Logo

नेपालकै ठुलो धनराशीको अन्तरराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुँदै, पुरस्कार १ करोड

नेपालकै ठुलो धनराशीको अन्तरराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुँदै, पुरस्कार १ करोड



काठमाडौं । नेपालमा हालसम्मकै ठुलो धनराशीको रियालिटी शो आयोजना हुने भएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तरराष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको हो । फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्ने जानकारी दिएको छ ।

१८ बर्ष माथिका व्यक्तिले यस प्रतियोगिताको लागि आवेदन दिन सक्छन् । यी शोहरुमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्छन् ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’

यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले अनलाइन आवेदन दिन सक्ने छन् । प्राथमिक छनौट प्रक्रिया पछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेेछ । यी दुबै शोहरुको आवेदन दिने मिति जनवरी को अन्तिम तारिख तोकिएको छ ।

कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् । साथै मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । उनले यस अघि पनि धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रियालिटी शोहरुको निर्देशन गरिसकेका छन् जस्तै नेपाल आइडल, बूगी—वूगी, नेपाल लोक स्टार, सारेगमपा लिल् च्याम्पस् ।

यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले १ करोड रुपैयाँ पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि १ करोड रुपैयाँ पुरस्कार पाउनेछन् । भने फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL