Logo

कालिज पालनमा युवा आकर्षण : अर्बौ लगानी, उच्च प्रतिफल

कालिज पालनमा युवा आकर्षण : अर्बौ लगानी, उच्च प्रतिफल



काठमाडौं । नेपालमा पछिल्लो समय कृषि पेशामा युवा आकर्षण निकै बढ्दो छ । अहिले युवा वर्गमा कृषि पेशाबाट पनि उच्च प्रतिफल र सम्मान पाउन सकिन्छ भन्ने धारणा बढ्दै गएको छ । यसका कारण सम्मानि र उच्च आम्दानी गरिरहेका युवाहरुसमेत अहिले ठूलो लगानीसहित कृषि पेशामा सक्रिय बन्दै गएका छन् ।

laxmi

कृषि क्षेत्रमा नयाँ तरिका वा व्यवसाय अंगाल्ने र प्रयोग गर्नेहरुको संख्यासमेत बढ्दो छ । यसको उदाहरण पछिल्लो समय नेपालमा कालिज पालन व्यवसायमा बढ्दो लगानी र युवा आकर्षणलाई हेर्न सकिन्छ । बढ्दो मासुको माग र शहरिया नागरिकको ‘चुजी जिब्रो’का कारण जंगली चरा भनिने कालिज पालनमा युवाको आकर्षण बढ्दै गएको छ ।

नेपाल कालिज पालक कृषक महासंघका अनुसार अहिले देशभर कालिज पालनमा अर्बौको लगानी भइसकेको छ र युवाहरुको यसमा आकर्षण पनि लोभलाग्दो छ । काठमाडौंको चाल्नाखेलमा रहेको एभरेष्ट वाईल्डलाईफ एग्रोका संचालक तथा महासंघका अध्यक्षसमेत रहेका शुसील भट्टराईका अनुसार पछिल्लो समय काठमाडौंलगायत मोफसलमा पनि कालिज पालन व्यवसाय लगातार विस्तार हुँदै गएको छ । विस २०७५ सालदेखि काठमाडौंको चाल्नाखेलमा फार्म बनाएर कालिज पाल्दै आएका उनले आफ्नो फार्मका शाखा कीर्तिपुर, धादिङ र सुर्खेतलगायत ७ स्थानमा संचालनमा ल्याईसकेका छन् । केही स्थानमा उनले सेयर हालेका छन भने धेरै स्थानका युवाहरुलाई अघि सारेर प्राविधिक सहयोग दिएर कालिज पालन गरिरहेका छन् ।

हाल उनले सबै स्थानमा गरेर १४ हजार कालिज उत्पादन गरिरहेको बताए । काठमाडौंमै बढी खपत हुने कालिज विक्रीका लागि ह्याचरीमा सम्पर्क गर्नेगरेको उनले बताए । हाल उनले फार्मबाट होलसेलमा २ हजार ५ सय र खुद्रामा ३ हजारसम्म प्रतिगोटा कालिज विक्री गरिरहेका छन् । यसको चल्ला खरिद गर्दा १ हजार देखि २ हजार रुपैयाँ प्रतिगोटासम्म पर्छ । तर, एकपटक चल्ला लिएर त्यसबाट अरु चल्ला उत्पादन गर्न सकिने उनी बताउँछन् ।

मोरङको केराबारीका हरि भट्टराईले पनि हाल ४ हजार बढी कालिज पालिरहेका छन् । धरानकै बजारमा आफ्ना कालिजको मासु खपत भएको बताउने उनले सुरुवातमा १ हजार कालिजबाट यो व्यवसाय सुरु गरेका थिए । ‘मैले यसअघि १ हजार कालिज हालेको थिएँ,’ उनले भने, ‘त्यो कालिज बजारमा पुगेन अर्थात १ हजार कालिजले बजारको माग धान्न नसकेपछि अहिले ४ हजार कालिज हालेको छु ।’ उनले पनि धरानको एक रेष्टुरेन्टसँग सम्झौता गरेरै प्रतिगोटा ३ हजारका दरले कालिज बेचिरहेको बताए ।

यसरी दिनदिनै युवावर्ग कालिज पालन व्यवसायमा आकर्षित हुँदै जाँदा नेपालभर २ सय ७० बढी कालिज फार्महरु संचालनमा आईसकेको अनुमान महासंघको छ । नेपाल कालिज पालक कृषक महासंघका अध्यक्ष भट्टराईले नेपालमा २ सय ७० बढी कालिज फार्म संचालनमा आइसकेको बताए । उनका अनुसार नेपालमै सबैभन्दा पहिले कालिज पालनका लागि लाईसेन्स लिने नै उनी हुन् । उनले विस २०७५ सालमा कालिज पालन गर्नेगरी लाईसेन्स लिएका थिए । सुरुसुरुमा युट्युवमार्फत आफ्नो पेशाको मार्केटिङ गरेर व्यवसाय गरेका उनले हाल आफ्नो व्यवसाय राम्रै चलेको बताए ।

नेपालभरको कालिज पालनको ट्रेन्डलाई हेर्दा यो व्यवसायमा कम्तिमा पनि ३ अर्बसम्म लगानी भईसकेको हुनसक्ने अनुमान छ । तर, धेरै व्यवसायीहरुले आफुहरु कानुनी रुपमा कालिज नपालेर अवैधानिक रुपमा पालिरहेको उनको भनाई छ । कम्पनीमा दर्ता नगरीकनै र लाईसेन्स नलिईकनै यो व्यवसाय सुरु गरिदिनाले यसमा अवैधानिकता मौलाएको उनको भनाई छ । कालिजको मासुका लागि सबैभन्दा ठुलो मार्केट नै काठमाडौं हो । काठमाडौं वरिपरी उत्पादन हुने सबै कालिजहरु काठमाडौंमै खपत हुनेगरेको उनको भनाई छ । उनले पालेका कालिजहरु सुर्खेत र धादिङबाट पनि प्रायः काठमाडौंमै आउने गरेको बताए ।

कालिज पालनमा आकर्षण

पछिल्लो समय यसतर्फ नेपाली युवाहरु कालिज पालनमा उच्च प्रतिफल देखेर आकर्षित हुँदै गएको देखिन्छ । बजार र प्रतिफल सुनिश्चित भएका कारण कालिज पालनमा विशेष आकर्षण बढेको अध्यक्ष भट्टराई बताउँछन् । उनका अनुसार धेरै युवाहरुले युट्युबमै हेरेरै कालिज पालन सुरु गरेका छन् । तर, एकपटक युट्युवमा हेरेको भरमा कालिज पाले कहिलेकाहीँ ठुलो नोक्सान व्यहोर्नुपर्ने हुन्छ । हालै धेरै ठाउँमा असिनाले, पानीले धेरै कालिजहरु मरेको खवर आउने गरेको उनले बताए ।

जसको प्रमुख कारण देखासिकी गरेर कालिज पालन गर्ने र सोही अनुसारको प्राविधिक ज्ञान नहुनाले नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउने उनको भनाई छ । करिव ३ बर्षअघि मात्रै नेपालमा शुन्य रहेको कालिज पालन व्यवसाय हाल फस्टाइरहेको उनले बताए । हाल महासंघमा मात्रै पनि ६० बढि कालिज व्यवसायी जोडिएको बताए । यस्तै पछिल्लो जानकारी अनुसार नेपालमा २ सय ७० बढि युवाहरुले कालिज पालिरहेको उनको भनाई छ । चल्ला र अण्डाको सहज पहूँच भएपछि यसमा आकर्षित हुनेको संख्यामा वृद्धि हुने उनी बताउँछन् ।

सरकारी सहयोगको आशा

पछिल्लो सयम व्यवसाय बढ्दै जाँदा व्यवसायीले सरकारी सहयोगको अपेक्षा पनि गरिरहका छन् । नेपालमा यसबारे आवश्यक स्वास्थ्य, सुरक्षा, बजारलगायतको समस्या बेलाबेलामा आउन थालेको बताउँदै अध्यक्ष भट्टराईले सरकारले उचित बजार व्यवस्थापन, बीमा सेवा, स्वास्थ्य सेवालगायतमा विशेष सहुलियत तथा नीति निर्माण गरिदिनुपर्ने बताए । सरकारले कालिज पालनलाई कुखुराकै वर्गमा राखेकामा पनि व्यवसायीहरु सन्तुष्ट नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL