Logo

आकाशिएको महँगी पुरानै अवस्थामा फर्किएला ? यसो भन्छन सरोकारवाला

आकाशिएको महँगी पुरानै अवस्थामा फर्किएला ? यसो भन्छन सरोकारवाला



काठमाडौं । युक्रेनमाथि रुसले हमला गरेपछि विश्व कमोडिटी बजारमा सबैभन्दा बढी असर परेको छ । युद्धले उपभोग्य वस्तुको बजारमूल्य, उत्पादन, व्यापार र खपतमा प्रत्यक्ष असर पारेको छ । जसमा सबैभन्दा बढी प्रभाव भने वस्तुको मूल्यमै पर्यो । यही युद्धका कारण विश्वबजारमा दैनिक उपभोग्य वस्तुहरुको मूल्यले हालसम्मकै उच्चतम विन्दुको रेकर्ड कायम गरिरहेको अवस्था छ । यसरी उपभोग्य वस्तुको मूल्य उकालो लाग्ने क्रम भने सन २०२४ सम्मै नरोकिने विश्व बैंकले सार्वजनिक गरेको ‘कमोडिटी मार्केट आउटलुक’ प्रतिवेदनले औँल्याईसकेको छ ।

laxmi

पछिल्लो २ बर्षदेखि लगातार उकालो लागिरहेको इन्धनको मूल्यवृद्धि १९७३ सालको तेल संकटपछिको सबैभन्दा ठूलो वृद्धि हो । यसरी इन्धनको मूल्य आकाशिएपछि यसमा भर पर्ने रासायनिक मलको अभाव हुँदैछ । यस्तै विश्वकै अन्न भण्डार मानिने रुस र युक्रेन नै युद्धमा होमिएपछि खाद्यवस्तुको मूल्य वृद्धि भने सन २००८ पछिकै उच्च विन्दुमा पुगेको विश्व बैंकको प्रतिवेदनले उल्लेख गरेको छ ।

समग्रमा हेर्दा यी दुई देशको युद्धका कारण मात्रै विश्व वस्तु बजारमा १९७० यताकै ठूलो हलचल मच्चियो । त्यसमाथि पछिल्लो समय भारत र इन्डोनेसियालगायतका देशले लगाएको वस्तु निर्यातको प्रतिवन्धले पनि विश्वबजारमा ठूलै असर पर्यो । २०२२ कै अन्त्यसम्ममा ईन्धनको मूल्यसमेत ५० प्रतिशत बढीले बढ्ने अनुमान विश्व बैंकको प्रतिवेदनमा गरिएको थियो । तर, आयातमा निर्भर देशहरुमा विश्व बैंकले प्रक्षेपण गरेभन्दा धेरै गुणा महंगी बढेको छ ।
जसको असर नेपालमा पनि पर्यो । पछिलो समय नेपालमा हरेकजसो उपभोग्य वस्तुको मूल्य धान्नै नसकिने गरी बढेको छ । कोरोना महामारीको त्रासको अन्त्यसँगै विश्वबजारमा बढेको व्यापार प्रवृत्तिका कारण सिपिङ चार्ज बढेसँगै बढेको उपभोग्य वस्तुको मूल्यमा पुनः दुई देशबीचको युद्धले थप पीडादायी अवस्था सिर्जना गरिदिएको छ ।

उपभोक्तोको भान्छादेखि नै असर पर्नेगरि तेल, चिनी, ग्याँसलगायत पेट्रोलियम पदार्थ र सुनको मूल्यमा उच्चतम वृद्धि हुँदा नेपाली अर्थतन्त्रमा ठूलै असर परेको छ । उच्च आयात हुँदै आएको नेपालमा मूल्यवृद्धिले वैदेशिक मुद्रा संचितिमा गिरावट आएको छ । मूल्यवृद्धिकै कारण अर्थतन्त्र नै अप्ठ्यारो अवस्थामा पुग्न लागेको प्रक्षेपण पनि हाल गरिँदैछ ।

तर, विश्वबजारमा र नेपाली बजारमा पछिल्लो समय उच्च विन्दुमा पुगेको उपभोग्य वस्तुको मूल्य कहिलेसम्म यही अवस्थामा रहन्छ ? यो महत्वपूर्ण प्रश्न हाल खडा भएको छ । विश्वका लागि तेलहन तथा खाद्यान्न पठाउने युक्रेनको एकमात्रै पोर्ट मारिओपोल हो । मारिओपोल युक्रेनको व्यापारिक केन्द्रका रुपमा परिचित छ । युक्रेनले विश्व बजारमा वस्तु निर्यात गर्ने सबैभन्दा प्रमुख पोर्ट पनि यही हो । उक्त पोर्ट हाल रुसले कब्जामा लिएको छ । जबसम्म रुसले आफ्नो कब्जामा भएको मारिओपोल युक्रेनलाई फिर्ता गर्दैन तवसम्म विश्वबजारमा खाद्य संकट र मूल्यवृद्धिको समस्या देखिने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापा बताउँछन् । उनका अनुसार नेपाललगायत विश्वबजारमा नै आकाशिएको उपभोग्य वस्तुको मूल्यले कहिलेसम्म निरन्तरता पाउँछ भनेर भन्न सकिने अवस्था छैन ।

मारिओपोल शहर नै रुसले कब्जामा लिएसँगै विश्वभर व्यापारचक्र थप विथोलिएको छ,’ उनले भने, ‘अब यो सहज हुन निक्कै गाह्रो छ, यदि सहज भयो भने पनि दुई देशबीचको युद्ध विराम भएपछिको ६ महिना अझै लाग्नेछ ।’ तर, हालसम्म पनि मूल्य वद्धि कहिलेसम्म लम्बिन्छ भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए ।

यता उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ पनि नेपालमा भने मूल्य वृद्धि नियन्त्रण हुने छाँटकाँट देख्दैनन् । उनी नेपालका सरोकारवालाहरुलाई मूल्य नियन्त्रण गर्न नसकेको दोष दिन्छन् । विश्वका अन्य देशले मूल्य वृद्धि नियन्त्रणको योजना बनाएर अघि बढिसकेका भएपनि नेपालले भने त्यो अझै सुरु गर्न नसकेको उनको आरोप छ । ‘अन्य देशमा मूल्य वृद्धि नियन्त्रण र खाद्य सुरक्षाकै लागि भएपनि आवश्यक वस्तुको निर्यातमा प्रतिबन्ध लगाउने, वस्तुको मूल्य समान राख्न कर कटौती गर्नेलगायतका कामहरु अघि बढिसकेका छन््,’ उनले भने, ‘तर, नेपालमा हालसम्म यस्ता विषयमा बहससमेत नभएको र स्वयंम सम्बन्धित निकायहरुसमेत मौन भएकाले नेपालले भने लामो समयसम्म यसको प्रभाव सहनुपर्नेछ ।’ उनी चाँडै यसका बारेमा सरोकारवालाहरुले नसोचे नेपाली जनताहरुका दुखमाथि दुख थपिँदै जाने बताउँछन् ।

यता नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ भने उपभोग्य वस्तुको मूल्य पुरानै लयमा फर्किने विश्वास गर्छन् । कुनै घटना वा अकस्मात निम्तिएको विशेष कारणले उपभोग्य वस्तुको मूल्य बढेपनि उक्त कारण सेलाउँदै जाँदा मूल्य पुरानै लयमा फर्किने उनको विश्वास छ । उनी महाभुकम्पताका निम्तिएको नाकाबन्दी र कोरोना महामारीको समयजस्तै अन्य समयमा पनि वस्तुको मूल्य घटबढ भइरहने बताउँछन् । ‘बजारमा वस्तुको मूल्य तलमाथि भईरहन्छ, कहिले उच्च घटबढ होला त कहिले थोरै,’ उनले भने, ‘उच्च घटबढ भएको ‘विशेष कारण’ सेलाएपछि वस्तुको मूल्य पनि पुरानै लयमा फर्किनेमा द्विविधा छैन ।’ पछिल्लो समय रुस युक्रेन युद्धका कारण निम्तिएको उपभोग्य वस्तुको अभाव र मूल्य वृद्धि युद्ध सकिने वित्तिकै पुरानै लयमा फर्किने उनको भनाई छ ।

उपभोग्य सबै वस्तुको मूल्य उच्च

रुस र युक्रेनबीच भईरहेको युद्धका कारण विश्वभर खासगरी इन्धन र खानेतेलको मूल्य उल्लेख्य बढ्यो । नेपालमा प्रायः वस्तुहरु आयात गरी उपभोग गर्ने हुनाले यसको प्रत्यक्ष असर नेपालमा अन्य देशको तुलनामा बढी पर्यो । रुसले युक्रेनमाथि हमला गर्नु अगावै सुरु भएको मूल्यवृद्धि हमलापश्चात भने अश्वाभाविक रुपमा वृद्धि भयो । खानेतेलकै कुरा गर्दा पनि करिव २ महिनाअघिसम्म भटमास र सुर्यमुखिको तेलको मूल्य औषतमा प्रतिलिटर २ सय ४० देखि २ सय ६० रुपैयाँसम्म पुगेको थियो । यस्तै करिव डेढ बर्ष अघि मात्रै खाना पकाउने तेलको औषत मूल्य नेपालमा प्रतिलिटर १ सय ६० देखि १ सय ७० रुपैयाँ मात्रै थियो ।

तर, पछिल्लो समय भने खानेतेलको मूल्य नै करिव २ सय रुपैयाँ प्रतिलिटरले बढेको छ । हाल नेपाली बजारमा सुर्यमुखी र भटमासको तेल प्रतिलिटर ३ सय ४० देखि ३ सय ५० रुपैयाँ पर्छ भने तोरिको तेलको मूल्य प्रतिलिटर ३ सय ७५ रुपैयाँसम्म पुगेको छ । यता सोही युद्धको कारण देखाउँदै ईन्धनको मूल्य बढेपछि ढुवानी खर्च पनि बढेको भन्दै दाल, चामल, मसलालगायत अन्य उपभोग्य वस्तुको मूल्य पनि २० देखि ४० प्रतिशतसम्म बढेको छ । यता नेपालमा पेट्रोलियम पदार्थको मूल्यसमेत हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ । हाल नेपालमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १ सय ७० र १ सय ५३ रुपैयाँ छ । पछिल्लो १ बर्षदेखि नेपालमा पेट्रोलियमको मूल्य करिव ८० देखि ९० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL