Logo

अर्थमन्त्रीले भने, धितोपत्र बोर्डको कमजोरीले सेयर बजारमा विकृति बढ्यो, बजार तलमाथि गरेर सीमितले मात्रै कमाउने काम भयो

अर्थमन्त्रीले भने, धितोपत्र बोर्डको कमजोरीले सेयर बजारमा विकृति बढ्यो, बजार तलमाथि गरेर सीमितले मात्रै कमाउने काम भयो



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले धितोपत्र बोर्डको कमजोरीको कारण सेयर बजारमा विकृति फैलिएको बताएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विश्व लगानीकर्ता सप्ताह–२०२३ को उद्घाटन कार्यक्रममा बोल्दै नियमकले नियमन गर्न नसक्दा अहिले बजारमा अनेकखालका घटनाहरु घट्ने गरेको बताए । ‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन् । जहाँ आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ । हाम्रो अहिले चिन्ताको विषय चाहिँ त्यही हो,’ उनले भने, ‘तर अहिले खुलेआम इनसाइडर ट्रेनिङ तथा नियामकबाटै सूचना लिक हुने प्रवृत्ति देखिएको छ यसले सर्वसाधारण लगानीकताई फसाउने काम भएको छ ।’ यस्ता विषयलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउन नसक्नु अहिलेको कमजोरी भएको उनको तर्क थियो ।

laxmi

अर्थमन्त्री डा. महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको भन्दै यसका लागि धितोपत्र बोर्डले ध्यानदिनुपर्ने बताए । ‘अहिले बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ, जसका कारण अहिले धेरै लगानीकर्ताहरु पेनिक भएका छन्,’ उनले भने, ‘यसलाई रोक्नका लागि लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी छ ।’
बजारमा स्वस्थ्य प्रतिस्पर्धाको वातावरण निर्माण गर्न जरुरी रहेको भन्दै नयाँ ब्रोकर आएसँगै यसले गति लिने बताए । ‘पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ,’ उनले भने, ‘यसको फाइदा आम लगानीकर्ताले लिन सक्नुपर्छ ।’

बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्म ‘च्याटबोर्डको शुभारम्भ गरेको छ । यसलाई सबै लगानीकर्ताले प्रयोग गरेर उपयोगमा ल्याउनुपर्ने मन्त्री डा. महतको भनाई थियो । अहिले धितोपत्र बोर्ड लगानी साक्षरता विषयमा कमजोर रहेको बताउँदै विश्वमा लगानीका नयाँ तौरतरिका विकसित भइरहेको र त्यसलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए । ‘सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति पनि ल्याउँछ । यसलाई रोक्न हामीले आफूलाई तयारी राख्नुपर्छ,’ उनले भने, ‘यसो भए मात्र लगानीकर्ता सुरक्षित हुन्छन् । यसैका लागि नियमनकारी निकाय धितोपत्र बोर्ड गठन भएको हो ।’

मन्त्री डा. महतले अहिले सेयर बजारमा जुन प्रवृत्ति हाबी भएको छ त्यसबाट सीमितले मात्र बुझने र त्यस्ता व्यक्तिले मात्रै कमाउने काम भैरहेको बताए । ‘अहिले बजारका सीमित खेलाडीहरु बजारमा खेल्न सिपालु छन् भने उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन्,’ उनले भने, ‘कुन बेला बजार तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र, आम लगानीकर्ता बिलखबन्दमा पर्ने भन्ने अवस्था नेपालमा विद्यमान छ ।’

यसैगरी उनले अहिले सेयर बजारमा देखिएको समस्या समाधानका लागि केही दिनभित्रै नयाँ निर्णय आउने समेत उनले लगानीकर्ताहरुलाई आश्वास्थ पारेका थिए । ‘सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘यसबाट बजार सुधार हुँदै जानेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL