काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्न पुगेको छ । अघिल्ला हप्ता लगातार उकालो लाग्दै ३ हजार विन्दु पार गरेको नेप्से परिसुचक यो हप्ताको पहिलो दिन नै उच्च अंकले घट्न पुगेको हो । आज सेयर बजार परिसुचकमा उल्लेख्य गिरावट आउँदा नेप्से विन्दु २८ सय ५० को आसपासमा झरेको छ ।
खासगरी चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै उकालो लाग्न सुरु गरेको सेयर बजारले पुनः ओरालो यात्रा तय गरेको हो । मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाईएपछि उत्सुक भएका लगानीकर्ता हाल भने अन्यौलमा परेका छन् ।
मौद्रिक नीति सार्वजनिक भएपछिका केहि हप्ता सेयर बजार उच्च अंकले लगातार उकालो लाग्दा कारोबार रकम पनिु उल्लेख्य पुग्ने गरेको थियो । तर, अब भने सेयर बजार बढ्नुको सट्टा घट्दै गएपछि लगानीकर्ताहरु पनि अन्यौलतामा फसेको एक लगानीकर्ताले बताए । ‘नेप्से परिसुचक लगातार बढिरहँदा लगानीकर्ता उत्साहित थिए,’ उनले भने, ‘तर अब सेयर बजार बढिरहनुको सट्टा उच्च अंकले घट्दा लगानीकर्ता नै अन्यौलमा फसेका छन् ।’
आज कुल ३ सय १९ कम्पनीका ३ करोड २२ लाख ६० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब ७ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचकहरु राताम्य भएका छन् । नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये २ सय ३३ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा जम्मा १६ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज सेयरबजारमा उल्लेख्य गिरावट आउँदा पनि दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।