Logo

डिजेलको मूल्य १० रुपैयाँले घट्दा पनि किन घटेन गाडीभाडा ?

डिजेलको मूल्य १० रुपैयाँले घट्दा पनि किन घटेन गाडीभाडा ?



काठमाडौं । नेपाल आयल निगमको बोर्ड बैठकले सोमबार साँझ एकाएक डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटायो । यसअघि कायम गरिएको मूल्यमा एकाएक १० रुपैयाँ घटाउँदा १ सय ७५ रुपैयाँ प्रतिलिटरमा विक्री भईरहेको डिजेल अब १ सय ६५ रुपैयाँमा पाईने भयो । यो मूल्य यसअघिको मूल्यभन्दा ५.७१ प्रतिशतले कम हो ।

laxmi

यसरी डिजेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घट्दा पनि यातायात व्यवस्था विभागले भने लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा भने घटाएन । गत बर्ष चैत महिनामा विभागले अब प्रत्येक पटक डिजेलको मूल्य ५ प्रतिशतले घटबढ भएमा सोही अनुसार गाडीभाडा पनि घटबढ हुनेगरी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तर, सोमबार ५.७१ प्रतिशतले घटेको डिजेलको मूल्य अनुसार गाडीभाडा भने घटाउन नसकिएको विभागका प्रवक्ता ईश्वरी दत्त पनेरु बताउँछन् ।

उनका अनुसार लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा पछिल्लो पटक गत असार २७ गते समायोजन गरिएको थियो । त्यसबेला डिजेलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ थियो । तर, त्यसयता डिजेलको मूल्य ५ पटकसम्म घटबढ भयो ।
यसबीचमा डिजेलको मूल्य ६ रुपैयाँसम्मले बढेर प्रतिलिटर १ सय ७८ रुपैयाँसम्म पुग्दा पनि यातायात व्यवसायीहरुले भाडा भने बढाएका थिएनन् ।

सोही अनुसार अन्तिमपटक भाडा समायोजन भएको मिति अर्थात, असार २७ को तुलनामा हाल डिजेलको मूल्य जम्मा ४ प्रतिशतले मात्रै घटेको छ । जसका कारण यसपल्ट गाडी भाडा घटाउन नसकिएको प्रवक्ता पनेरुले बताए ।

अन्तिम पल्ट सार्वजनिक यातायातको भाडा समायोजन गरिएको २७ असारमा डिजेलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ थियो । त्यसबेला अघिल्लो पटकको भन्दा विभागले लामो दूरीमा चल्ने सवारीसाधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL