Logo

उत्पादक र उपभोक्ता दुबैलाई उपयोगी ‘चेम्बर एक्स्पो २०२२ सुरू, ५ देशका १५० बढी स्टल रहने

उत्पादक र उपभोक्ता दुबैलाई उपयोगी ‘चेम्बर एक्स्पो २०२२ सुरू, ५ देशका १५० बढी स्टल रहने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘चेम्बर एक्स्पो २०२२’ सुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगामी सोमबारसम्म चल्ने गरी उक्त एक्स्पो बिहीबारदेखि सुरु भएको हो । एक्स्पोको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन र अवलोकनसमेत गरेका छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आयोजना गरिएको उक्त एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, चीनलगायत ५ बढी देशका १ सय ५० बढी स्टल राखिएका छन् ।

एक्स्पोको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवाले यस्ता एक्स्पोहरु नेपालीपनसँगै नेपाली वस्तुको प्रवद्र्धन गर्नका लागि आवश्यक रहेको बताए । उनले यस्ता एक्स्पो आयोजना नजिकका पर्यटकिए स्थलमा पर्यटक आवागमन बढ्ने, वैदेशिक व्यापारमा सहयोग पुग्ने, नेपाली उत्पादनको प्रवद्र्धनलगायत फाईदा हुने उनले बताए ।

यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विगत २ बर्ष कोरोनाका कारण हुन नसकेको एक्स्पो यसपल्ट आयोजना गरेको भन्दै यसलाई निरन्तरता दिने बताए । उनले आयात निरुत्साहन र निर्यात प्रवद्र्धनका लागि यस्ता एक्स्पोको आयोजना आवश्यक रहेको र त्यसका लागि सरकार र निजी क्षेत्रको सहकार्यको समेत उच्च आवश्यकता रहेको औल्याए । कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपाली उत्पादन घट्ने र उपभोग बढ्ने प्रवृत्तिले आयातको व्यापार बढीरहेकाले अर्थतन्त्रलाई नकारात्मक असर परेको बताए । यस्तो प्रवृत्तिको निर्मुलताका लागि पनि चेम्बर एक्स्पोले ठुलो सहयोग गर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपालका लागि बंगलादेशी राजदूत सलहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशको व्यापार प्रवृत्ति सुधारका लागि चेम्बर एक्स्पोले सहयोग गर्ने बताए । कार्यक्रममा आफ्नो धारणा राख्दै उनले चेम्बर एक्स्पोमा बंगलादेशका ५० बढी व्यापारीहरुले सहभागिता जनाएको बताए ।

पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्शले मेलाको पाँचौ संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

एक्स्पोमा विद्युतीय सामग्री, फ्लोरिङ तथा फर्निसिङ, घरायशी सामग्री, लत्ताकपडा, मोबाईल तथा ग्याजेटलगायतका वस्तुहरुको प्रदर्शनीसमेत हुने छ । यस्तै डेरीसम्बन्धी उत्पादन, तयारी पोशाक, हस्तकलाका सामग्री, जुत्ताचप्पल, छालाका उत्पादन, जलविद्युत उपकरणलगायतका सामग्रीहरुसमेत प्रदर्शनीमा राखिएका छन् ।

एक्स्पोले गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ ।

यस बर्षको एक्स्पोमा बंगलादेशलाई कन्ट्री पार्टनरको रुपमा राखिएको छ जसमा बंगलादेशका निर्यात प्रवद्र्धन ब्युरो र वाणिज्य मन्त्रालयको सहकार्यमा उद्योगी व्यवसायीहरु सहभागि रहेको छ ।

मेलामा १५० वटा स्टलहरू छन् । जस्मा १०० वटा राष्ट्रिय एवं अन्तरराष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL