Logo

मलाई पनि प्रधानमन्त्री शेरबहादुर देउबा मनपर्छ !

मलाई पनि प्रधानमन्त्री शेरबहादुर देउबा मनपर्छ !



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा एक महिनाअघि पाँचौपटक नेपालको प्रधानमन्त्री बनेसँगै धेरैले उनलाई भाग्यमानीको विशेषण थपिदिएका छन् । नेपालको प्रमुख कार्यकारी अधिकारसहितको प्रधानमन्त्री पदमा पाँचौपटक पुग्नुलाई भाग्यकै खेल मान्नैपर्छ । भाग्य नभए त एकपटक पनि प्रधानमन्त्री बन्ने योग्यता र क्षमता उहाँमा थिएन भन्ने उहाँ आफैले आफ्ना विगतका चार कार्यकालका कामले पुष्टि गरिसक्नुभएकै हो । यसरी बुझ्ने हो भने हामीले अहिले निकै भाग्यमानी प्रधानमन्त्री पाएका छौं ।

laxmi

विगतमा सुरा–सुन्दरी, पजेरो, जम्बो मन्त्रिमण्डल बनाउनेदेखि तत्कालीन राजा ज्ञानेन्द्रलाई जनताको सार्वभौम अधिकार नै सुम्पिएको आरोपसहित हजारौं कुकर्महरुका कारण कुख्यात बनेका सम्माननीय प्रधानमन्त्री देउबा पाँचौपटक प्रधानमन्त्री बनेपछि भने मलाई निकै मन पर्न थालेका छन् । देउबाजस्तो प्रधानमन्त्री पाउनु देउबाको लागि भाग्यको द्धार खुल्नुभन्दा पनि हामी नेपाली जनता भाग्यमानी हुनु हो कि भन्ने अनुभुति हुन थालेको छ । देउबा प्रधानमन्त्री पाउनु कसरी हामी भाग्यमानी ? भन्ने प्रश्न गर्नुहोला । जसको पहिलो कारण त उनले प्रधानमन्त्री बनेको एक महिनासम्म केही काम गरेका छैनन् । जसले देशलाई फाइदा नै भएको छ । नेपालमा प्रधानमन्त्री मन्त्रीहरुले केही काम गरे कि देशलाई सधै घाटा नै हुने गर्छ । यस्तोमा देउबाले केही नगर्नु भनेको देशलाई फाइदा हुनु हो । उनले देशलाई घाटा नपरोस भनेर केही काम नगर्दा आज देशको अर्बौ रुपैयाँ बचत भएको छ ।

देउबाले प्रधानमन्त्री बनेलगत्तै विभिन्न विज्ञ सल्लाहाकारका नाममा अहिलेसम्म कोही कसैलाई नियुक्त गरेका छैनन् । आर्थिक सल्लाहाकार, प्रेस सल्लाहाकार, अन्तराष्ट्रिय मामिला विज्ञजस्ता नाममा प्रधानमन्त्रीको सचिवालयमै १०–२० जनालाई राम्रै तलब भत्तासहितको जागिरको व्यवस्था भएपनि देउबाले एक महिनासम्म त्यस्ता जागिरे नियुुुक्त नगरेर देशको करोडौं रुपैयाँ बचाएकोमा मलाई देउबा मन पर्न थालेका छन् । हुन पनि यस्ता सल्लाहकार र विज्ञको काम कस्तो हुन्छ भन्ने हामी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा राम्ररी नै भोग्न पाइयो । सल्लाहकार र विज्ञको नाममा सरकारले जे गरेपनि ठीक भन्ने, प्रधानमन्त्रीलाई बाहिर सबै राम्रो मात्रै भइरहेको छ, नेपाली जनता आन्नदले बाँचिरहेका छन्, समस्या केही छैन भन्दै आँखामा पट्टी बाँध्ने कामबाहेक तिनले गरेको काम भनेको भ्रष्टाचार, क्षुद्रता प्रदर्शन, गालीगलौज र प्रधानमन्त्रीको सचिवालयमा बसेर पाए र भेटेसम्मको धन सोहोर्नेमात्र भयो । नत तिनले कहिल्यै कोरोनाको त्रास र पीडा देखे, नत जनता भोकभौक खुलामञ्चमा छटपटिएको देखे, नत तिनले जनता खालीखुुुट्टा दुई हप्ता पैदल हिंडेर गाउँ फर्किएको देखे, नत तिनले सीमानामा लुटिएका र भारतीय एसएसबीबाट कुटिएका नेपाली देखे । यसैले मलाई यस्ता सल्लाहाकार एक महिनासम्म पनि देउबाले नियुक्त नगरेकोमा ‘आइ लभ यू प्राइमिनिष्टर’ भन्न मन लागेको छ ।

यो एक महिनाको अवधिमा देउबाले गरेको सबैभन्दा महान काम कुनै छ भने त्यो मन्त्रिमण्डल विस्तार नगर्नु हो । देउबाले यो एक महिनाको अवधिमा कम्तीमा २० मन्त्रीको जागिर पूर्ति नगर्दा देशलाई कति बचत भयो भन्ने सम्झेर पनि मन रोमाञ्चित हुन्छ । ती मन्त्रीको तलब–भत्ता, सुविधा र सौख पूरा गर्न एक महिनामा पनि देशको करोडौं रुपैयाँ खर्च भइसक्ने थियो । एक महिनामै मन्त्री बनेकाहरुले देशलाई मिलेसम्म लुटेर अर्बौ रुपैयाँको क्षति पुर्याइसकेका हुने थिए ।

हुन त वर्तमानको कोभिड संकटमा एउटा स्वास्थ्यमन्त्री नियुक्त गर्न नसक्नु, देशको अर्थतन्त्र धर्मराएको समयमा उद्योगमन्त्री, पर्यटन संकटमा पुगेका बेला पर्यटनमन्त्री, देशमा लाखौले रोजगारी गुमाएर श्रम सम्बन्ध बिग्रन लागेको बेला श्रम मन्त्री नियुक्त नहुनु, शिक्षाको अवस्था डामाडोल भएको बेला शिक्षामन्त्रीसमेत नियुक्त नगरेर देउबाले एक महिना बिताउनु देशका लागि निकै चिन्ताको विषय हो । बिदेशमा भए एक महिनासम्म मन्त्रीहरु नियुक्त नहुँदा सम्बन्धित क्षेत्रमा ठूलो क्षति पुग्ने थियो । किनकी बिदेशमा मन्त्रीहरुले आफ्नो विषय विज्ञता, ज्ञान र जनताको सेवकका रुपमा जनता र देशका लागि काम गर्छन । जसका कारण उनीहरु आवश्यक पनि हुन्छन् ।

तर, नेपालमा अहिलेसम्म मन्त्री बनेकाहरुले कुन मन्त्रालयअन्तरगत रहेर आफ्नो जिम्मेवारीको काम गरेका छन् ? स्वास्थ्यमन्त्रीलाई कोरोना महामारीमा पनि जनताको जीवन बचाउनेभन्दा पनि स्वास्थ्य सामग्री खरिद गरेर अर्बौ रुपैयाँ कमिसनमात्र कुम्ल्याउन व्यस्त भएको देखियो । पहिले–पहिले लुकाएर हुने भ्रष्टाचार अहिले खुलेआम गर्छन मन्त्रीहरु । देशका लागि भन्दा पनि आफ्नै लागि मात्र काम गर्ने भएपछि देशमा किन मन्त्री चाहिए, भ्रष्टाचारमात्र गर्ने भएपछि किन मन्त्री चाहिए । देशलाई पाएसम्म लुटेर खोक्रो बनाउन किन मन्त्री चाहिए । त्यसैले प्रधानमन्त्री देउबाज्यू सकेसम्म थप मन्त्री नियुक्त नगरेर देशलाई थोरै भएपनि त्राण दिनुस ।

देउबा पछिल्लो समय मलाई मात्र हैन् बिदेशीहरुलाई समेत मन पर्न थालेका छन् । दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीको अमानवीय कार्य तर्दातर्दैको तुुइन काटिएपछि महाकालीमा वेपत्ता भएको दुईहप्ता नाघिसक्यो । तर, सम्माननीय प्रधानमन्त्री देउबा केही गर्दैनन्, चुइक्क बोल्दैनन् । त्यसैले अहिले देउबा भारतलाई पनि मन पर्न थालेको छ । देउबा आएपछि अमेरिकाको अनुदानअन्तरगतको एमसिसी परियोजना पास हुन्छ भनेर अहिले देउबा अमेरिकादेखि नेपालसम्मैक धेरैलाई मन पर्न थालेका छन् । हुन त देउबा पछिल्लो समय प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवदेखि बाबुराम भट््राईले् मन पराएरै नेपालको प्रधानमन्त्री बनेका हुन् । जनताले त उनलाई मन नपराएरै उनको पार्टीलाई प्रतिपक्षमा बस्न बाध्य बनाएका थिए । तर, प्रचण्ड र माधव नेपालको राजनीतिक तिकडमका कारण ओलीको मन नपर्दानपर्दै पनि प्रधानमन्त्री बनेका शेरबहादुर देउबा ओलीलाई पनि कुनै दिन मन पर्छन कि ?

प्रतिक्रिया दिनुहोस्
MBL