Logo

खानेतेल आयात–निर्यातको कथा, निर्यात उच्च भएपनि दुई महिनामै नेपाललाई अर्ब बढीको घाटा

खानेतेल आयात–निर्यातको कथा, निर्यात उच्च भएपनि दुई महिनामै नेपाललाई अर्ब बढीको घाटा



काठमाडौं । गत आर्थिक बर्षको दोस्रो चौमासिकबाट नेपालमा खानेतेलको आयात र निर्यात उच्च हुँदै आएको छ । नेपालबाट अन्तराष्ट्रिय रुपमा निर्यात हुने वस्तुको सूचीमा पछिल्लो समय खानेतेल अग्रस्थानमा रहँदै आएको छ । निर्यातको तथ्यांक केलाउँदा केही बर्षयता पाम आयलले ओगटेको आयात–निर्यातको बजार भारतको प्रतिवन्धका कारण सुस्ताएपछि अहिले त्यसको ठाउँ सनफ्लावर र भटमासको तेलले लिएका छन् । भारत निर्यातको प्रमुख उद्देश्य राखेर नेपाली व्यापारीहरुले विदेशबाट कच्चापदार्थ आयात गरेर नेपालमा प्रशोधन गरी पुनः विदेश पठाउँदै आएपनि खानेतलमा व्यापारघाटा भने अझै पनि ठूलो अन्तरको रहँदै आएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्ष अर्थात २०७८÷७९ को पहिलो २ महिनामा नेपालले २६ अर्ब ४७ करोड ४४ लाख रुपैयाँ बढीको १७ करोड ५४ लाख बढी लिटर कच्चा तेलहन आयात गरेको छ । यस अवधिमा नेपालले झण्डै १५ अर्ब ६० करोड रुपैयाँ बराबरको १० करोड बढी लिटर कच्चा सोयाविन तेल आयात गरेको छ । यस्तै ६ अर्ब ४५ करोड २६ लाख रुपैयाँ बराबरको कच्चा पाम तेल र ३ अर्ब १७ करोड ३७ लाख रुपैयाँ बराबरको कच्चा सनफ्लावर आयल आयात भएको छ ।

नेपालमा कच्चा तेल मुख्यत अर्जेन्टिना, ब्राजिल इजिप्ट, पाराग्वे, इन्डोनेसिया, मलेसियालगायतका देशबाट आयात हुने गरेको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार नेपालमा पछिल्लो २ महिनामा अर्जेन्टिनाबाट मात्रै ९ अर्ब ९७ करोड ४९ लाख रुपैयाँ बढीको कच्चा भटमासको तेल आयात भएको छ । यस्तै ब्राजिलबाट २ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ बढीको कच्चा भटमासको तेल आयात भएको देखिन्छ । भन्सार विभागका अनुसार नेपालले अर्जेन्टिना, ब्राजिल र इजिप्टबाट भटमास, इजरायल, स्पेन र कोरियाबाट ओलिभ, इन्डोनेसिया, मलेसिया र फिलिपिन्सबाट पाम तेल आयात गर्ने गरेको छ । यस्तै अर्जेन्टिना, रुस र युक्रेनबाट नेपालले सुर्यमुखीको बियाँ पनि आयात गर्ने गरेकोे छ ।

विभिन्न देशबाट आयात गरिएको कच्चा तेललाई नेपालका हाल रहेको २१ उद्योगहरुले प्रशोधन गर्ने गरेका छन् । यसरी प्रशोधन गरेर त्यसमा केही भ्यालु एड गरी निर्यात गर्ने गरेपनि खाने तेलको व्यापारमा भने नेपालले २ महिनामै १ अर्ब २ करोड ४४ लाख रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको छ । नेपालले यस अवधिमा २५ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ बराबरको प्रशोधित खानेतेल निर्यात गरेको छ । जसमा सबैभन्दा बढी तेल भारतमा गएको देखिन्छ । नेपालले भारतलाई पछिल्लो २ महिनामा २५ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ बराबरको १२ करोड ११ लाख ६८ हजार लिटर प्रशोधित तेल बेचेको छ ।

यसमध्ये सबैभन्दा बढी हिस्सा सोयाविन तेलको छ । यस अवधिमा नेपालले भारतलाई १६ अर्ब ४८ करोड रुपैयाँ बढीको प्रशोधित सोयाविन तेल बेचेको छ । यस्तै नेपालले पाम तेल, सुर्यमुखी तेल र अन्य खानेतेलहरु भारतलाई बेचिरहेको अवस्था छ । यता भारतबाहेक नेपालको प्रशोधित तेल उपयोग गर्ने एकमात्र देश भने जर्मनी हो । पछिल्लो २ महिनामा जर्मनीमा नेपालबाट ३ लाख २१ हजार रुपैयाँ बराबरको १ सय लिटर खाने तेल निर्यात भएको देखिन्छ ।

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार नेपालमा तेलको प्रशोधन गर्ने २१ उद्योग हाल संचालित छ । उनीहरुले विभिन्न देशबाट कच्चा पदार्थ ल्याई नेपालमा प्रशोधन गरी केही अंश नेपाललाई र राखी बाँकी तेल निर्यात गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL