Logo

रोनाल्डो मात्रै हैनन् ‘सेयर’ बजार हल्लाउने सेलिब्रेटी, यी सेलिब्रेटीका कारण पनि गिरेको थियो सेयर बजार

रोनाल्डो मात्रै हैनन् ‘सेयर’ बजार हल्लाउने सेलिब्रेटी, यी सेलिब्रेटीका कारण पनि गिरेको थियो सेयर बजार



काठमाडौं । केही दिन अघिमात्र क्रिस्टियानो रोनाल्डोले एक प्रेस सम्मेलनमा कोका कोलाको बोतललाई आफ्नो नजिकबाट हटाएसँगै कोका कोलाले स्टक मार्केटमा ठूलो क्षति बेहोर्यो । पोर्चुगलका स्टार फुटबलर र पाँच पटकका ‘बेलुन डि ओर’ विजेता क्रिस्टियानो रोनाल्डोले युरो २०२० मा हंगेरीबिरुद्ध उनको खेल अगाडि पत्रकार सम्मेलनलाई सम्बोधन गर्न आएका थिए ।

laxmi

उनले कुर्सीमा बस्नेबित्तिकै, पहिलो कुरा दुई कोका कोलाका बोतलहरू आफ्नो नजिकबाट हटाएर पानीको बोतल उठाए र पानी पिउन सल्लाह दिए । यसकारणले कोकाकोलाको स्टकमा गिरावट आउन थाल्यो र कम्पनीले ४ अर्ब अमेरिकी डलर (नेपाली करीब ५ खर्ब रुपैयाँ २ ) को घाटा बेहोर्यो । स्पेनिश अखबार मार्काका अनुसार युरोपमा शेयर बजार खुलेको बेला कोकाकोलाको १ सेयरको मूल्य ४४.१० अमेरिकी डलर थियो तर छोटो समयमा यो ४३.२२ डलरमा झरेको थियो ।

यो समाचार पहिलोपटक सुन्दा आश्चर्यजनक लाग्न सक्छ, तर यो पहिलो पटक भएको भने होईन । विगतमा, यस्ता धेरै उदाहरणहरू छन्, जब सेलिब्रेटीको ट्वीट वा ब्रान्डकोे तस्बिर प्रयोगले कुनै पनि कम्पनीको स्टकमा हलचल मच्चिएको छ ।

एलन मस्क

क्रिप्टोकरन्सी बजारमा मूल्य उतार चढावहरू सामान्य हुन्छन् । तर पछिल्लो १ वा २ बर्षमा यस्तो बजारमा अनौंठो प्रवृत्ति रहेको छ । जब स्पेस एक्स सीईओ एलन मस्कले क्रिप्टोकरन्सीको बारेमा ट्वीट गरेका छन् । क्रिप्टोको मूल्य या त सीधा आकाश छुन्छ वा भारी ढुंगा झैं डूब्छ । एलोन मस्क, आफ्नै ब्रान्ड भ्यालु र र ५७.२ मिलियन फलोअर्सको साथ ठूला सेलिबे्रटी हुन् ।

मस्क टिवटरमा पहिलो पटक मार्च २०२० मा डगक्वोइनको प्रशंसकको रूपमा देखा परे । उननले फेब्रुअरी २०२१ मा ‘शेरन किंग’ बाट प्रेरित डगक्वोइनको मेमे सेयर गरेसँगै डगक्वोइनका शेयर मूल्यमा ५० प्रतिशतभन्दा बढीको वृद्धि देखियो । जनवरी २०२१ मा एलन मस्कले आफ्नो ट्विटर प्रोफाइलमा ‘ह्यासट्याग बिटक्वोइन’ लेखेका थिए । ब्लकचेन रिसर्च ल्याबका अनुसार, सातघण्टा भित्र, बिटक्वोइनको मूल्यमा १९ प्रतिशत वृद्धि देखियो । जब एलन मस्कले आफ्नै कम्पनी टेस्लाको स्टकलाई ‘ज्यादै महँगो’ भएको बताए तब कम्पनीले १४ अर्ब डलरको घाटा बेहोरेको थियो ।

काइली जेनर

फेब्रुअरी २२, २०१८ मा रातको साढे तीन बजेतिर, काइली जेनरले ट्वीट गरिन, “के अरु कसैले स्नैपच्याट खोल्दैन? वा म मात्र यो काम गरिरहेको छु । यो साह्रै दुखको कुरा हो ।’ अर्को दिन, स्न्यापच्याटको सेयर मूल्यमा ७ प्रतिशतको गिरावट आयो । रोयटर्सका अनुसार तत्कालीन बजारको मार्केट भ्यालुमा स्न्यापच्याटले १.५ अर्ब अमेरिकी डलरको क्षति बेहोर्नुपर्यो । यद्यपि त्यस ट्वीटको १ मिनेट पछि काइली जेनरले ‘अझै पनि तपाईंलाई माया गर्छु स्नेप… मेरो पहिलो प्रेम’ भन्दै ट्वीट गरेकि थिइन । तर, स्टकका ‘खेलाडीहरू’ले उनको पहिलो ट्वीटबाट उनको ‘भावना’ पढिसकेका थिए ।

हिलारी क्लिंटन

सेप्टेम्बर २१, २०१५मा, अमेरिकी राष्ट्रपति पदकी उम्मेद्वार हिलारी क्लिन्टनले एउटा ट्वीट गरिन । त्यतिबेला जीवन नै जोखिममा पार्ने ‘परजीवी संक्रमणहरू’ रोक्न प्रयोग गरिने ड्रप्रिम नामक औषधिको मूल्य रातारात १४.१. डलरबाट बढाएर ७५० डलर पुर्याइएको थियो । यसबारे आफ्नो ट्वीटरमा न्यु्योर्क टाइम्सको लेख सेयर गर्दै उनले ‘विशेष औषधिको रुपमा रहेको यो औषधिको बजारमा यस तरीकाले मूल्य बढाउनु क्रुर छ । भोलि म यस कार्यको विरुद्ध योजना लिएर बाहिर आउने छु’ भनेर ट्वीट गरिन । अर्को दिन यो औष्धिको उत्पादक नास्दाक बायोटेक इटीएफको सेयर मूल्यमा ५ प्रतिशतको गिरावट आयो । यो कम्पनीका लागि निकै ठूलो क्षति थियो ।

जेरेमी जोर्डन

‘सुपरगर्ल’ र म्यूजिक ड्रामा ‘स्मैश’ का स्टार जेरेमी जोर्डनले एकपटक एउटा ट्वीट गरे । उनले ‘चिपटोल’ खाँदा उनलाई फुड प्वाइजन भएको र आफु लगभग ‘मरे’ भन्ने अवस्थामा पुगेको भन्दै ट्वीट गरे । जसका कारण कम्पनीको सेयर ५.९ प्रतिशतले घट्यो । त्यातिबेला कम्पनीको मार्केट भ्यालु इतिहासमा ५ वर्षकै सबैभन्दा कम स्तरमा पुगेको थियो ।

मिशेल ओबामा

पूर्व प्रथम अमेरिकी महिला मिशेल ओबामाले फेसन ट्रेंड मात्र नभएर सम्पूर्ण फेसन व्यवसायमै प्रभाव पारिन । इकोनोमिक टाइम्सका अनुसार उनले बराक ओबामाको पहिलो वर्षको कार्यालयमा लगाएका युरोपियन लेबलका लुगा लगाइन । जब उनी सार्वजनिक रूपमा डिजाइनरको कपडामा देखिइन तब ती कपडाको बजार सामूहिक रुपले १६ प्रतिशत वृद्धि भयो ।
नोभेम्बर २००८ देखि र डिसेम्बर २००९ बीचमा मिशेल ओबामाले पहिरेका २९ अमेरिकी फेसज कम्पनीहरूले २.४ अर्ब अमेरिकी डलर आम्दानी गरेका थिए । अर्कोतर्फ, यस बीचमा मिशेल ओबामाले नलगाएका २७ ब्रान्डको मार्केट भ्यालु ०.२ प्रतिशतले गिरावट आएको थियो ।

किन हुन्छ यस्तो ?

शेयर बजार अपेक्षा, भावना र रणनीतिको स्तम्भमा खडा हुन्छ । यसको सही मूल्यांकन स्टक बजार विज्ञहरूका लागि पनि असम्भव छ । प्रख्यात अमेरिकी एयरोस्पेस व्यवसायी नर्मन रोल्फ अगस्टिन भन्छन कि ‘यदि शेयर बजारका विशेषज्ञहरु विज्ञ नै थिए भने उनीहरु स्टक किन्थे, सल्लाह बेच्दनथेन ।’ त्यसैले सेलिबे्रटीको हरकत र शेयर बजारको ‘मुड स्विङ’ बीच स्पष्ट सम्बन्ध बताउन गाह्रो छ ।

सेलिब्रेटीले सोसल मिडियामार्फत ठूलो संख्याका फलोअरहरुका आधारमा सीधा पहुँचले लगानीकर्ताको भावनालाई प्रभावित पार्दछ । रोनाल्डोको इन्स्टाग्राममा रहेका ३०० मिलियन फलोअरहरू सोच्दछन् कि कोका–कोला नपिउनु रोनाल्डोको फिटनेसको रहस्य हो ? मिशेल ओबामाले युरोपियन लेबल लगाएको देखेर अरुले उनलाई पछ्याउँछन् ?

अरकान्सास युनिभर्सिटी र म्यानचेस्टर बिजनेस स्कूल, लन्डनले १८ देखि २४ वर्षका उपभोक्ताहरूबारे गरेको अध्ययनमा उनीहरूले आफ्नो पहिचान र उपस्थिति बिभिन्न सेब्रिेटीहरुंबाट प्रभावित भएर विकास गरेको पाइएको छ ।

त्यसभन्दा पनि महत्वपूर्ण कुरा यो हो कि सेलिब्रेटीहरुले फलोअरहरुको भावनालाई प्रभावित पार्न सक्छन् । यी सबै विज्ञापनभन्दा पनि सेलिब्रेटीको अनुभवसँग सम्बन्धित छ । मानिसहरूलाई थाहा छ कि रोनाल्डोले विगतमा पनि कोकाकोलाको विज्ञापन गरे । तर, यहाँ उनका फ्लोअरहरुले यो विश्वास गर्छन् कि रोनाल्डो वास्तविक जीवनमा कोकजस्तो कुनैे पेयपदार्थ पिउँदैनन् । सेलिब्रेटीको वास्तविक जीवन अनुभवले विज्ञापनको भन्दा धेरै हदसम्म मानिसहरुको भावनालाई असर गर्छ । जसको असर सेयर बजारमा पनि देखिन्छ । –‘दि क्विन्ट’बाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL