Logo

सरकार कमजोर बन्दा व्यापारीको कब्जामा बजार : दैनिक उपभोग्य वस्तुको मूल्यमा मनोमानी, उपभोक्ता आहत

सरकार कमजोर बन्दा व्यापारीको कब्जामा बजार : दैनिक उपभोग्य वस्तुको मूल्यमा मनोमानी, उपभोक्ता आहत



काठमाडौं । बजार अनुगमन र कारबाहीको प्रमुख दायित्व पाएको सरकार िनिकाय वाणिज्य विभाग निरिह बन्दा नेपाली उपभोक्ता बजार व्यापारीको कब्जामा पुगेको छ । राष्ट्रिय–अन्तरराष्ट्रिय विभिन्न कारणहरुले बजार मूल्य परिवर्तन हुने भएपनि नेपालमा भने नियामक निकाय नै लाचार बन्दै गर्दा बजारमा छाडा प्रवृत्ति विकास भएसँगै बजारले महँगी र कालोबजारीको उच्चतम विन्दु पार गर्न लागेको छ ।

laxmi

नियामक निकायको उपस्थिति बजारमा न्यून हुँदा व्यापारी तथा उद्योगीहरुले नै कृत्रिम अभाव र मूल्यवृद्धि सिर्जना गरिदिएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । उनका अनुसार हाल बजार नै व्यापारीले चलाएको जस्तो भएको छ । पछिल्लो समय बजारमा उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको छ । वस्तुको मूल्य सोचेको भन्दा शतप्रतिशत बढी तिरेर खरिद गर्न उपभोक्ता बाध्य छन् ।

पछिल्लो समय चिनीकै मूल्य हेर्दा पनि बजारको अवस्था स्पष्ट हुन्छ । उद्योगीले चिनीको मूल्य बढाएर पठाएपछि खुद्रा व्यापारीले पनि यसको मूल्य साविकको तुलनामा बढाएर बेच्नुपरेको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् । नेपालमा चिनी उत्पादनकर्ताहरुले स्वदेशी उत्पादनले नै पुग्ने भन्दै विदेशबाट आयात हुने चिनीमा प्रतिवन्ध लगाउन माग गरेका थिए ।

सोहीअनुसार सरकारले पनि आयात प्रतिवन्ध लगाएको थियो । तर, पछिल्लो समय भारतले चिनी निर्यातमा प्रतिवन्ध लगाउने हल्ला चल्दै गर्दा आयातमा प्रतिवन्ध लगाउन लविङ गरेका उद्योगीले नै भारतले प्रतिवन्ध लगाएको कारण देखाउँदै चिनीको मूल्य बढाएका हुन् । केही समयपहिले ९० देखि ९५ रुपैयाँमा पाईने चिनीको मूल्य हाल बढेर १ सय १० देखि १ सय १५ रुपैयाँसम्म पुगिसकेको छ । चिनी उत्पादनकर्ताहरुले नै चिनीको कृत्रिम अभाव देखाउँदै यसको मूल्य बढाईदिएका छन् ।

यसरी उद्योगीले मनपरी गर्दा पनि नियामक निकाय वाणिज्य विभाग मुकदर्शक मात्रै बनिरहेको छ । उसले आफ्नो काम कर्तव्य र अधिकारको प्रयोग गर्दै बजार नियन्त्रण गर्न नसकिरहेको आरोप उपभोक्ता अधिकारकर्मीहरुको छ । चिनीमात्रै होईन पछिल्लो समय बजारमा खानेतेल, लत्ताकपडा, सेवाक्षेत्रलगायतमा समेत चरम मूल्यवृद्धि र कृत्रिम अभाव निम्त्याईएको छ ।

हाल खानेतेलदेखि तरकारी र चामलदेखि चिनीसम्मको मूल्य अचाक्ली बढ्दा उपभोक्ताको भान्छा पहिलेको तुलनामा ८० प्रतिशतसम्मले महंगिएको छ । बजारमा व्यापारी र उद्योगीले नै अत्यावश्यक वस्तुकै कृत्रिम अभाव निम्त्याएर यसको मूल्य अचाक्लि असुलिरहेका छन् ।

विश्वबजामा मूल्यवृद्धि हुनु पूर्व नेपालमा भित्रिसकेको खानेतेलको मूल्य करिव शतप्रतिशले नै बढाईनु र आयातमा प्रतिवन्ध लगाईएको वस्तुको नै अन्तरराष्ट्रिय कारण देखाउँदै मूल्य बढाईनु नियामक निकायको लाचारीपन भएको मञ्चका अध्यक्ष बानियाँ बताउँछन् । रुस र युक्रेनका युद्धका कारण विश्वबजारमा नै उपभोग्य वस्तुको मूल्य महंगिएको छ । तर, नेपाली उद्योगी र व्यापारीले भने असह्य हुनेगरी नै वस्तुको मूल्य बढाईदिएको उनको आरोप छ ।

व्यापारीहरुले रुस र युक्रेन युद्धको कारण देखाउँदै वस्तुको मूल्य बढाएपनि खास कारण भने स्थानीय निर्वाचन भएको उपभोक्ता विज्ञहरु बताउँछन् । गत महिना भएको स्थानीय चुनावमा व्यापारीसँग राजनीतिक दलका नेताहरुले असुलेको चन्दाको रकम हाल व्यापारीले उपभोक्ताहरुसँग असुलीरहेको मञ्चका अध्यक्ष बानियाँले बिजखबरलाई बताए । उनका अनुसार व्यापारीहरुले तिरेको चन्दा हाल उपभोक्ताले दैनिक उपभोग्य वस्तुको मूल्यमार्फत तिर्नुपरिरहेको छ । यस्तो अवस्थामा बजारमा राज्यको नियामकिय भूमिकामा नै प्रश्न खडा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL