Logo

बन्दीपुर केवलकारको पहिलो चरणको आईपीओ आजदेखि खुला, कस-कसले भर्न मिल्छ ?

बन्दीपुर केवलकारको पहिलो चरणको आईपीओ आजदेखि खुला, कस-कसले भर्न मिल्छ ?



काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले आज साउन ६ गते मंगलबारदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। यसअनुसार कम्पनीले पहिलो चरणको आईपीओ बिक्री खुला गरेको हो जसमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीले मात्रै आवेदन दिन सक्नेछन्।

कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता निष्कासन गरेको छ

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा तनहुँको बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

प्रतिकित्ता १०० रुपैयाँ हुने यस आईपीओमा आवेदन दिँदा कम्तीमा १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने अन्तिम मिति साउन ९ गतेसम्म मात्रै रहेको छ तर त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ २० गतेसम्म लम्बिनेछ। यस्तै आयोजना प्रभावितले साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् भने त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ४ गतेसम्म लम्बिनेछ।

आयोजना प्रभावितले बिक्री प्रबन्धकका साथै कम्पनीको वेबसाइट, बन्दीपुरमा रहेको कम्पनीको कार्यालयको तल्लो स्टेशन, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नम्बर १ र पालुङटार नगरपालिकाको वडा नम्बर ७ को कार्यालयमा आईपीओ फाराम प्राप्त गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेकाले नेपाल धितोपत्र बोर्डको सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर अनलाईन एपबाट पनि आवेदन दिन सक्नेछन्।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ।

यस कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्