Logo

बसपार्कमा छैन लकडाउन : अलपत्र परेका यात्रुसँग तीन गुणासम्म बढी भाडा असुल्दै चल्छन बस, बाध्यतामा पिल्सिदै यात्रा गर्छन सर्वसाधारण

बसपार्कमा छैन लकडाउन : अलपत्र परेका यात्रुसँग तीन गुणासम्म बढी भाडा असुल्दै चल्छन बस, बाध्यतामा पिल्सिदै यात्रा गर्छन सर्वसाधारण



काठमाडौं । गत बैशाख १६ यता जारी निषेधाज्ञामा अत्यावश्यकबाहेक सवै सेवाहरु बन्द गरिएका छन् । हवाई उडानदेखि सार्वजनिक यातायातसमेत ठप्प छ । तर, काठमाडौंको नयाँ बसपार्कबाट हुने लामो यात्राका सार्वजनिक सवारीसाधनहरु भने अहिले पनि चलिरहेका छन् । निषेधाज्ञामा अलपत्रहरुलाई घर पुर्याउन भन्दै चलेका सवारीका कारण बसपार्कमा देशमा निषेधाज्ञा नभएको महसुस हुन्छ । अलपत्रलाई घर पुर्याउने उद्देश्य सकारात्मक भएपनि तिनै अलपत्र र बाध्यतामा परेकासँग भने भाडाका नाममा मनोमानी र ज्यादती गरिएको छ ।

नेपालगंजका मनोज पौडेल निषेधाज्ञाका कारण आफ्नो घर फर्किन नपाएर काठमाडौंमा अडकिरहेका थिए । तर, शुक्रबार घर जान पाईहालिन्छ कि भन्ने आशाले बसपार्क पुगेका पौडेल त्यहाँ पुग्दा उनले सरकारले घोषणा गरेबमोजिमको लकडाउन अर्थात निषेधाज्ञाको अनुभव गरेनन् ।

लामो दूरीका यात्रुबाहक बसका एजेन्टहरु विभिन्न गन्तब्यमा जानका लागि यात्रु तानातान गर्दे थिए भने बसहरु आवतजावत गरिरहेका थिए । उनले पनि नेपालगञ्ज जाने बस पाए । टिकट काउन्टर बन्द रहेको तथा बसपार्कमै गाडीका स्टाफहरुले नेपालगंजसम्मको भाडा १ हजार ६ सय रुपैयाँ लिने भनेर उनलाई विश्वस्त तुल्याएपछि उनी नेपाल गञ्ज जान तयार भए । तर, बाटोमा राति काठमाडौंबाट दाङ नपुग्दै उनीसँग भाडा भन्दै ४ हजार रुपैयाँ मागियो । उनले आफुसँग १६ सयमा डिल भएको र पैसा नभएको बताएपछि उनीसँग अन्त्यमा २ हजार ५ सय रुपैयाँ असुलियो । उनलाई २ हजार ५ सय नदिए गाडीबाटै ओराल्ने धम्कीसमेत दिईयो ।

यसरी अहिले बसपार्कमा एउटा मूल्य तोकेर बाध्यतामा परेका यात्रु चढाउने र बीचबाटोमा पुर्याएर वास्तविक भाडाभन्दा १० औं गुणा रकम माग्ने प्रवृत्ति मौलाएको छ । बस चढाएर मागेजति भाडा नदिए रातिको समयमा जंगलमा, वा दिउँसोको समय भए सुनसान बीच बाटेमा झार्ने धम्की दिएपछि यात्रुहरु जसरी पनि भाडा तिर्न बाध्य हुन्छन् ।

सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञाको घोषणा गरेपछि काठमाडौं बाहिर जानुपर्ने कतिपय यात्रुहरु आत्तिएका थिए । सोही समस्यालाई मध्येनजर गर्दै सरकारले निश्चित मात्रामा यात्रुलाई आफ्नो गन्तव्यसम्म पुर्याउनका लागि यातायात कम्पनीहरुलाई आदेश दिएको थियो । सोहीअनुसार सार्वजनिक यातायात व्यवसायीहरुले एक समितिबाट एक बसमात्रै चलाउन मिल्नेगरी काठमाडौंबाट यात्रु ओसारीरहेका छन् । कोरोना महामारीको बेलामा काठमाडौं उपत्यकालगायत अन्य स्थानमा पनि लामो दुरीका यात्रुबाहक सवारीसाधन चल्न नदिँदा नयाँ बसपार्कबाट भने यात्रु ओसार्नमात्रै दैनिक २० बढि बसहरु छुट्ने गरेका छन् । विभिन्न बाध्यतामा पिल्सिएका र अलपत्र परेर निराश बनेका यात्रुहरु यस्तो विषयमा डर वा अन्य कारणले उजुरी पनि गर्न नसक्ने स्थितिमा रहेका हुन्छन् ।

गत बर्षको लकडाउनमा लामो दूरीका सार्वजनिक यातायात ठप्पै थिए । तर, लकडाउन खुकुलो भएसँगै लामो र छोटो दुरीका सार्वजनिक सवारीलाई जोरबिजोरमा चलाउने तर भाडा डेढी लिन पाउनेगरी निर्णय भएको थियो । तर, अहिले निषेधाज्ञा खुकुलो नभएपनि सार्वजनिक सवारीसाधनले बसभरी यात्रु राखेर भाडा भने डेढीभन्दा पनि बढी लिइरहेको पाईएको छ । अहिले बसपार्कबाट दिनहुँ दर्जनौ बस यात्रु लिएर बाहिरिएको भएपनि बसपार्कमा टिकट काट्ने सिष्टम भने अझै पनि लागु गरिएको छैन ।

यता यातायात व्यवसायी भने आफ्ना गाडीहरु पानी र घामका कारण खिया लागेर काम नलाग्ने भएको बताउँछन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला अब निषेधाज्ञा खुलेपनि बसहरु यत्तिकै बाहिर निकाल्न सकिने अवस्था नरहेको बताउँछन् । तर, यस्तो बेलामा बजेटमार्फत र विभिन्न सहुलियतमार्फत यातायात क्षेत्रलाई अग्ररुपमा राख्नुपर्नै भएपनि सरकारले बेवास्ता गरेको उनले जानकारी दिए । तर फाट्टफुट्ट बस चलेर व्यवसायीको दैनिकी चलाउन पनि नपुग्ने उनी बताउँछन् ।

तर, बसपार्कबाट छुट्ने गाडीहरु के कसरी गईरहेका छन् आफुलाई थाहा नभएको उनी बताउँछन् । उनका अनुसार महासंघलाई कुन गाडीहरु कुन समयमा र कहाँ गईरहेका छन् भन्ने जानकारी छैन । तर, यस्तो निषेधाज्ञाको समयमा कुनैपनि सवारीसाधनलाई चल्न नदिने निर्णय भएपनि गाडीहरु गईराखेको सुन्दा आफुलाई अच्चम्म लागेको उनको भनाई छ ।

यता काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भने विदेशबाट आएका यात्रुहरु अलपत्र नपरुन भनेर केही बसहरुलाई छुट्न दिएको बताउँछन् । तर, कुन गाडी र कहिले कति गाडी चल्ने भन्ने विषयको जिम्मा भने ट्राफिक प्रहरी र यातायात व्यवसायी राष्ट्रिय महासंघको जिम्मामा दिईएको उनी बताउँछन् । यस्तै बसको भाडा भने यातायात व्यवस्था विभागले तोकेकै आधारमा हुने भएपनि बढी भाडा लिने केही बसधनीलाई कारबाहीसमेत गरिएको उनले बिजखबरलाई बताए । पछिल्लो समय विदेशबाट नेपाल आएका नेपाली नागरिकहरुलाई उनीहरुको आफ्नो गन्तब्यसम्म पुर्याउनका लागि यस्तो व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL