Logo

स्मार्टकार्डको अभावमा १२ लाख सवारीचालक लाईसेन्स बिहिन, कार्ड आउन अझै महिनौं लाग्ने

स्मार्टकार्डको अभावमा १२ लाख सवारीचालक लाईसेन्स बिहिन, कार्ड आउन अझै महिनौं लाग्ने



काठमाडौं । यातायात व्यवस्था विभागले छापिरहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई बन्द भएपछि हाल १२ लाख सवारीचालकले लाईसेन्स पाएका छैनन् । माग अनुसार वा छाप्न मिल्नेजति अनुमतिपत्रका लागि आवश्यक स्मार्ट कार्ड विभागसँग नभएपछि यसको छपाई नै हाल बन्द गरिएको छ । जसका कारण लाईसेन्सका लागि आवश्यक सबै प्रक्रिया पुरा गरिसकेका करिव १२ लाख सवारीचालकले लाईसेन्स पाउन बाँकी रहेको विभागले जानकारी दिएको छ ।

laxmi

करिव २ महिना अघिनै विभागले अत्यावश्यक बाहेकका लाईसेन्स छाप्न बन्द गरेको थियो । छपाई ढिला हुँदा यसै पनि धेरैजसो सेवाग्राहीले समयमै आफ्नो लाईसेन्स पाउन सकेका थिएनन् । त्यसमाथि स्मार्ट कार्ड नै सकिँदा यस्तो लाईसेन्स नपाउनेको संख्या १२ लाख पुगेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए । ‘लाईसेन्स अभावका कारण हामीले अत्यावश्यक बाहेकका लागि लाईसेन्स छापेका छैनौं,’ उनले भने, ‘यसैका कारण हाल लाईसेन्सको सबै परिक्षाहरु पास गरेर पनि नपाउनेको संख्या १२ लाख पुगेको छ ।’

हाल विभागमा दैनिक ६ देखि ७ हजार नयाँ लाइसेन्सको माग हुने गरेको छ । तर, विभागसँग अब ५० देखि ६० हजार थान मात्रै स्मार्ट लाईसेन्स भएकाले अत्यावश्यकबाहेक यसको छपाई बन्द गरिएका छ ।

खासगरी विभागले गत बर्षको असोजमै १२ लाख स्मार्टकार्डका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । त्यसको टेण्डर जर्मनीको मुलबहुर आइडी सर्भिसले गत माघमा हात पारेको पनि थियो ।

टेण्डर हात पारेकै करिव ९ महिना वितिसक्दा पनि कम्पनीले विभागलाई १२ लाख स्मार्टकार्ड उपलब्ध गराउन सकेको छैन । जसका कारण पनि विभागले आवश्यकजति लाईसेन्स छाप्नमै महाभारत भईरहेको देखिन्छ ।

१४ लाख ९८ हजार डलरमा टेण्डर हात पारेको कम्पनीले असोजमा विभागलाई कार्डको केहि स्याम्पल पठाएर जाँज गर्न लगाएको थियो । करिव डेढ सय काडको स्याम्पल ल्याएर विभागले जाँच पनि गरिसकेको छ । यो जाँच गरेर स्वीकृत गरेको ८५ दिनभित्र उक्त कम्पनीले विभागलाई १२ लाख कार्ड उपलब्ध गराउनुपर्छ ।

विभागले उक्त स्याम्पल कार्ड स्वीकृत गरेको ४५ दिनमात्रै वितेकाले अझै उसले कार्ड उपलब्ध गराउने समय बाँकी रहेको जानकारी दिँदै आएको छ । ‘हामीले उसले पठाएको कार्ड स्याम्पल जाँच गरेर स्वीकृत गरिसकेका छौं, यो गरेको ४५ देखि ५० दिन भयो,’ विभागका सूचना अधिकारी पनेरुले भने, ‘उसले कार्ड उपलब्ध गराउनुपर्ने समय अझै ३० दिन बाँकी छ उपलब्ध गराउला ।’

सबैजसो प्रक्रियाहरु पुरा भईसकेकाले कार्ड आएपछि भटाभट छापेर सेवाग्राहीलाई उपलब्ध गराउने विभागको तयारी रहेकोसमेत उनले बताएका छन् ।

भारतको मद्रास सेक्युरिटीले जर्मन कम्पनीले उपलब्ध गराउने स्मार्टकार्डको चीपमा नेपाली सवारीचालकको विवरण प्रविष्ट गर्ने काममै ढिलाई गरिदिँदा नै कार्ड आपुर्तिमा केहि ढिलाई भएको विभाका अधिकारीहरु बताउँछन् । खासगरी भारतीय कम्नपीले अनलाइन सिस्टममार्फत हुँदै आएको सवारीचालक अनुमति पत्र र सवारी दर्ता नवीकरणसम्बन्धी कामका लागि लागि चाहिने सफ्टवेयर तथा हार्डवेयर पूर्णरूपमा यातायात विभागलाई जिम्मा लगाएको छैन ।

यसमा सँधै समस्या आउने गरेको छ । तर, कम्पनीले भनेबमोजिम काम नगरिदिएकै कारण विभागले र नेपाली सवारीचालकहरुले पछिल्लो ४ बर्षदेखि दुःख भोग्दै आउनुपरेको विभागका भनाई छ ।

विभागले गत बर्षको असारमा थप एक मास प्रिन्टर आपुर्तिका लागि पनि ग्लोबल टेण्डर आह्वान गरेको थियो । तर, टेण्डरमा हालसम्म पनि कसैले आवेदन नदिएपछि विभागले यसको पुनः टेण्डर आह्वान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL