Logo

नेपाल टेलिकमको फोरजीका ग्राहक एक महिनामै २० लाखले बढे, ‘एक्टिभ युजर’ साढे ४७ लाखको हाराहारीमा

नेपाल टेलिकमको फोरजीका ग्राहक एक महिनामै २० लाखले बढे, ‘एक्टिभ युजर’ साढे ४७ लाखको हाराहारीमा



काठमाडौं । नेपाल टेलिकमको फोरजीका ग्राहक एक महिनामै २० लाखले बढेका छन् । टेलिकमले एक महिनामै आफ्ना फोरजीका ग्राहक २० लाखले बढेको दावी गरेको हो । टेलिकमले दिएको जानकारी अनुसार असारमा महिनामा फोरजीका ग्राहक बढेर ४७ लाख ४४ हजार ३ सय ७५ पुगेको छ । यो जेठ महिनाको तुलनामा २० लाख ३६ हजार ९ सय ४६ जनाले बढी हो ।

laxmi

नेपाल दूरसंचार प्राधिकरण (एनटीए)ले जारी गरेको गत जेठ महिनाको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्नेको संख्या जम्मा २७ लाख ७ हजार ४ सय २९ थियो । टेलिकमले असार मसान्तसम्म उक्त संख्या बढेर ४७ लाख ४४ हजार पुगिसकेको बताएको छ ।

जेठ मसान्तसम्मको एमआईएस प्रतिवेदन अपडेट गर्दा फोरजी सब्सक्राईवरको केही तथ्यांक छुट भएकाले कम देखिएपनि ग्याप भने त्यति ठुलो नहुने टेलिकमका सहप्रवक्ता रञ्जित लोहिया बताउँछन् । ‘नेपाल टेलिकमले एमआईएस प्रतिवेदन अपडेट गर्दा केही तथ्यांक छुटेको हुनसक्छ । जसका कारण एनटीएको प्रतिवेदनमा जेठमा कम ग्राहक देखिए । तर, खास तथ्यांक भने हामीले सार्वजनिक गरेको तथ्यांक हो । हाल फोरजीका खास ग्राहक ४७ लाख नै हुन्’, उनले भने । उनले एक महिनामै २० लाखले सेवाग्राही भने नबढेको बताए ।

फोरजीको तथ्यांक एमआईएसमा अपडेट गर्दा एक्टिभ युजरको तथ्यांक मात्रै राख्ने गरिएको उनले बताए । कहिले चलाउने कहिले नचलाउने, सब्सक्राईव गर्ने तर नचलाउनेलगायतमा सेवाग्राहीलाई वर्गीकरण गरिन्छ । सोही अनुसार फोरजी सब्सक्राईव गरी सेवा लिईरहने सेवाग्राहीहरुलाई भने एक्टिभ युजरको क्याटागोरीमा राख्ने गरिएको उनको भनाई छ । तर, कहिलेकाहीँ मात्रै चलाउने, सब्सक्राईब गरेर नचलाएर बस्नेहको तथ्यांक जोड्दो टेलिकमको फोरजी सब्सक्राईव प्रोभिजनमा ७५ लाख नाघ्ने उनी बताउँछन् ।

गत बर्ष नै नेपालभर फोरजी सेवा विस्तार गरिसकेको घोषणा गरेको नेपाल टेलिकमले सबै जिल्लाहरुमा फोरजी सेवा पुगेसँगै ग्राहकहरुको संख्या पनि बढेको बताएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले केही क्षेत्रबाहेक सबै क्षेत्रमा टेलिकमको फोरजी सेवा पुगिसकेकाले ग्राहकको संख्या पनि बढ्दै गएको बताए । उनका अनुसार केही क्षेत्रमा भने विभिन्न निकायका कारण फोरजी सेवा विस्तार अझै गर्न सकिएको छैन । तर, विस्तार भईसकेका स्थानमा भने ग्राहकको संख्यामा वृद्धि हुँदै गएको छ ।

नेपाल टेलिकमले विस २०७३ सालदेखि नेपालमा फोरजी सेवाको विस्तार सुरु गरेको थियो । पहिलो चरणमा काठमाडौंमा र पोखरामा मात्रै विस्ता भएको यो परियोजना अघिल्लो बर्षदेखि नेपालभर विस्तार गर्नेगरी सुरु गरिएको थियो । कम्पनीले सबै जिल्लाहरुमा फोरजी सेवा सुरु गरिसकेको भएपनि केही जिल्लाका केही स्थानमा भने विभिन्न अवरोधका कारण काम गर्न सकेको छैन ।

स्थानीय जनता, वन मन्त्रालय, मौसम, कोरोना महामारीलगायतका समस्याका कारण अझै कुल स्थानीय तहको १५ प्रतिशत स्थानीय तहमा फोरजी सेवा विस्तार गर्न नसकिएको टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन् । उनका अनुसार नेपालभर हालसम्म ८५ प्रतिशत बढी क्षेत्रमा टेलिकमको फोरजी सेवा विस्तार भईसकेको छ ।

नेपाल टेलिकमका अनुसार हालसम्म कम्पनीको भिओएलटीई सेवा प्रयोग गर्नेको संख्या ५ लाख ६३ हजार पुगेको छ । यस्तै केही महिना अघि मात्रै संचालनमा ल्याईएको एनटीटिभीका ग्राहक पनि २ हजार ५ सय ८६ पुगेका छन् भने १ लाख ८० हजार बढी सेवाग्राहीसम्म फाईबर टु दी होम (एफटीटीएच) सेवा पुगेको छ । कम्पनीले एफटीटीएच परियोजनाअन्तर्गत एउटै अप्टिकल फाईबरमार्फत भ्वाईस, डाटा र भिडियोको सुविधा दिँदै आएको छ ।

जसमा एफटीटीएचमार्फत डाटा प्रयोगकर्ता १ लाख २२ हजार ११०, भ्वाईस प्रयोगकर्ता १ लाख २७ हजार २ सय २३ र भिडियो प्रयोगकर्ता २ हजार ५ सय ८६ पुगेका हुन् । टेलिकमका अनुसार हालसम्म मोबाईल डाटा सेवा १ करोड ९९ लाख ७१ हजार ८६ जनासम्म विस्तार भएको छ । साथै टेलिकमको मोबाईल टेलिफोन सेवा प्रयोग गर्नेको संख्या २ करोड ४ लाख ९ हजार बढी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL