Logo

गभर्नर निलम्बन हुँदा पनि किन बढेन सेयर बजार !, झन किन बढी अंकले घट्दै छ नेप्से ?

गभर्नर निलम्बन हुँदा पनि किन बढेन सेयर बजार !, झन किन बढी अंकले घट्दै छ नेप्से ?



काठमाडौं । सामाजिक संजालमा धेरै लगानीकर्ताले लेखेका थिए नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनसँगै सेयर बजार उच्च अंकले बढ्ने छ । सरकारले गभर्नर अधिकारीलाई शुक्रबार निलम्बन गरेसँगै अबका दिनमा बजारले सकारात्मक गति लिने भन्दै धेरैले सेयर बजारसम्बन्धी फेसबुकमार्फत टिकाटिप्णी गरेका थिए ।

laxmi

तर दुर्भाग्य गभर्नर माथि सरकारले ‘कु’ गरेसँगै पुँजी बजारमा झन उच्च अंकले गिरावट आउन थालेको छ । गभर्नर अधिकारी निलम्बन पछिको पहिलो दिन सोमबार बजार खुल्दा सुरुमा ४० अंकभन्दा बढीले बजार उचालेका थिए । तर उक्त उचाई एकछिन पनि टिक्न सकेन । अन्ततः सोमबार बजारमा करिव ४५ अंकको गिरावट आएको थियो ।

यसैगरी मंगलबार पनि बजारमा उच्च अंकको गिरावट आएको छ । बजार खुलेदेखिनै ओरालो यात्रा तय गरेको नेप्से परिसुचक अन्तमा ३४ दशमलव ७८ अंकले घट्न पुग्यो । सेयर बजारको वृद्धिमा गभर्नरले अवरोध गरेको र उनको बर्हिगमनसँगै बजार बढ्ने हल्ला चलाईएपनि ठिक त्यसको विपरित बजारले उच्च अंकको ओरालो यात्रा तय गर्न थालेको छ ।

पछिल्लो समय बजारमा लगानीयोग्य पुँजीको अभाव तथा लगानीको वातावरणनै नभएका कारण सेयर बजारप्रति लगानीकर्ता आकर्षित नभएको एक ठूला लगानीकर्ताले जानकारी दिए । ‘सेयर बजार भनेको लगानीकर्ताको मनोविज्ञानमा चल्ने गर्दछ,’ ती लगानीकर्ताले भने, ‘तर अहिले सेयरबजारप्रति लगानीकर्ताको मनोविज्ञाननै नकारात्मक भैसकेको छ जसका कारण न सरकारले चुनावी मिति घोषणा गर्दा बजार बढ्यो न त नयाँ कुनै कार्यक्रमले ।’

पछिल्लो समय बजारमा देखिएको लगानीयोग्य पुँजीको अभाव, बढ्दो व्याजदर तथा कोरोना समयमा भित्रिएका अल्पकालिन लगानीकर्ताहरु आआफ्नै व्यवसायमा फर्किदा सेयर बजारमा मन्दी आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘कोरोनाका कारण अन्य क्षेत्र ठप्पजस्तै हुँदा सेयर बजार दैनिक २०/२२ अर्ब रुपैयाँको सेयर कारोबार हुने गरेको थियो,’ एक लगानीकर्ताले भने, ‘तर अहिले मुस्किलले दैनिक डेढ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार हुन थालेको छ ।’ कतिपय स्वार्थकेन्द्रित लगानीकर्ताले राष्ट्र बैंकका तत्कालिन गभर्नर अधिकारीले वित्तीय क्षेत्रमा चालेका कदमले बजार घटेको बताउँदै आएपनि पछिल्लो समय अर्थतन्त्रमा देखिएको प्रणालीगत समस्याका कारण पुँजीबजारमा दैनिकजसो गिरावट आएको सम्बद्ध जानकारहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको चालू आर्थिक बर्षको पहिलो ८ महिनाको तथ्यांक अनुसार पनि सरकारी ढुकुटीमा ३ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएर बसेको छ । रेमिटान्स आप्रबाह घट्दो दरमा रहेको छ भने विदेशी मुद्रा आयआर्जनको क्षेत्र होटल तथा पर्यटन क्षेत्र कोरोनाको महामारीले अझै लयमा आउन सकेका छैनन् । सरकारले पुँजीगत खर्च गर्न नसक्ने अनि अर्थतन्त्र चलयमान बनाउने मुख्य स्रोत रेमिटान्स अप्रबाहमा समेत गिरावट आँउँदा अर्थतन्त्रमै समस्या पुर्नका साथै लगानीयोग्य पुँजी नहुँदा सेयर बजार घट्ने क्रम जारी रहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL