Logo

‘अटो व्यवसायको ‘सप्लाई चेन’ टुट्यो, कर्जा सहज नभए मन्दी आउनेछ’ : क्याबिनेट श्रेष्ठको अन्तर्वार्ता

‘अटो व्यवसायको ‘सप्लाई चेन’ टुट्यो, कर्जा सहज नभए मन्दी आउनेछ’ : क्याबिनेट श्रेष्ठको अन्तर्वार्ता



केही समययता ओरोलो लागेको नेपालको अटो बजार कोभिड १९ पछिको लकडाउनका कारण ठप्प नै भएको छ । सरकारी नीतिका कारण चेपुवामा पर्दै आएको अटो क्षेत्रलाई अघि बढाउन अबका दिनमा नीतिगत सुधार नगरिए मन्दिको अवस्थमा पुग्ने देखिएको छ । लकडाउन पछिको नेपालको अटो बजार, यस क्षेत्रले दिँदै आएको रोजगारीमा पर्ने असर लगायतका विषयमा केन्द्रित रहेर नेपालस्थित महिन्द्रा गाडिको आधिकारिक विक्रेता अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार :

laxmi

लकडाउनले ठप्प अटो व्यवसाय अहिले कुन स्थितिबाट गुज्रिरहेको छ ?

लकडाउन अघि पनि सरकारको नीतिगत व्यवस्थाका कारण अटो क्षेत्र मार पर्दै आएको थियो । उच्च भन्सार शूल्क होस या वित्तीय क्षेत्रले प्रदान गर्ने कर्जाको सिमाका कारण विगत २ बर्षदेखि यो क्षेत्रको व्यापार खस्किएको थियो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिँदै आएको हायर पर्चेज कर्जाको सिमालाई घटाएर ५० प्रतिशतमा झारेसँगै यो क्षेत्रको व्यापार ओरालो लागेको थियो । तर, विश्वभर फैलिएको कोरोना महामारीको कारण अहिले त शुन्य अवस्थामै छ । विगत दुई महिनायता कुनै पनि क्रियाकलाप हुन पाएको छैन ।

अटो मोबाईल बढी आम्दानी हुनेले खरिद गर्ने हो । दुई पाङ्ग्रेभन्दा पनि यो व्यवसयामा चार पाङ्ग्रे सवारीसाधन पर्छन् । जसलाई सामान्य आम्दानी भएका व्यक्तिले खरिद गर्न सक्दैनन् । अहिले आर्थिक गतिविधिहरु चलायमान नहुँदा सवारीसाधन गरिद गर्ने कुरै भएन । अर्कोतर्फ यसको शोरुम केन्द्रमा वा मानिसको बढी चहलपहल हुने स्थानमा हुनुपर्ने तथा सोही अनुरुपका कर्मचारी राख्नुपर्ने भएकाले बढी खर्च हुँदै आएको छ । अहिले यस क्षेत्रको आम्दानी शुन्य छ तर खर्च घटेको छैन । यसले नेपालको अटो क्षेत्रमा धेरै ठूलो समस्या परेको छ । यस क्षेत्रमा कुनै पनि व्यवसायीले ५/६ बर्ष लगाएर गरेको आम्दानी ३/४ महिनामै घाटामा जाने अवस्था देखिएको छ ।

त्यसो भए अटो क्षेत्रको यो परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन सक्ने उपाय के हुन सक्छ त ?

विश्व र नेपालको अटो बजारको प्रकृति फरक छ ।कोरोना पछिको लकडाउनको अवस्था पनि त्यस्तै देखिएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा आर्थिक गतिविधि चलायमान हुन थालिसके । चीनकै कुरा गर्दा अहिले साना खालका पर्सनल भेहिकलको विक्रीमा वृद्धि भएको छ भने भारतमै पनि साना खालका कारको विक्री बढ्ने सम्भावना देखिएको छ । तर यहाँ लकडाउन जारी नै छ ।

‘बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने नीतिमा पनि कडाई गरिएको छ । सरकारले पनि अब केही समय सवारीसाधन खरिद नगर्ने नीति अवलम्बन गरेको छ । यदि अबका दिनमा सरकारी नीति परिमार्जन नगर्ने हो भने अटो क्षेत्र‘रिभाईभ’ हुन कठिन छ । ‘

सरकारी नीति नियमका कारण अन्य मुलुकमा जस्तो नेपालमा विक्री बढ्ने सम्भावना देखिदैन । सवारीसाधनमा लाग्दै आएको उच्च भन्सारदरका कारण चाहेर पनि मानिसहरुले सवारीसाधन किन्न सक्ने अवस्था छैन । यसैगरी बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने नीतिमा पनि कडाई गरिएको छ । सरकारले पनि अब केही समय सवारीसाधन खरिद नगर्ने नीति अवलम्बन गरेको छ । यदि अबका दिनमा सरकारी नीति परिमार्जन नगर्ने हो भने अटो क्षेत्र‘रिभाईभ’ हुन कठिन छ ।

कोरोना पछि सामाजिक दूरी कायम गर्न मानिसहरुले सार्वजनिक सवारीसाधनको प्रयोगलाई निरुत्साहित गर्न खोज्नेछन् । व्यक्तिगत सुरक्षाका लागि यस्तो अवस्थामा दुई पांग्रे सवारीसाधनको विक्री बढ्न सक्छ । तर यसो भन्दै गर्दा मानिसहरुको क्रयशक्ति घटेको छ भने बेरोजगारी पनि उत्तिकै बढ्ने देखिएको छ । यो अवस्थमा न त सरकारले कुनै स्टिमुलस प्याकेज ल्याउन सक्छ न त जनताको आम्दानी नै बढ्छ । दुई पाङ्ग्रे सवारीसाधनको व्यवसाय टिक्ला तर चारपाङ्ग्रेतर्फ व्यक्तिगत र सार्वजनिक सवारीसाधन दुवैको बिक्रीमा गिरावट आउनेछ । सामाजिक दूरी कायम राख्नुपर्ने बाध्यताका कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधन नै चल्न कठिन हुने देखिएको छ ।

अटो व्यवसाय उकास्न तपाईहरुले खोज्नुभएको नीतिगत व्यवस्था चाहिँकस्तो हो ?

कोरोना महामारी पछिको लकडाउनका कारण अटो क्षेत्रमात्र नभई सबै क्षेत्र धराशयी बन्न पुगेका छन् । तर लामो समयदेखि नेपालको अटो बजार उच्च भन्सारदर र मौद्रिक नीतिमार्फत लिईने कर्जा प्रवाहको चापमा पर्दै आएको छ । यस्तो अवस्थामा केही भन्सारदर घटाएर सहज रुपमा फाइनान्सिङको व्यवस्था गरिनुपर्छ । अहिले बैंक तथा वित्तीय क्षेत्रले ‘हायर पर्चेज’मा दिँदै आएको ५० प्रतिशत कर्जाको सिमालाई बढाउनुपर्छ ।सरकारले व्यवसाय चल्न सक्ने वातावरण बनाईदिनु पर्छ । अटो क्षत्रेले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाखौं मानिसहरुलाई रोजगारी दिएको छ । उनीहरुको रोजगारी बचाउनका लागि पनि सरकारले सोही अनुरुप सम्बोधन गर्नु जरुरी छ ।

व्यवसायीहरुले आर्थिक गतिविधि चलायनमा बनाउनका लागि अटोमोबाईल अनिवार्य भनेपनि हरेक वर्ष सरकरको नीति वा राष्ट्र बैंकको मौद्रिक नीतिले अटो क्षेत्र नै मारमा परेको देखिन्छ । यसमा सरकारले वेवास्ता गर्यो कि सरकारलाई अटोको महत्वको बारेमा बुझाउन तपाईहरु चुक्नुभयो ?

अहिले सरकारको प्राथमिकतामा सडक विस्तार हो । गाउँगाउँमा मोटरबाटो विस्तार भैरहेको छ । तर बाटोमा चलाउने भनेको त सवारीसाधन नै हो । यसलाई सहजीकरण गर्नेतर्फ सरकारको ध्यान गएन । अर्को कुरा यसअघि सार्वजनिक यातायातलाई प्राथमिकतामा राखिएको थियो । कोरोनाका कारण त्यसको पनि सम्भावना पनि कम देखियो । अबका दिनमा यसलाई सम्बोधन गर्नेगरी सरकारले नयाँ नीति ल्याउनु जरुरी छ ।

विश्वबजारसँग तुलना गर्ने हो नेपालमा व्यक्तिगत सवारीसाधन प्रयोग गर्नेको संख्या एकदमै कम छ । उदाहरणका लागि नेपालमा १ हजारमध्ये १.६ जनाले मात्र व्यक्तिगत सवारीसाधन प्रयोग गर्छन तर विकासित मुलुकमा हेर्ने हो भने १ हजारमा ८ सय जनाले व्यक्तिगत सवारीसाधन प्रयोग गर्दै आएका छन् ।

लकडाउनका कारण अटो क्षेत्रले प्रदान गर्दै आएको रोजगारीमा कस्तो असर पर्ने आँकलन गर्नुभएको छ ?

अहिले व्यवसाय कसरी टिकाउने भन्ने समस्या आएको छ । कोरोना महामारीले अटो मात्र नभई हेरक क्षेत्रलाई असर पुयाएको छ । तर अटो व्यवसाय त शुन्य अवस्थामै छ । यो अवस्थामा खर्च कटौतीको विकल्प छैन । हाम्रो मानव संसाधनतर्फको खर्च कुल खर्चको ४० प्रतिशत जति हुन आउँछ । व्यवसायको मुख्य खर्च मानवसंसाधनमा हुने भएकाले खर्च कटौतीको सुरुवात नै यसैबाट हुन्छ । तर, हामी कोही पनि व्यक्ति खाईपाई आएको रोजगारीबाट विमुख हुन नपरोस भन्ने सोचाईमा छौं ।

‘अबका दिनमा सरकारलाई पनि असर नपर्ने, निजी क्षेत्रपनि बाँचेर रोजगारी प्रदान गर्न सक्नेगरी राहतका प्याकेज ल्याउनु जरुरी छ । हामीले सरकारसँग त्यति ठूलो आशा त गरेका छैनौं तर व्यवसाय बचाएर श्रमिकलाई समेत काम विहिन बनाउन नपरोस भन्ने हो ।’

लकडाउका कारण व्यवसाय बन्द हुँदा कर्मचारीलाई तलबै खुवाउन नसकिने अवस्था आएको छ । लकडाउन सुरु भएकै ६५ दिन बितिसक्यो । अहिलेसम्म मासिक रुपमा कर्मचारीको तलब भुक्तानी गर्दै आएका छौं । कर्मचारीलाई चैतको तलब भुक्तानी गरियो भने बैशाखको दिन बाँकी नै छ । । तर यहिं आवस्थामा लकडाउन लम्बिने हो भने हामीले कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था रहँदैन ।

उद्योग व्यवसायलाई बचाएर श्रमिकलाई रोजगारी प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा सरकारसँग निजी क्षेत्रका मागहरु राखेका छन् । अहिलेको अवस्थामा निजी क्षेत्र जति समस्यामा छ, सरकार पनि त्यत्तिकै समस्यामा छ । अबका दिनमा सरकारलाई पनि असर नपर्ने, निजी क्षेत्रपनि बाँचेर रोजगारी प्रदान गर्न सक्नेगरी राहतका प्याकेज ल्याउनु जरुरी छ । हामीले सरकारसँग त्यति ठूलो आशा त गरेका छैनौं तर व्यवसाय बचाएर श्रमिकलाई समेत काम विहिन बनाउन नपरोस भन्ने हो ।

लकडाउनका कारण नेपाली अटो व्यवसायीले आयात गरेका गाडिहरु विक्री नहुँदा निर्माता कम्पनीहरुले चाडो बिक्री गर्न दबाब दिन थाले भन्ने सुनिन आएको छ । के यो वास्तविकता हो ?

अहिलेको अवस्थामा सबै अटो व्यवसायीसँग पुराना गाडि स्टकमा छन् । विशेषगरी २०१९ मोडलका । उदाहरणका लागि जापानबाट डिसेम्बरमा सिपमेन्ट भएका गाडिहरु नेपालमा तीन महिनापछि अर्थात मार्चको अन्तिममा मात्र आईपुग्छ । भारतमा बनेका गाडिहरु भने केही छिटो नेपाल आईपुग्छन् । त्यसलाई नर्मल रोटेसनमै लिएका हुन्छौं । अटो क्षेत्रको घाटा वा समस्या भनेको लकडाउन भएको दुई महिना अवधिको मात्रै हौ । कुनै कारणवश केही व्यवसायीहरुको धेरै सवारीसाधनहरु स्टकमा रहेका हुन सक्छन् ।

अर्को कुरा सबै क्षेत्रको सप्लाई चेन टुटेको छ । धेरैजसो गाडि निर्माता कम्पनीहरुले तत्कालै गाडि बनाएर बजारमा पठाउन सक्ने अवस्था छैन । उदाहरणका लागि नेपाल आउने धेरै गाडिहरु भारतमा बन्छन् तर त्यसका लागि आवश्यक पार्टपूर्जाहरु चीनबाट आउँछ । अब चीनबाट सामान ल्याएर भारतमा बनाएर नेपाल गाडि पठाउन कम्तीमा तीन महिना लाग्छ । लकडाउन खुलेपछि केही मोडलका गाडिहरु सिपमेन्ट होलान् तर धेरै मोडलका गाडिहरु बजारमा आउने छैनन् ।

लकडाउनले सवारीसाधनको अबको मूल्यमा कस्तो असर पर्ला ?

अहिले बजारमा जसको स्टक उच्च छ उनीहरुले मूल्य घटाएर पनि विक्री गर्न सक्छन् । तर कोरोनाको कारण सप्लाई चेन नै टुटेको हुँदा यसले आगामी दिनमा उत्पादन लागत झन् बढाउने देखिन्छ । हामीलाई आएको जानकारी अनुसार भारतमा पनि गाडिको उत्पादन धेरै हुन सकेको छैन । कोरोनापछि जति कम्पनीहरुले गाडि बनाउन सुरु गरे उनीहरुको उत्पादन एकदमै सिमित मात्रामा मात्र छ । सप्लाई चेन टुट्न पुग्दा पार्टपुर्जा नभएर भारतमा गाडि निर्माता कम्पनीहरु त्यतिकै बसेका छन । यस्तो अवस्थामा नयाँ सामान बनेर आउँदा झन खर्च बढन् जान्छ । तर खर्च बढेपनि उपभोक्ताको क्रयशक्तिमा ह्रास आई मागमा समेत गिरावट आउने भएकाले मुल्य पनि नबढ्न सक्छ ।

लकडाउका कारण तपाईहरुले बिक्री गर्दै आएको महिन्द्रालाई चाहि कत्तिको असर पारेको छ ?
अबका दिनमा कमर्सियल भेहिकलमा भने केही परिवर्तन आउने देखिएको छ । सुरक्षाका कारण आउटसोर्स गरिरहेका गाडिहरु सम्बन्धित व्यक्ति वा कम्पनी आफैले राख्नेछन् । आगामी वर्ष सरकारले सवारीसाधन नकिन्ने घोषणा गरेको छ भने आन्दानीमा गिरावट आउँदा उद्योग व्यवसायले पनि सवारीसाधन कम खरिद गर्नेछन् । जसका कारण अबका दिनमा सवारी विक्रीको वृद्धि हुने त आशा नै छैन । यो अवस्थामा कुन क्षेत्रमा कसरी टिक्ने भन्ने मुख्य कुरा को । अबका दिनमा साना गाडिको बजार बढ्ने देखिन्छ । महिन्द्राको साना गाडि छैन । महिन्द्राले अबका दिनमा पनि बिक्री गर्ने भनेको कमर्सियल भेहिकल नै हो ।

अबका दिनमा मानिसहरुको आवश्यकताहरु पनि परिवर्तन हुन्छन् । अहिले जसरी खर्च गरिरहेका छन् भोलिका दिनमा त्यसरी खर्च गर्ने पैसा नहुन सक्छ । बैंक तथा वित्तीय क्षेत्रले अटो लोनको कर्जामा केही सहज गरिदियो भने बिक्री बढ्न सक्छ । अन्यथा नेपालमा सवारीसाधन बिक्रीमा मन्दी आउने छ ।

तपाईले नै भन्नु भयो गाडि स्टकमा बढी हुनेले केही सस्तोमा बिक्री गर्न सक्छन तर नहुनेको मुल्य घट्दैन । महिन्द्राको अवस्था के छ ?

महिन्द्राले जहिले पनि तीन महिनाको स्टक राखेर गाडि विक्री वितरण गर्दै आएको थियो । अर्डर गरेर नेपालमा गाडि आईपुग्न दुईदेखि साढे दुई महिना लाग्छ । दुई महिना लकडाउन हुँदा त्यसमा तीन महिनाको स्टक थपिदा ५ महिनाका लागि पुग्ने भयो । तसर्थ महिन्द्राको सप्लाई चेन ठिक ठाउँमा आउँदासम्म मागलाई धान्न सक्नेछौं । त्यति धेरै स्टकमा भएर स्टक सक्काउनकै लागि सस्तोमा बिक्री गर्नु पर्ने अवस्था छैन । कोरोनाका कारण हामीले अर्डर गरेका गाडिहरु पनि कम्पनीबाट आउने सम्भावना एकदमै न्यून छ । अहिले भारतमै पनि रेड, अरेन्ज र ग्रीन गरी तीन भागमा विभाजन गरेर काम सुरु गरेका छन् । महिन्द्राको ३/४ वटा प्लाण्ट रेड जोनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL