Logo

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हिजो सम्पर्कविहीन भएको तारा एयरको जहाज

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हिजो सम्पर्कविहीन भएको तारा एयरको जहाज



काठमाडौं । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हो ।

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएका जानकारी दिए। सरकारले यसका बारेमा औपचारिक पुष्टि भने गरेको छैन ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिका अध्यक्ष गौचनले बताए । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले भने सेना, सशस्त्र र प्रहरीको टोली घटनास्थलमा पुगिनसकेकाले औपचारिक पुष्टि भइनसकेको जानकारी दिए ।

कोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेको थियो ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL