Logo

अमेरिकी ट्यारिफले टोयोटालाई दुई महिनामै १.३ अर्ब डलर घाटा, गाडीको मूल्य १२ हजार डलरसम्म बढ्नसक्ने

अमेरिकी ट्यारिफले टोयोटालाई दुई महिनामै १.३ अर्ब डलर घाटा, गाडीको मूल्य १२ हजार डलरसम्म बढ्नसक्ने



काठमाडौं । जापानी अटो निर्माता कम्पनी टोयोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ (आयात कर) नीतिले कम्पनीलाई केवल दुई महिनामै १.३ अर्ब अमेरिकी डलर बराबरको घाटा बेहोर्नुपर्ने जनाएको छ।

टोयोटाले आफ्नो २०२५ को आर्थिक वर्षको समापनबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो। कम्पनीले उक्त ब्रिफिङमा गएको अप्रिल र मे महिनामा मात्र ट्यारिफका कारण यति ठूलो आर्थिक असर परेको उल्लेख गर्‍यो।

ट्रम्प प्रशासनले गत मार्चमा वार्षिकरूपमा अमेरिका भित्रिने करिब ८० लाख विदेशमा उत्पादन भएका सवारी साधनहरूमा २५ प्रतिशत ट्यारिफ लगाएको थियो।

यद्यपि भविष्यमा ट्यारिफको असर कति पर्छ भन्ने विषयमा कम्पनीले अनुमान गर्न नसक्ने बताएको छ। टोयोटाका सीईओ कोजी सातोले,‘यस्ता प्रभावहरूको पूर्वानुमान गर्नु निकै गाह्रो छ,’ उनले भने।

अन्य अटो कम्पनीहरूले पनि ट्यारिफको असरबारे सार्वजनिक गरेका छन्। जेनरल मोटर्सले गत साता आफ्नो २०२५ को नाफा अनुमान घटाएको छ। कम्पनीले ट्यारिफका कारण मात्रै २०२५ मा कम्तीमा ४ अर्ब डलर घाटा हुने बताएको छ।

फोर्डले पनि मेक्सिकोमा निर्माण गरिने तीन मोडलका सवारीहरूमा मूल्य २ हजार डलरसम्म बढाउने बताएको छ।

टोयोटाले भने तत्कालै सवारीको मूल्य वृद्धि गर्ने निर्णय नगरेको जनाउँदै ‘उपयुक्त समयमा, उपयुक्त कदम चालिनेछ’ भनेको छ।

टोयोटा प्रमुख सातोले भने, ‘ट्यारिफ बढ्यो भन्दैमा हतारमा मूल्य बढाउने सोच टोयोटाको होइन।’

अमेरिकाले विदेशी सवारीमा लगाएको आयात कर र चीनलगायत साझेदार मुलुकको बदलाको रूपमा लाग्ने करले गर्दा उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था आउने विश्लेषकहरूको भनाइ छ।

एण्डरसन इकोनोमिक ग्रुप का अनुसार, ट्यारिफका कारण सवारीको मूल्य २ हजारदेखि १२ हजार डलरसम्म बढ्न सक्छ।

प्रतिक्रिया दिनुहोस्