Logo

सरकारी नीतिका कारण अटोमोवाइल क्षेत्र धराशयी हुँदैछ

सरकारी नीतिका कारण अटोमोवाइल क्षेत्र धराशयी हुँदैछ



नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सवारीसाधनमा प्रबाह हुने कर्जाको क्याप घटाएसँगै यस क्षेत्रको व्यापारमा उच्च गिरावट आएको छ । विशेषगरी निजी सवारीसाधन बिक्रीमा ६० प्रतिशतसम्म गिरावट आएको छ भने कतिपय अटो व्यवसायीहरु व्यवसायनै गर्न नसकिने मनस्थितीमा पुगेका छन् । विदेशी लगानीकर्तालाई काखा र स्वदेशी लगानीकर्तालाई पाखा गर्ने सरकारी नीतिका कारण समस्या आएको सम्बद्ध व्यवसायीहरु बताउँदै आएका छन् । पछिल्लो समय नाडा अटोमोवाईल्स डिलर्स एशोसिएशनले सो क्षेत्रको विकासका लागि गर्दै आएको नीतिगत लविङ तथा आगामी दिनमा गरिने सुधारको विषयमा नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालसँग बिजखबरले गरेको कुराकानीको सार :

laxmi

अहिले अटो व्यवसायको व्यापार निकै कमजोर अवस्थामा छ । यस्तो बेला संस्थालाई कसरी अगाडि बढाउनुहुन्छ ?

नाडाले अहिलेसम्म आफ्ना समग्र सदस्य संस्थाहरुको हितमा काम गरेको छ । विषम परिस्थितीमा पनि अटो व्यवसायमा सुधार ल्याउन सरकारसँग वार्ता गर्र्ने, नीतिगत रुपमा सुधार गर्ने र अटोमोवाईल क्षेत्रलाई अगाडी बढाउन कसरी काम गर्न सकिन्छ भन्ने कुरामा हामीले काम गरिरहेका छौं । त्यही कामको निरन्तरतालाई मैले पनि जोड्ने हो । नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको अटोमोबाईल राजस्वको हिसावले सवैभन्दा ठूलो क्षेत्र हो । रोजगारीको हिसावले हेर्ने हो भने सबैभन्दा ठूलो क्षेत्र यातायात हो, यातायात भनेको पनि अटोमोबाईल नै हो । यो क्षेत्रले देशको समग्र अर्थतन्त्र धानेको छ । यसैलाई मार पर्ने गरी सरकारले कुनैपनि निर्णय गर्दैन भन्ने हामीलाई विश्वास छ ।

त्यसैले यो संस्थाको नेतृत्वमा पुगेपछि मैले यस सम्बन्धित देशभरका अटोमोबाईल व्यवसायीहरुको समृद्धिको लागि र व्यवसाय विकासको लागि काम गर्छु । सरकारलाई सुझाव दिने, नीति परिवर्तन गर्ने, बजेटमा आफ्ना नीतिहरु कार्यान्वयन गराउनेदेखि लिएर सहजीकरण गराउने काम गर्नेछौं । अहिले घटिरहेको अटोमोबाईल बजार स्थायी नभएर अस्थायी होकि जस्तो देखिएको छ । जहिले पनि बजेट आएपछि तलमाथि गरिदिने, भन्सारमा तलमाथि गरिदिने, अन्तशुल्कमा तलमाथि गरिदिने हुनाले अटोमोबाईलको मूल्यमा पनि एकरुपता नहुनेलगायतका समस्याहरु आईराखेका छन ।

सरकारले अटोमोबाईल क्षेत्रलाई यस्तो गर्नु हँदैन । यो पनि एक अत्यावश्यक क्षेत्र हो । निजी होस या सार्वजनिक हरेक नेपालीले यातायातका साधन प्रयोग गर्न पाउनुपर्छ । त्यो प्रयोग गर्ने वातावरण निर्माणका लागि सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ । अटोमोबाईल क्षेत्रलाई विकास गर्न, स्थायी व्यापारको रुपमा हेर्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने हाम्रो माग हो । हाम्रो सबैभन्दा ठुलो समस्या पूर्वाधारमा खर्चको कमी हो । तर हामीलाई अन्य सानातिना कुराहरुले पनि समस्या त पारेका छन । ठुलो समस्या भनेको पूर्वाधारमा र विकास बजेट खर्च नहुनु, नयाँ सडक नबन्नु, कन्सेप्ट तयार नहुनुलगायतका छन् । सँधै एउटै बाटोमा पिच गर्ने र खाल्डाखुल्डी पुर्ने, नयाँ काम पनि नगर्ने, विभिन्न खोलाका करिडोरहरु नबन्नु या नखुल्नुले पनि यस क्षेत्रको व्यापार खस्केको देखिएको छ । यस्ता संरचना नबन्ने र समयमै सम्पन्न नहुने प्रवृत्तिले अटोमोबाईल बजारकै बेईज्जत गरेको जस्तो लाग्छ ।

पूर्वाधार निर्माणका नाममा व्यवसायीसँग सरकारले उठाइरहेको ठुलो रकम सोही क्षेत्रमा खर्च भईरहेको छ कि छैन ?

त्यो रकम पनि खर्च भएको छैन । हामीले सडक मर्मत भनेर ६ प्रतिशत रकम भन्सारमै तिरेका हुन्छौ । सवारी आयात गर्दा तिरेको रकम अर्बौँ पुगेपनि नेपालको प्रशासनिक कार्यदक्षतामा कमिका कारण र समन्वयको अभावमा प्रधानमन्त्रीले ४ पल्ट भन्दा पनि विकासका काम हुन नसकेको, सडकका खाल्डाखुल्डी पुर्न नसकिएको अवस्था छ । यसले यातायात क्षेत्रकै मनोवल गिर्ने खालको काम सरकारबाट भईरहेको छ ।

समयमा बाटो नबनाईदिने, जाम गराईदिने र जाम भयो, गाडी बढ्यो भन्ने खालको नैराश्यता पैदा गराईदिने हुनाले हामीलाई केही अप्mठ्यारो परेको हो । अहिले पनि कुल जनसंख्या मध्ये १ प्रतिशतले पनि गाडी नपाएको अवस्थालाई हेर्दा अटोमोबाईल व्यवसायको भविष्य नेपालमा उज्वल छ । विदेशतिरको ट्रेन्डलाई हेर्न हो भने जनसंख्याको ७० प्रतिशतसम्म यातायातका साधनको पहँुच रहेको हुन्छ । पूर्वाधार निर्माण भएपछि हाम्रो भविष्य उज्वल त छदैछ त्यसमा पनि विद्युृतिय गाडीको भविष्य अझै अघि बढ्छ ।

तत्काल हामीले देखेको समस्या भनेको लगानीको समस्या हो । बैंकले लगानी गर्ने कुरामा धेरै झन्भटिलो भएको कारणले यसको लगानीमा कमी आयो र व्यापार खस्केको जस्तो देखिएको हो । बैंकले लगानी गर्दा धेरै कागजपत्र खोजेको र पूर्वाधारमा लगानी गर्न हेभि ईक्वीपमेन्टको व्यापार नभएकाले यो क्षेत्रमा असर परेको हो । यस्तै बैंक लोन र ५० प्रतिशत अग्रिम भुक्तानीका कारणले पनि सेल्समा केही कमी आएको हो । अब फागुन लागिसकेपछि बजेट खर्च हुने दर पनि बढेसँगै अटोमोबाईलको व्यापार पनि बढ्छ । त्यसैले अबक घटेको अटोमोबाईल व्यापारमा केही प्रतिशत मात्रै भएपनि बजार व्यवस्थापन र सहजीकरणसँगै पक्कै पनि सुधार आउनेछ ।

अटोमोबाईललाई तपाईँहरु यातायातको अत्यावश्यक साधनको रुपमा हेर्ने र सरकारले यसलाई विलासिताको बस्तुको रुपमा हेर्ने हुनाले तादम्यता नमिलेको जस्तो छ । यसमा तपाईँहरुले सरकारलाई बुझाउन नसकेको हो ?

अटोमोबाईल विना विकास सम्भव नै छैन । जहाँ विकासको आवश्यकता छ त्यहाँ अटोमोबाईलको आवश्यकता छ । यातायात विना पर्यटनको पनि विकास हुन सक्दैन र कल्पनासम्म पनि गर्न सकिदैन । कृषिमा समेत ट्र्याक्टरलगायतका अटोमोवाईल प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले हरेक स्थानमा यातायातको आवश्यकता पर्दछ । यातायात विना औद्योगिकरण, कृषि, पर्यटन, उत्पादकत्वलगायतका क्षेत्रहरु कल्पनासम्म पनि गर्न सकिदैन । सरकारले यसलाई बुझेपनि समय र सन्दर्भ नमिलेको र प्रशासनिक सहजता नभएको कारणले समस्या आएको छ । राणाकालदेखि बनेको सडकलाई अहिले समयअनुसार नयाँ रुपमा बिस्तार र उपयुक्त बनाउन नसकेको अवस्था छ । सरकारले भन्सारको दर केही बढी गरेको छ । जसमार्फत सरकारलाई राम्रो भईरहेको छ । कन्ट्रोल बेसमा सरकार चलिराखेको छ । जति ल्याएपनि खुला छोडियो भने अर्थतन्त्र र सडकलाई व्यवस्थित गर्न पनि अप्ठ्यारो हुन्छ । यी दुईओटा कुराहरुलाई रोक्न सरकारले केही नियन्त्रण गर्नु सरकारको कर्तव्य पनि हो । तर त्यो सँगसँगै विकासमा पहूँच पुर्याउनु, विकास गर्नु, पूर्वाधारमा छुट्याएको बजेट पुर्ण रुपमा खर्च नहुनुले हामी समस्यामा छौं । यी सबै कुराहरुमा सरकारलाई दोष दिनुभन्दा पनि हामी यस क्षेत्रका सबै सरोकारवालाहरु मिलेर गर्यौं भने केही होला भन्ने आशा गर्न सकिन्छ ।

पछिल्लो समय बढिरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न नाडाले यसमा ध्यान केन्द्रित गर्छ की गर्दैन ?

सडक सुरक्षामा हाम्रो पनि सामाजिक सुरक्षा र सामाजिक उत्तरदायित्व अन्तर्गतको भूमिका रहन्छ । यो हाम्रो व्यवसाय सम्बन्धित हुने भएकाले पनि हामीले सबैभन्दा बढी खर्च सडक सुरक्षामा गर्छौं । सडक सुरक्षा अन्तर्गत ट्राफिक प्रहरीसँग मिलेर हामीले जनचेतनाको कार्यक्रमहरु गरिराखेका छौं । यस्तै सडकमा बसेर मेहनत गर्ने ३ जना ट्राफिक प्रहरीलाई हरेक साधारणसभामा सम्मान गर्ने कामहरु पनि हामीले गर्दै आएका छौं । यसैगरी हामी अन्य ट्राफिक प्रहरीलाई पनि सडक सुरक्षा सम्बन्धी पर्चा पम्पलेट दिए सहयोग गर्ने गरेका छौं । यसलाई मेरो कार्यकालमा भने अझै वृहत रुपमा अगाडि बढाउने सोच बनाएको छु ।

कमर्सियल भेहिकल चलाउनलाई कम्तिमा १० कक्षा पढेको ड्राईभर हुनुपर्छ भनेर पहिलादेखि माग राख्दै आएका छौं । सडक सुरक्षाको प्रमुख पक्ष भनेको १० कक्षा नपढेको व्यक्तिले ५० जनाको ज्यान जानेगरी सवारीसाधन नचलाओस भन्ने हाम्रो मान्यता हो । कम्तीमा पनि उसले आफ्नो र यात्रुको ज्यानको माया गरोस भन्ने हो । पछिल्लो समय ट्राफिक प्रहरीको तथ्याङ्कमा ७५ प्रतिशत भन्दा बढी दुर्घटना लापर्वाहीका कारणले हुने गरेका छन । जसलाई पुरा गर्नका लागि शिक्षा र जनचेतना अनिवार्य हो । त्यसैले शिक्षित व्यक्तिलाई लाईसेन्स दिईयो भने दुर्घटना कम हुन्छ । त्यसपछि गुणस्तर, सर्भिसिङलगायतका अन्य प्रक्रियाहरु पनि यसका प्रमुख कारक हुन ।

यस्तै पछिल्लो समय प्रदूषण मापन पनि नाम मात्रैको भएको छ । सरकारले प्रदुषण स्टेशन बनाउने, व्यवस्थापन गर्ने भनेको त छ । तर, कार्यान्वयन कहिल्यै पनि हुन सकेको छैन । नामको लागि मात्रै यो गरिने र प्रशासन दक्षताको कमी हुने, नियम कानून धेरै बनाउने र लागु नहुनाले यो अन्योलमा परेको छ । सडक सुरक्षामा पहिलो शिक्षा र जनचेतना, दोस्रो सडकको गुणस्तर तेस्रो ट्राफिक व्यवस्थापन र चौथो वा अन्तिम सवारीसाधनको अवस्था पनि उत्तिकै मात्रामा हेरिनुपर्छ । यातायातको तथा भौगोलिक अवस्थाका कारणले हाम्रो देशमा पुराना सवारीसाधन नै चल्न नसक्ने अवस्थामा छन् । यसको कारणले प्रदूषणमा अलिकति कमी भइरहेको छ जसलाई सरकारले चाहयोे भने तुरुन्तै पनि निर्मुल गर्न सक्छ ।

पछिल्लो समय अटो व्यवसाय धराशायी भयो भनेर चौतर्फी सुनिरहेको छ । तपाई अटो व्यवसाय क्षेत्रको नेतृत्वमा बसेर हेर्दा वास्तवमै व्यवसाय धराशायी नै भएको हो ?

पछिल्लो समय अटो व्यवसाय धराशायी भएको त छैन तर सरकारको काम गराई हेर्दा धराशायी हुे अवस्था आउछ कि भन्ने शंका भने छ । कुनै पनि व्यवसायमा नीतिगत रुपमा समस्या पर्याे भने धराशायी हुनलाई समय लाग्दैन । सरकारले कुनै पनि उद्योग बन्द गराउँछु भनेर चाहयो भने एकैदिनमा पनि बन्द गराउन सक्छ नि । व्यवसाय धराशायी भएको छैन तर धराशायी बनाउनेतिर सरकारले विभिन्न नीतिहरु अघि बढाएको छ । यसमा शंका गर्नु नपरोस भन्ने हाम्रो धारणा हो ।

व्यक्तिगत रुपमै कतिपय व्यवसायीहरु हामी नाजुक अवस्थामा छौं र बाध्यताले घाटामा भएपनि व्यापार गरिरहेका छौं भनेर भनिरहेका छन नि?

कुनै बर्षमा कुनै महिना व्यवसाय नोक्सानमा गईरहेको हुन्छ । दशैतिहारको बेलैमा आएर सरकारले अटोमोबाईल क्षेत्रमा लगानी नीति कडा बनाईदिएपछि व्यवसाय धराशायी हुने अवस्थामा थिए । यस्ता नीतिले व्यवसाय एक न एक दिन धराशायी हुन्छ पनि । व्यवसाय धराशायी हुनु भनेको देशै धराशायी हुनु हो । व्यवसाय भनेको त माध्यम मात्रै हो । देशमा आयातको उद्योग बन्द हुनु भनेको राजस्वको स्रोत नै बन्द हुनु हो । राजस्व परिचालन हुनेगरी व्यवसाय पनि परिचालन हुनुपर्याे नि । एउटा कुनै व्यवसाय बन्द गर्ने वा नयाँ व्यवसाय सुरु गर्ने सरकारको नीति हुनसक्छ तर सबै व्यवसायलाई असर पर्ने खालका नीति नियम ल्यायो भने त देशै अप्ठ्यारो पर्न सक्छ । त्यसैले यो व्यवसाय धरापमा छ जस्तो त मलाई लाग्दैन तर सरकार भने धरापमा पार्नतिर लागिपरेको छ ।

हाईब्रिड कारको विषयमा पनि सरकार र व्यवसायीबीच द्धन्द छ । यसको वास्तविकता के हो ?

अहिले द्धन्द नै छैन, सरकारले समाधान गरिसक्यो । हाईब्रिडको परिभाषा नखुलाईकन सरकारले यसमा छुटको कुरा गरेको थियो । अब अहिले हाईब्रिडको परिभाषा खुलिसक्यो । हाईब्रिडलाई सरकारले छुट नदिने सरकारले नीति नै ल्याईसक्यो र यो नभएपछि यसको समस्या नै समाधान भईसकेको छ । अब हाईब्रिड गाडीलाई पनि अन्य गाडीलाई लागेजति भन्सार लाग्ने हो । अहिले ईलेक्ट्रिक गाडीलाई मात्रै छुट छ ।

नेपालमा गाडी एसेम्बल गरेर बेच्न सकिने भविष्य छ ? यसलाई तपाईँले कसरी हेर्नुभएको छ ?

नेपालमा ईलेक्ट्रिक गाडीहरुको एसेम्बल गरेर विक्री गर्न सकिने सम्भावना देखिन्छ । यसमा सरकारले पनि व्यवसायीलाई सहजीकरण गरिदिनुपर्ने अवस्था छ । सडक विस्तार भएपछि ईलेक्ट्रिक गाडीहरु उत्पादन गरेर बिक्री गर्न सकिने सम्भावना उच्च छ । सरकारले पनि बजार विस्तार गर्ने नियत राख्नुपर्छ । तर अहिलेकै अवस्थामा नेपालमा बजार र सडक नै प्रशस्तै छैन । पछिल्लो समय सरकारले नै गाडी एसेम्बल गर्नका लागि विदेशी कम्पनीसँग सम्झौता गर्याे भन्ने सुन्नमा आएको छ । यदि सरकारले लगानी गरेर ल्याएको हो भने स्थानीय व्यवसायी पनि त्यसरी नै साथ दिनुपर्छ ।

सरकारले विदेशी लगानीलाई जग्गा उपलब्ध गराउने, विभिन्न कुरामा छुट दिने, लोन दिने तर स्थानीय लगानीकर्तालाई भने स्थानको अभाव, लगानीको अभाव, आयकर छुटको अभाव छ । यी कुराहरुमा बराबर हैसियतमा स्थानीय र विदेशी लगानीकर्तालाई छुट दिईयो भने उद्योगमा यहाँ पनि हुनसक्छ भन्ने मलाई लाग्छ । यसका लागि उद्योगीले लगानी प्रस्ताव, उद्योग दर्तालगायतका सबै कुरा गरिसकेका छन् । मात्रै सरकारले विदेशी लगानीकर्तालाई दिनेजत्तिकै सहुलियत स्थानीय लगानीकर्तालाई दिनुपर्याे । नेपालमा विदेशी लगानीकर्तालाई रातो कार्पेट विछ्याउने र स्वदेशी लगानीकर्तालाई भाँजो हाल्ने कामले समस्या पैदा गरेको छ ।

अहिले हाम्रै व्यवसायीहरुलै नै भन्सार छली र नक्कली स्पेयर पाटर्स र पार्टपुर्जा ल्याएर खुलेआम विक्री गरिरहेका छन् भन्ने आरोप छ नि ?

स्पेयरपाटर्स नक्कली भन्ने हुँदैन । सबैको आ आफ्नै कम्पनी हुन्छ र आ आफ्नै ब्राण्ड हुन्छ । केही स्पेयर पार्ट्सहरु भन्सार चोरीबाट आउने हुनाले सस्तोमा बेच्ने गरिन्थ्यो अहिले त्यो समस्या छैन । पछिल्लो समय चोरी निकासीबाट आएका पार्टपुर्जाहरुलाई भने नक्कली पार्टपुर्जाको रुपमा परिभाषित गरिएको छ । यस्तो समस्या पनि भारतको जिएसटीका कारणले समाधान भईसकेको छ । तर अझै पनि भन्सारमा चोरी निकासी छ यसलाई कडाई गर्नु पर्नेछ । स्वच्छ व्यापार, स्वच्छ प्रशासन भन्ने हाम्रो पनि माग हो । स्वच्छ व्यवसाय गर्दागर्दै पनि प्रशासनले भने दुख दिनु हुँदैन । स्वच्छ व्यवसाय नगर्नेलाई प्रशासनले पनि छोड्न हुँदैन भन्ने हाम्रो माग हो । यस्ता समस्याहरु धेरै निराकरण हुँदै गएका छन् भने केही बाँकी छन । चीनसँगको नाकामा बैंकको एलसीई, टीटीको कारणले केही समस्याहरु छन् । यी समस्याहरुलाई समाधान गर्न विभिन्न कार्यहरु भईरहेका छन भन्सार सहजीकरणका कामहरु भईरहेका छन । हामीले हाम्रो तर्फबाट काम गरिरहेका छौं तर प्रशासनको तदारुकताका कारण हाम्रा कामहरु पनि अन्यौलमा परिरहेका छन ।

नेपालमा लुब्रिकेन्ट उद्योगको अवस्था र भविष्य के छ ?

अहिले नेपालमा भएका उद्योगहरुमध्ये अटोमोबाईल क्षेत्रमा आवश्यक र राम्रो उद्योग नै लुब्रिकेन्ट उद्योग हो । टायर उद्योग २ ओटा थिए एउटा बन्द छ । टायरका केही सानासाना उद्योगहरु सञ्चालन भईराखेका छन । नेपालको अटोमोबाईल बजारमा सफल एकमात्र उद्योग भनेको लुब्रिकेन्ट उद्याग नै हो । नेपालमा यी उद्योगहरुले झण्डै ३५ प्रतिशतको बजार हिस्सा पनि ओगटेका छन । यदि सरकारले सहजीकरण गरिदिने हो भने नेपाली लुब्रिकेन्टसको बजार हिस्सा ७५ प्रतिशतसम्म पुग्ने देखिन्छ । यस्तै भन्सारमा सहजीकरण, कच्चा पदार्थलाई भन्सार दर कम र आयातलाई अलिकती बढी गर्नेवित्तिकै यसको समस्याको कुरा पनि समाधान हुनेछ । यसको माग पनि बढ्छ र माग पुरा गर्ने क्षमता समेत नेपालका उद्योगहरुमा छ । अन्य अटोमोबाईल उद्योगहरु पनि स्थापना हुन जरुरी छ ।

नेपालमा अटोमोबाईलका स्पेयर पार्टहरुको उत्पादन हुन थालेपछि मात्रै नेपालमा एसेम्बल कम्पनी स्थापना गर्न सजिलो हुनेछ । एसेम्बल गरेपछि पनि केही समयपछि त्यसको परिपुर्ति गर्नैपर्छ भन्ने सरकारले बाध्यकारी नियम राखेको छ । त्यसले गर्दा ट्युबका उद्योग लगायत अन्य उद्योगलाई पनि सहजीकरणका वातावरण बनाईनुपर्दछ । नेपालमा लुब्रिकेन्टको बजार धेरै राम्रो र यसलाई अझै बढाउनुपर्नेछ र सरकारले सहजीकरण गरिदिनुपर्नेछ । सरकारले स्थापित उद्योगलाई राम्रोसँग अघि बढाउन काम थाल्नुपर्छ ताकि भएका उद्योगलाई मर्का पुर्याएर नयाँ उद्योग ल्याउने प्रवृत्ति भने अन्त्य हुनुपर्दछ ।

हाल भएका उद्योगलाई संरक्षण नगर्ने र विभिन्न बहानामा उद्योगलाई मर्का पार्ने र नयाँ उद्योग खोल्नुहोस भनेर आह्वान गर्नाले झुट बोलेको प्रष्टै थाहा हुन्छ । व्यवसायीलाई आफै एग्रेशिभ भएर मैले उद्योग खोल्नुपर्छ भन्ने धारणा आउनुपर्छ । नेपालका युवाहरुलाई पनि नेपालमा केही गर्नुपर्छ र नेपालमै नयाँ उद्योग खोल्नुपर्छ भने धारण उत्पन्न गराउनुपर्दछ । यसले समृद्धिमा टेवा पुग्ने हो । तर समृद्धिको नारा दिने तर वातावरण नवनाउनाले विकासमा समेत असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL