Logo

मार्जिन लेण्डिङ बढ्ने हल्लाले उचालियो नेप्से, के भन्छ राष्ट्र बैंक ?

मार्जिन लेण्डिङ बढ्ने हल्लाले उचालियो नेप्से, के भन्छ राष्ट्र बैंक ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमार्फत मार्जिन लेण्डिङ बढाउने हल्ला आएसँगै सेयर बजार उचालिएको छ । राष्ट्र बैंकले हाल मार्जिन लेण्डिङको ५० प्रतिशतको सिमालाई बढाएर ६५ प्रतिशतसम्म पुर्याउने हल्ला आएसँगै बजार बढ्न पुगेको छ ।

साताको अन्तिम दिन बजार खुलेसँगै उकालो लागेको सेयर बजार अन्तमा ३६ अंकले बढ्न पुगेको छ । माजिन लेण्डिङको सामान्य हल्लाकै भरमा सेयर बजार ३६ अंकले बढ्नु अस्वभाविक र कृतिम भएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘दैनिक रुपमा ओरालो लागेको बजारमा १०÷१५ अंकको बृद्धि स्वभाविक हो,’ ती लगानीकर्ताले भने, ‘तर, जुन रुपमा बिहीबार बजार बढ्यो त्यो टिकाउ हुँदैन ।’

तर, मौद्रिक नीति ल्याउने निकाय नेपाल राष्ट्र बैंकले भने मार्जिन लेण्डिङको सीमा बढाउने विषयमा कुनै छलफल समेत नभएको जानकारी दिएको छ । ‘अहिलेसम्म के के विषयमा परिवर्तन वा थप गर्ने भन्ने विषयमा बैठकमा छलफल भएको छैन,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘अहिलेसम्म मौद्रिक नीतिका लागि एउटा बोर्ड बैंठक बसेर छलफल समेत भएको छैन अहिले नै के कति बढ्छ वा बढ्दैन केही भन्न सकिँदैन ।’

तर बिहीबार बजारमा मार्जिन लेण्डिङको सीमा बढ्ने हल्लासँगै परिसुचक र कारोबार रकम दुबै बढेका छन् । अघिल्ला दिनमा दैनिक २० करोड रुपैयाँको हाराहारीमा खुम्चिएको बजारमा बिहीबार कारोबार रकम बढेर ४६ करोड रुपैयाँभन्दा माथी पुगेको छ ।

बजारमा उत्पादनमुलक समुह बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ३ सय २२ अंकले बढ्न पुगेको छ । यसैगरी बजारमा सबैभन्दा बढि हिस्सा ओगटेको बैंकिङ समुहको परिसुचक पनि करिब २७ अंकले उचालिएको छ ।

यसैगरी लघुवित्त समुहको पसिुचक ८५ अंकले बढ्दा विकास बैंक समुह ३७, जलविद्युत ५२ अंक र फाइनान्स समुहको परिसुचक ९ अंकले उकालो लागेको छ ।

बिहीबार सबैभन्दा बढि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । नेशनले ३ करोड ७५ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा छिमेकी लघुवित्तको २ करोड २४ लाख रुपैयाँको किनवेच भएको छ ।

दिनभर कुल १ सय ६८ कम्पनीको १२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL