Logo

भन्सार विन्दुमा कारोबार मुल्य कायम गर्न चेम्बरको सुझाव, अनुगमन प्रणाली एकद्वार बनाउन आग्रह

भन्सार विन्दुमा कारोबार मुल्य कायम गर्न चेम्बरको सुझाव, अनुगमन प्रणाली एकद्वार बनाउन आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मुल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकास पौडेलसँग बिहिबार भएको भेटमा चेम्वरले बस्तुहरुको आयात/निर्यातमा भएको कारोबार मुल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो ।

भन्सारमा सन्र्दभ मुल्य कायम हुँदा मुल्य अभिवृद्धि कर भ्याटमा समस्या देखिएको भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन्र्दभ मुल्यका कारण समग्र राजश्वमा नै असर गरेको तथा हुण्डी कारोबार मौलाएको बताए । बिल, बिजक प्रक्रियामा पनि कठिन भएको अध्यक्ष मल्लको भनाई छ । उनले अनुगमन प्रणालीलाई एकद्धार व्यवस्थित एवं व्यवसाय मैत्री बनाउन महानिर्देशक पौडेल समक्ष आग्रह गरेका छन् ।

भन्सार विन्दुहरुमा हुने अनियमित कारोबारलाई नियन्त्रण गर्न तथा सीमा व्यापारलाई प्रभावकारी बनाउन सुराकीलाई उचित पुरस्कार तथा गलत तथ्य दिनेलाई दण्डित हुने व्यवस्था गर्न पनि उनले आग्रह गरे । राजश्व चुहावट सम्वन्धमा थुनछेक गर्ने प्रावधानलाई वित्तिय जरिवाना गर्ने व्यवस्था गर्न समेत चेम्बरले सुझाव दिएको छ ।

बैङिकङ प्रणालीमा ७ लाख भन्दा बढीको कारोबार गर्दा सवै बिबरण पेश गर्नुपर्ने राष्ट्र वैंकको पछिल्लो निर्देशन पनि अव्यवहारिक तथा झण्झटिलो भएको अध्यक्ष मल्लले बताए ।

साना तथा खुद्रा व्यवसायीको सहजीकरणका लागि ५० लाख रुपैयाँ सम्मको सिलिङलाई वृद्धि गरि २ करोड पुर्याउन समेत अध्यक्ष मल्लले आग्रह गरे । यो व्यवस्थाबाट थुप्रै साना व्यवसायीहरु करको दायरामा आउन प्रेरित हुने र अन्ततः यसले राजश्व वृद्धिमा नै सहयोग पुर्याउने अध्यक्ष मल्लको सुझाव छ ।

भेटवार्ताका क्रममा चेम्बर पदाधिकारीले आयात निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने सुझाव दिएका थिए । सरकारी नीति एकद्धार हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै चेम्बरले भन्सार प्रशासनमा डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

जवाफमा महानिर्देशक पौडेलले व्यापार सहजिकरणका लागि सरकार प्रतिवद्ध रहेको बताए । चेम्बरको सुझावप्रति सरकारात्मक रहेको भन्दै उनले भन्सारमा कारोबार मुल्यलाई मान्यता दिने सन्र्दभमा सरकार सकारात्मक रहेको बताएका हुन् । व्यावसायिक सहजिकरणका लागि सरकारले निजी क्षेत्रसंग हातेमालो गर्ने उनको भनाई छ । चेम्बरका तर्फबाट अध्यक्ष मल्ल सहित वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मलहोत्रा, अर्का उपाध्यक्ष दीपक श्रेष्ठ तथा कार्यसमिति सदस्यहरु पर्शुराम दाहाल र निरज राई सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL