Logo

विद्युतीय सामग्रीको आयात र उपयोग ह्वात्तै बढ्यो, नेपालको विद्युत र पूर्वाधारले कहिलेसम्म धान्ला ?

विद्युतीय सामग्रीको आयात र उपयोग ह्वात्तै बढ्यो, नेपालको विद्युत र पूर्वाधारले कहिलेसम्म धान्ला ?



काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतको मागभन्दा बढी उत्पादन हुन थालेपछि विद्युतीय सामग्रीको खपत पनि बढेको छ । जीवास्म उर्जा (पेट्रोल, डिजेल, कोइला ) को तुलनामा सरकारले पनि विद्युतीय उर्जाबाट चल्ने सामग्रीहरुमा जोड दिँदा यसको खपत बढेको देखिन्छ ।

laxmi

भन्सार विभागकै तथ्यांकलाई आधार मान्ने हो भने पनि चालु आर्थिक बर्षको पछिल्लो ३ महिनामा नेपालले विद्युतीय उर्जाको प्रयोग गरी ताप उत्पन्न गर्ने उपकरण मात्रै ५३ करोड १९ लाख रुपैयाँ बराबरको आयात गरेको छ । अर्थात यो समूहभित्र पर्ने हिटर, माइक्रोवेभ ओभन, इन्डक्सन चुल्होलगायतको आयात गत आवको सोही अवधिको तुलनामा बढेको देखिन्छ ।

भन्सार विभागका अनुसार गत आवको सोही अवधिमा नेपालले यस्ता उपकरणहरु ५१ करोड १७ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । पछिल्लो ३ महिनाको तथ्यांक हेर्दा नेपालले गत आवको तुलनामा इन्डक्सन चुल्होको आयातमा उच्च वृद्धि भएको देखिन्छ ।

चालु आर्थिक बर्षको ३ महिनामा झण्डै २ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको ९ हजार ८२ थान इन्डक्सन चुल्हो आयात हुँदा गत आर्थिक बर्षभरी भने जम्मा ३ करोड १७ लाख ७२ हजार रुपैयाँ बराबरको १९ हजार ८७ थान आयात भएको देखिन्छ । तर, चालु आवको ३ महिनामै भने गत आवमा आयात भए बराबरको विद्युतीय चुल्हो आयात भएको हो ।

यस्तै राईस कुकर, हेयर ड्रायर, इलेक्ट्रिक किट्ली, जग, पानी तताउने भाडालगायतको आयात पनि बढेको विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांक अनुसार गत आवको पहिलो ३ महिनाको तुलनामा चालु आवमा इलेक्ट्रिक जग, किट्लीलगायतको आयात ९ करोड रुपैयाँले बढेको देखिन्छ ।

गत आर्थिक बर्षको पहिलो ३ महिनामा ४ करोड ४ लाख रुपैयाँ बराबरको मात्रै आयात भएका यस्ता वस्तुहरु चालु आवको पहिलो ३ महिनामा मात्रै १३ करोड ४५ लाख रुपैयाँ बढीका आयात भएका छन् । जसमा पानी तताउने किट्ली र जग रहेका छन् ।

आर्थिक बर्षकै कुरा गर्दा पनि अघिल्लो आर्थिक बर्ष अर्थात २०७६÷७७ मा नेपालले विद्युतीय उपकरणहरु १ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । तर, गत आर्थिक बर्ष २०७७÷७८ मा भने त्यो बढेर २ अर्ब ६६ करोड ५० लाख रुपैयाँ पुगेको थियो । यसरी एक बर्षमै विद्युतीय उपकरणहरुको प्रयोग १ अर्ब रुपैयाँ बढिले बढेको पाइन्छ ।

नेपालमा हाल उत्पादित विद्युतको तुलनामा खपत कम भएको भन्दै सरकारले सवारीसाधनदेखि घरको चुल्होसम्म विद्युतीय प्रयोग गर्न जोड गरिरहेको छ । सरकारले यसैका लागि भन्दै विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन निर्माण, आवाशिय विद्युत प्रयोगको शुल्क घटाउनेलगायतका तयारीहरु पुरा गरिसकेको छ । हालैमात्रै विद्युत नियमन आयोगले आवासीय रुपमा विद्युतीय चुल्होलाई प्राथमिकता दिनका लागि भन्दै ५ एम्पियरबाट २० युनिटसम्म प्रयोग गर्ने सेवाग्राहीलाई निशुल्क विद्युत उपलब्ध हुनेछ ।

यस्तै, सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ तिरे पुग्नेछ ।

सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने पाँच एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ ।

यी शुल्कहरु आगामी मंसिरबाट लागु हुने भएपछि अझै विद्युतीय सामग्रीको उपयोग बढ्ने बताइएको छ । यसरी विद्युतीय सामग्रीको उपयोग बढ्दा विद्युत आपुर्तिको क्षमतासमेत विस्तार गर्नुपर्ने विद्युत प्राधिकरणका प्रवक्ता सुरेस बहादुर भट्टराई बताउँछन् । उनका अनुसार नेपाल विद्युत प्राधिकरण मागअनुसारको विद्युत आपुर्तिमा जोड दिईरहेको भएपनि कतिपय क्षेत्रमा स्थानीय स्तरबाटै असहयोग आउने भएपनि विस्तारमा समस्या भएको छ ।

पछिल्लो समय विद्युतीय चुल्होलगायतका सामग्रीको प्रयोग बढेपछि विद्युतको माग पनि सोही अनुसार बढेको छ । जसका कारण विद्युत लाईनको क्षमता विस्तार गर्नुपर्ने हुन्छ । तर, यसका लागि हालसम्म काठमाडौं उपत्यका केही हदसम्म तयार भएपनि उपत्यका बाहिरका कतिपय स्थानहरुमा अझै पूर्वाधार नपुगेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL