Logo

सेयरबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, २९ अंकले बढेको बजारमा ११ अर्ब ४१ करोडको कारोबार

सेयरबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, २९ अंकले बढेको बजारमा ११ अर्ब ४१ करोडको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मौद्रिक नीतिको प्रभावले उत्साह देखिएको छ ।

कारोबार समयको सुरुवातमा उच्च अंकले उकालो लागेको नेप्से पछि सम्हालिएर अन्तिम समयमा २९ अंकले बढ्दै २७ सय ६० को विन्दुमा पुगेर रोकिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार आगामी आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको थियो । जसमा सेयर कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोडसम्म पुर्याइएको थियो । यसैको प्रभाव आज सेयर बजारमा देखिँदा उत्साह छाएको सेयर लगानीकर्ताहरु बताउँछन् ।

आज कुल ३ सय ११ कम्पनीका ३ करोड २५ लाख ९२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ५८ कम्पनीका सेयरमुल्यमा वृद्धि देखिँदा ९० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरमूल्य बढेकामध्ये एनआइसी एशिया बैंक र खानीखोला जलविद्युतको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज ६ समुहको परिसुचकमा गिरावट आउँदा बाँकी ७ समुहको परिसुचकमा वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्