Logo

जीएमले क्रूज सेल्फ ड्राइभिङ्ग ट्याक्सी अब नबनाउने, व्यक्तिगत सवारीसाधनमै केन्द्रित हुने घोषणा

जीएमले क्रूज सेल्फ ड्राइभिङ्ग ट्याक्सी अब नबनाउने, व्यक्तिगत सवारीसाधनमै केन्द्रित हुने घोषणा



काठमाडौं । जनरल मोटर्स (जीएम) ले आफ्नो क्रूज सेल्फ–ड्राइभिङ्ग ट्याक्सी विकास कार्यक्रमलाई अब बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले अब स्वचालित ड्राइभिङ्ग प्रविधिको विकासलाई व्यक्तिगत सवारीसाधनमा केन्द्रित गर्ने बताएको छ।
जीएमले प्रतिस्पर्धात्मक रोबोट्याक्सी बजारलाई पनि यो निर्णयको प्रमुख कारण बताएको छ।

गत अक्टोबरमा, टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले ‘साइबरक्याब’ नामक बहुप्रतिक्षित रोबोट्याक्सीलाई क्यालिफोर्नियाको बर्बैंकस्थित वार्नर ब्रदर्स स्टुडियोमा सार्वजनिक गरेका थिए।

जीएमका अनुसार, रोबोट्याक्सी व्यवसायलाई ठूलो परिमाणमा सञ्चालन गर्न धेरै समय र स्रोत आवश्यक पर्ने भएकाले यो रणनीति परिवर्तन गरिएको हो।

कम्पनीले क्रूजका कति कर्मचारीहरूलाई जीएममा स्थानान्तरण गरिने भन्नेबारे केही जानकारी दिएको छैन।

जीएमले क्रूजको करिब ९० प्रतिशत स्वामित्व राखेको छ र अन्य शेयरधनीहरूसँगको सम्झौताले यो स्वामित्व ९७ प्रतिशतभन्दा माथि पु¥याउनेछ।

सन् २०२३ को डिसेम्बरमा क्रूजले आफ्नो कुल कर्मचारीमध्ये करिब २५ प्रतिशत अर्थात् ९०० जनालाई कटौती गर्ने घोषणा गरेको थियो।

यसअघि, क्यालिफोर्नियाले ड्राइभरलेस परीक्षण अनुमति निलम्बन गरेपछि क्रूजले आफ्नो सबै सवारी साधनहरू परीक्षणबाट फिर्ता लिएको थियो।

सन् २०२३ को अक्टोबरमा, क्रूजको एक सवारी साधनले पैदलयात्रीलाई ठक्कर दिई २० फिट (६ मिटर) भन्दा बढी तानेको थियो, जसले ती पैदलयात्रीलाई गम्भीर घाइते बनाएको थियो।

घटनापछि, क्रूजले राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनलाई गलत विवरण बुझाएको स्वीकारेको छ। यो घटनाको केही समयपछि क्रूजका सह(संस्थापक काइल भोक्त कम्पनीबाट बाहिरिएका थिए।

जीएमको घोषणापछि, भोक्तले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका छन्, ‘पहिले स्पष्ट नभएको भए पनि, अब स्पष्ट छ जीएम मूर्खहरूको समूह हो।’

जीएमकी प्रमुख कार्यकारी मेरी बाराले यसअघि क्रूज व्यवसायले सन् २०३० सम्ममा वार्षिक ५० अर्ब डलर (३९ अर्ब पाउण्ड) राजस्व कमाउने भविष्यवाणी गरेकी थिइन्।

आफ्नो स्वचालित सवारी साधन परियोजनामा अन्य प्रतिस्पर्धी मोटर निर्माता कम्पनीहरू पनि संघर्षरत छन्।

सन् २०२२ मा, फोर्ड र भोक्सवागनले आफ्नो स्वचालित कार संयुक्त परियोजना आर्गो एआई बन्द गर्ने घोषणा गरेका थिए।

यसैबीच, रोबोट्याक्सी उद्योगले लामो समयदेखि ठूला खेलाडीहरूलाई आकर्षित गर्दै आएको छ।

टेस्लाका साथै, स्वचालित ट्याक्सी निर्माणको दौडमा गुगलको अभिभावक कम्पनी अल्फाबेटको सहायक कम्पनी वेमो र प्रविधि दिग्गज अमेजन पनि छन्।

प्रतिक्रिया दिनुहोस्