Logo

महानगरले थाल्यो मापदण्ड विपरितका घर अनुगमन, १ हजार विद्यार्थी परिचालन

महानगरले थाल्यो मापदण्ड विपरितका घर अनुगमन, १ हजार विद्यार्थी परिचालन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाका घरहरुको तथ्यांक संकलनका लागि विद्यार्थी परिचालन गर्ने भएको छ । महानगरपालिकाले सरकारी क्याम्पसमा अध्ययनरत १ हजार जना विद्यार्थीलाई स्वंसेवकका रुपमा खटाउन लागेको हो ।

युथ सिटी कार्यक्रम अन्तर्गत महानगरभित्रका घरहरुको सहि तथ्यांक संकलन गर्न विद्यार्थीलाई खटाउन लागेको महानगरपालिकाका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।

जसमा स्नातक तह पुरा गरेका स्नातकोत्तर पढ्दै गरेका युवाहरु परिचालन गरिने उनले बताए । महानगरभित्र रहेका घरहरुको विस्तृत रुपमा जानकारी चाहिने भएकोले स्नातक पुरा गरेका विद्यार्थी परिचालन गर्न लागेको उनले जानकारी दिए ।

उनका अनुसार विभिन्न पाँच सरकारी क्याम्पसका प्रमुखहरुसँग एक चरणको छलफल भइसकेको छ । स्नातकोत्तर तहमा व्यवस्थापन विषय अध्यापन हुने सरकारी क्याम्पसमा शङ्करदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस, पशुपति क्याम्पस, पद्मकन्या क्याम्पस, पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख तथा विभागीय प्रमुखसँग फेरी बैठक बसरी संयुक्त कार्यविधि तयार गरेर अभियान अघि बढाइने छ । क्याम्पस प्रमुखहरुबाट सकारात्मक प्रतिक्रिया आएको उनले जानकारी दिए ।

उनीहरुले महानगरपालिका निजी तथा सार्वजनिक भवनहरुको तथ्यांक संकलन गर्नेछन् । जसअनुसार उनीहरुले वडाहरुमा गई प्रत्येक घरको तला, भाडामा दिए नदिएको, जग्गालगायतबारे तथ्यांक संकलन गर्नेछन् । यसका लागि महानगरपालिकाले रिफ्रेसमेन्ट तालीम दिने छ । ‘व्यक्तिगत विवरण लिनुपर्ने भएकोले मृदु भाषी तथा प्रभावशाली व्यक्तित्व भएको विद्यार्थी छान्ने छौं’ उनले भने ।

घर मापदण्डमा वा विपरित भएकोबारे जानकारी लिन सहज हुन्छ । त्यस्तै विद्यार्थीहरुलाई पनि अर्थिक रुपमा पनि सहयोग पुग्ने उनले जानकारी दिए । यसका लागि कम्तीमा ३ महिना लाग्ने बताएको छ ।

सो कामका लागि १ करोड २० हजार खर्च हुने अनुमान गरिएको छ । महानगरले प्रत्येक विद्यार्थीलाई मासिक १२ हजार रुपैयाँ दिने छ । तथ्यांक संकलन पश्चात मापदण्ड विपरित बनाइएका घरहरुलाई कारवाही गर्न पनि सहज हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL