Logo

नयाँ सवारी लाइसेन्स आवेदन यसै हप्तादेखि खुल्ने, पुरानो आवेदनको ट्रायल सकिँदै

नयाँ सवारी लाइसेन्स आवेदन यसै हप्तादेखि खुल्ने, पुरानो आवेदनको ट्रायल सकिँदै



काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाईन आवेदन यसै हप्तादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार आवेदन खुलाउने तयारी भएकाले यसै हप्ताभित्रै नयाँ आवेदनको प्रक्रिया सुरु गर्न लागिएको हो ।


हाल लक्ड डाटावेस ओपन, प्रादेशिक र कार्यालयगत कोटा बाँडफाँटलगायत कामहरु अन्तिम चरणमा पुगिसकेकाले अब चाँडै अनलाईन आवेदन खोल्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । उनका अनुसार कोरोना महामारीकै बेलामा यसअघि आवेदन दिएका ३ लाख बढि सेवाग्राहीको भने ट्रायल परिक्षा भईरहेको छ ।

नयाँ खुल्ने आवेदन पनि अनलिमिटेड रुपमै भर्न पाईने उनले जानकारी दिए । विभागले नेपालमा दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत बैशाख १६ गतेदेखि लाइसेन्सको अनलाईन आवेदन स्थगित गरेको थियो । त्यसपश्चात विभागले कोरोना महामारीको नियन्त्रण भएपछि, विद्यालय कलेज खुलेपछि मात्रै लाइसेन्सको अनलाईन आवेदन लिने बताएको थियो ।

विभागले अनलाईन आवेदन नलिएपनि दोस्रो चरणको महामारीअघि आवेदन दिएका सेवाग्राहीको लिखित र प्रयोगात्मक परिक्षा भने लिईरहेको थियो । यसरी परिक्षा लिँदा महामारी अघि आवेदन दिएका प्राय सेवाग्राहीको परिक्षा सकिएको विभागले जानकारी दिएको छ । महामारी अघि आवेदन दिएका सेवाग्राहीको कार्यालय भिजिट गर्ने डेट आगामी बर्षको अप्रिल महिनासम्म परेपनि आवेदन दिएका सबैजसो सेवाग्राही विभिन्न कारणले नआउँदा अझै औषतमा ७० प्रतिशत सेवाग्राहीले प्रयोगात्मक परिक्षा नै दिन बाँकी छ ।

सेवाग्राहीको समस्यालाई बुझ्दै विभागले भिजिट समयमा कार्यालय भिजिट गर्न नपाएको सेवाग्राहीलाई पुनः मौका दिने भन्दै एकचोटी सार्वजनिक सूचना दिएर बोलाउने बताएको छ । ‘हामीले धेरै माध्यमबाट प्रयोगात्मक परिक्षा दिने सेवाग्राहीलाई कार्यालयमा बोलाउने गरेका छौं,’ विभागका महानिर्देशक घिमिरेले भने, ‘तर, हालसम्म आवेदन दिएका मध्ये ३० प्रतिशत सेवाग्राहीमात्रै उपस्थित हुनुभएको छ ।’

उनले यसअघि उपस्थित हुन नसकेका सेवाग्राहीहरुका लगि एकपटक पुनः मौका दिनेसमेत बताए । यसअघि कार्यालय भिजिट डेटमा कार्यालय नगएका सेवाग्राहीको आवेदन रद्ध भई पुनः आवेदन दिनुपर्थ्यो ।

विभागले ट्रायल धमाधम गरिरहेको भएपनि स्मार्ट लाइसेन्सको भने विभागमा कमी छ । यसअघि फ्रान्सेली कम्पनीलाई १४ लाख कार्ड आपुर्ति गर्नका लागि ठेक्का लगाएको विभागले अबको बढिमा एक महिनामा कार्ड आईपुग्ने बताएको छ ।

फ्रान्सेली कम्पनीले अबको एक महिनामै १४ लाख स्मार्ट लाइसेन्स उपलब्ध गराउनेगरी जानकारी दिएको विभागका महानिर्देशक घिमिरेले बिजखबरलाई बताए । हालसम्म ट्रायल पास गरेका सेवाग्राहीलाई भने विभागले अस्थायी लाइसेन्स दिने गरेको छ, जसको म्याद १ बर्षको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL