Logo

लिवर्टी इनर्जीको आइपीओ आजदेखि खुला, ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

लिवर्टी इनर्जीको आइपीओ आजदेखि खुला, ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौं । आजदेखि लिवर्टी इनर्जी कम्पनीको आइपीओ खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । प्रतिसेयर १ सय अंकित मूल्यमा सर्वसाधारणले सेयर पाउनेछन् ।

स्थानीय बासिन्दाहरुका लागि यसअघि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।

आइपीओमा लगानीकर्ताले छिटोमा भदौ ७ गते सम्म आवेदन दिन पाउनेछन् । उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ १७ गतेसम्म भर्न समय पाइनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस साधारण शेयरको धितोपत्र निस्काशन तथा बिक्री प्रवन्धक एनआइबीएलएस क्यापिटल रहेको छ । यस कम्पनीको हाल अधिकृत पुँजी एक अर्व ५० करोड र चुक्ता पुँजी एक अर्व १२ करोड ५० लाख रहेकोमा अधिकृत पुँजीको २५% का दरले हुन आउने ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्तापुँजी एक अर्व ५० करोड हुनेछ ।

यस कम्पनीले हाल निर्माण गरिरहेको २५मेवा क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाइप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८५ सम्पन्न भई आगामी कार्तिक मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

विश्वव्यापी रुपमा कोरोनाभाइरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केहि उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने गत चैत मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी कार्तिक मसान्तसम्म थप गरिने कम्पनीले जनाएको छ ।

यस आयोजनाको पानीको श्रोत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ । साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावरहाउससँगै रहेको सव–स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ ।

यस कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मेवा क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मेवा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमति पत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL