राजस्व लक्ष्य तोकिएको थियो । सोही नुसार भन्सार विभागले पनि जेठ मसान्तसम्म लक्ष्यको ८३ प्रतिशत मात्रै राजस्व उठाउन सकेको छ । अर्थात हालसम्म विभागले विभिन्न नाकाबाट सामान भित्र्याएबापत ४ खर्ब ४६ अर्ब ७९ करोड रुपैयाँ राजस्व उठाएको छ ।

स्वयं उद्योग मन्त्रालय र राष्ट्र बैंकले नै डलर संचितिमा दबाव परेको भन्दै आयात घटाउने नीति लागू गरेको अवस्था छ । सोही नीतिको असर भन्सार राजस्वमा परेको विभागका अधिकारीहरु बताउँछन् । पछिल्लो समय नेपालमा धेरै वस्तु आयात हुने वीरगंज र भैरहवा नाकाबाट खेलौनालगायतका वस्तुहरु आउँदैनन् । यसअघिका महिना प्रत्येक हप्ता ३ देखि ४ कन्टेनर आउने यस्ता वस्तुहरु पछिल्लो महिनादेखि घटेका छन् । यस्तै अन्य केही वस्तुको पनि आयात घटेपछि भन्सार राजस्वमै दबाव परेको विभागका अधिकारीहरु बताउँछन् । भन्सार विभागले पनि असार महिनामा मात्रै ९१ अर्ब रुपैयाँ राजस्व उठाउनुपर्ने दबाव भएपनि आयातमा प्रतिवन्धका कारण यो लक्ष्य भेट्याउन मुस्किल हुने बताइएको छ ।

यता अर्थमन्त्रालयले भने आगामी १९ दिनमा राजस्व लक्ष्य अनुसार पुग्ने बताएको छ । चालु आबको लक्ष्य अनुसार राजस्व उठ्नेमा मन्त्रालय निश्चिन्त रहेको मन्त्रालयका सहसचिव केदारनाथ शर्मा बताउँछन् । उनका अनुसार असार महिनाको अन्त्यतिर राजस्व बुझाउनुपर्ने मान्छेले बुझाउने र अनपेक्षित रुपमा पैसा आउने भएपनि लक्ष्य अनुसारको राजस्व उठ्नेमा मन्त्रालय निश्चिन्त भएको छ । आयातमा प्रतिवन्धका कारण राजस्व उठौतीमा केही असर परेपनि हालसम्म लक्ष्यअनुसार भने राजस्व उठ्ने अनुमान मन्त्रालयले गरेको उनी बताउँछन् ।

‘जेठ मसान्तसम्म आन्तरिक राजस्व विभागमा केहि दबाव भएपनि भन्सार विभागले लक्ष्यभन्दा बढी राजस्व उठाइसकेको छ,’ उनले भने, ‘अब कर तिर्ने मान्छेहरु असारको अन्त्यतिर मात्रै धेरै तिर्छन र लक्ष्य भेट्टाउन सजिलो होला ।’ सरकारले चालु आर्थिक बर्षका लागि कुल १२ खर्ब ४० अर्ब ५२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा शनिबार रातिसम्म जम्मा १० खर्ब १८ अर्ब ३२ करोड रुपैयाँ मात्रै उठाएको छ । यो कुल लक्ष्यको ८२ प्रतिशत हो । सरकारलाई आगामी १९ दिनमा २ खर्ब २२ अर्ब रुपैयाँ अर्थात प्रत्येक दिन ११ अर्ब ६९ करोड रुपैयाँ राजस्व उठाउनुपर्ने देखिन्छ । तर, पछिल्लो समय बढ्दै गएको पूँजीगत खर्चका कारण पनि राजस्वको लक्ष्य पुरा हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc