GBIME

ग्लोबल इक्विटी फण्डले ‘एफडीआई’ ल्याएर नेपालमा इक्विटीमा लगानी गर्छ : डा. मनिष थापाको अन्तर्वार्ता


बिजखबर संवाददाता
9 August, 2022 10:34 am

ग्लोबल इक्विटी फण्डले ‘एफडीआई’ ल्याएर नेपालमा इक्विटीमा लगानी गर्छ : डा. मनिष थापाको अन्तर्वार्ता

नेपालमा पहिलो पटक प्राईभेट इक्विटी एण्ड भेन्चर क्यापिटल (पीईभीसी)को काम गर्न ग्लोबल इक्विटी फण्ड लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स पाएको छ । यस अघि कतिपय कम्पनीले पीईभीसीको काम गर्दै आएपनि आधिकारिक रुपमा लाईसेन्स पाउने ग्लोबल पहिलो हो । पीईभीसीको लाईसेन्स पाएपनि यसलाई कसरी अघि बढाउने, कस्तो र कसरी प्रडक्टहरु बजारमा ल्याउने, कसरी फण्ड संकलन गर्नेजस्ता थुप्रै कानुनी दुविधाहरु छन् । नेपालमा पीईभीसीको आवश्यकता र यसले आगामी दिनमा गर्ने कामको विषयमा केन्द्रित रहेर ग्लोबल इक्विटीका प्रबन्ध निर्देशक डा. मनिष थापासँग बिजखबरका रामराजा श्रेष्ठ र अनिल न्यौपानेले गरेको कुराकानीको सार :

NLIC
Lamxi_bank


नेपालमा पहिलोपटक प्राईभेट ईक्विटी एण्ड भेन्चर क्यापिटल (पीईभीसी)को लाइसेन्स पाउनुभएको छ । अब कसरी अगाडि बढ्नुहुन्छ ?

नेपालमा हामीभन्दा पहिले यस्ता फन्डहरु आईसकेका छन् । तर, लाइसेन्स पाउने कम्पनी भने हामी पहिलो हौं । यसअघि आएका यस्ता कम्पनीले भेन्चर क्यापिटलबारे सर्वसाधारणमा एक किसिमको ज्ञान प्रवाह गर्ने भूमिका खेले ।

पहिलो कुरा त पीईभीसीको बारेमा जान्न जरुरी हुन्छ । नेपालको जुनसुकै क्षेत्रमा पुँजी जुटाउनका लागि हालसम्म २ ओटा मात्रै स्रोत छन् । एउटा आफ्नो व्यापार व्यवसाय वा कसैबाट सरसापट गरेको पैसा र अर्काे बैंकहरुले दिने कर्जा जसका लागि धितोको आवश्यकता पर्दछ । तर, ईक्विटी फण्ड भनेको पुँजी जुटाउने तेस्रो वा वैकल्पिक स्रोत हो । यसले कुनै पनि व्यापार व्यवसायको ईक्विटीमा लगानी गर्छ, त्यो भेन्चर क्यापिटलमार्फत पनि हुनसक्छ ।

भेन्चर क्यापिटल भनेको ईक्वीटी फण्डभित्रको छुट्टै पाटो हो । यसले विशेषसगरी नवप्रवर्तन वा नयाँ आउने स्टार्टअपमा लगानी गर्दछ । यसले कसैको नवप्रवर्तनलाई अघि बढाउन लगानीसँगै प्राविधिक सहयोग गर्ने काम गरिदिन्छ । प्राइभेट इक्विटी फण्ड भने एउटा लागत सेक्टर हो जसले जस्तोसुकै र जुनसुकै क्षेत्रमा पनि लगानी गर्न सक्छ । तर नेपालमा पीईभीसीले आइटीलाई मात्रै प्राथमिकता दिन्छ भन्ने बुझाई छ ।


तपाईहरु आफै चाही कसरी लगानी जुटाउनुहुन्छ ?

प्राईभेट ईक्विटी फण्ड म्युचुअल फण्ड जसरी नै सञ्चालन हुने हो । त्यसै अनुसार ग्लोबल ईक्विटी फण्डले पनि विभिन्न खालका फण्ड सिर्जना गरेर पैसा जुटाउँछ । नेपाललगायत संसारभर नै यस्तो फण्डका लगानीकर्ता खासगरी धनाढ्य व्यापारी, व्यवसायी, वित्तीय संस्था, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषलगायत हुन्छन् । विश्वभर र छिमेकी देश भारतको अभ्यास पनि यहि छ । यी संघसंस्था तथा व्यक्तीले फण्डमा पैसा लगानी गर्छन् अनि त्यसै अनुसार फण्डमार्फत क्षेत्र वर्गिकरण गरी लगानी गर्ने गरिन्छ ।

नेपाललगायत विश्वभरका विकासशिल देशमा लगानीको ढाँचा परिवर्तन भईरहेको छ । पहिले पहिले विदेशी वा स्वदेशी दातृ निकायले यस्तो फण्ड सिधै सरकारलाई दिन्थे र सोही अनुसार विकासका कार्यक्रममा लगानी र प्रवाह हुन्थ्यो । त्यसपछि यसको स्वरुप नै परिवर्तन भयो र एनजीओ आइएनजीओमार्फत प्रवाह गर्न थालियो । अझै यो विधि पनि परिवर्तन भएर ईक्विटी फण्डमार्फत लगानी गर्नेको संख्या बढ्दैछ । विकसित देशहरुलाई पनि फण्डको खाँचो भईरहेको छ । उनीहरुकहाँ पनि धेरै पैसा छैन । त्यसो हुँदा फण्डमा लगानी गर्नेले पनि क्षेत्रगत रुपमा लगानी छुट्याएर गर्न थालेका छन् ।

९० अर्ब डलरको प्राईभेट ईक्विटी फण्डको बजार भएको छिमेकी देश भारतमा करिब ६५ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी प्राईभेट भेन्चर ईक्वीटी फण्डमार्फत आउँछ भने बंगलादेशमा झण्डै ५५ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी यसमार्फत आउँछ । त्यसैले नेपाली प्राईभेट भेन्चर ईक्विटी फण्डका लागि पनि विदेशी लगानीलाई सबैभन्दा ठूलो र महत्वपूर्ण स्रोतका रुपमा लिन सकिन्छ ।

नेपालमा यसअघि स्थापित भईसकेका विभिन्न फण्डहरुले पनि विदेशी स्रोतमार्फत नै फण्ड जुटाएका हुन् । अब लाइसेन्स नै पाईसकेको ग्लोबल ईक्विटी फण्डजस्ता कम्पनीले पनि आन्तरिक स्रोतबाट निकाल्न सकिने पुँजी निकालेपनि त्यो पर्याप्त भने हुँदैन । त्यसका लागि अन्तरराष्ट्रिय फण्डको आवश्यकता पर्छ नै ।

नेपालमा लगानी ल्याउने विदेशी लगानीकर्ता दुई किसिमका छन् । पहिलो नेपाल सुन्दर छ, सगरमाथाको देश भनेर भावनात्मक रुपमा लगानी गर्ने र दोस्रो कुनै क्षेत्र नै छानेर लगानी गर्छु भन्नेहरु । विश्वका धेरैजसो ठूला कम्पनीले विश्वभर आफ्नो लगानी विविधिकरण गर्छन् । यस्तो बेलामा उनीहरुले सिधै लगानी नगरी हामीजस्तो ईक्विटी फण्ड खोजेर फण्डमार्फत लगानी गर्ने गर्दछन् । हामीले यसैगरी लगानी उठाउने हो ।

तपाईहरुले पीईभीसीको लाइसेन्सका प्रक्रिया अघि बढाइसकेको नै लामो समय भयो । यसबीचमा कुनै स्रोतबाट लगानी जुट्ने सम्भावना वा प्रस्ताव आएको छ ?

ग्लोबल ईक्विटी फण्डले स्थापनादेखि नै विभिन्न विकास वित्त संस्थाहरुसँग कुरा गर्दै आईरहेको छ । समयमा लाइसेन्स नपाएकै कारण नै फण्ड उठाउने र लगानी गर्ने काम भने हालसम्म भएको छैन । यसबीचमा हामीले अमेरिकाको विकास वित्त संस्थासँग कुरा गरिरहेका छौं । यस्तै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टसँग पनि पहिलेदेखि नै कुरा गरिरहेका छौं । साथै हामीले भारतको ठूलो लगानी कम्पनी पोपार्काेलाई पनि लगानीका लागि आकर्षित गरेका छौं । यसले मध्य मस्र्याङ्दीमा लगानी गरिसकेको छ । अन्य बैंक र फण्डमा पनि लगानी गर्ने ईच्छा व्यक्त गरेको छ ।

हालसम्म करिब २ अर्ब रुपैयाँ बराबरको लगानीको प्रस्ताव आईसकेको छ । जसमध्ये राजेन्द्र खेतान, बसन्त चौधरीलगायत व्यक्तिगत लगानीकर्ताले प्रतिबद्धता जाहेर गर्नुभएको छ भने संस्थागत रुपमा लक्ष्मी बैंक, प्राइम लाईफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि प्रतिबद्धता जाहेर गरेका छन् । यस्तै हामीले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतसँग पनि कुरा गरेका छौं ।

आर्थिक बर्षको सुरुवातमै तपाईँहरुले लाईसेन्स पाउनुभएको छ । यस बर्ष कतिको फन्ड संकलन गर्ने योजना छ ?

हामीले आन्तरिक स्रोतलाई प्राथमिकतामा राख्नकै लागि पनि पहिलो फण्ड आन्तरिक स्रोतबाटै जुटाउने रणनीति बनाएका छौं । विदेशी स्रोतको भरमा फण्ड सिर्जना गर्दा पहिलोपटक केही बाधाहरु आईपर्छन् । जस्तो हेजिङको सुविधा, विदेशी लगानीको सहजतालगायतका कुराहरुले अप्ठ्यारो भने पारेको छ । सरकारले नीतिगत व्यवस्था गरेर कुनै विदेशीले नेपालका ईक्विटी फण्डमार्फत लगानी गर्दा कसरी र कति परिमाणमा ल्याउने भन्ने स्पष्ट पारिसकेको छैन । यस्तै नीतिगत अप्ठ्याराका कारण पनि हामीले पहिलो फण्ड आन्तरिक स्रोतबाटै जुटाउने योजना बनाएका हौं । दोस्रो फण्ड सिर्जना गर्दा भने धेरैजसो नीतिगत सुधार र अप्ठ्यारा समाधान हुन सक्ने सम्भावनाका आधारमा विदेशी स्रोतमार्फत जुटाउने योजना बनाएका छौं ।

फण्ड सिर्जना गर्नका लागि प्रति एकाई ५० लाख रुपैयाँ तोकिएको छ । अर्थात फण्डमा लगानी गर्न चाहनेले कम्तिमा ५० लाख रुपैयाँ बराबरको एक एकाई लगानी गर्नुपर्ने व्यवस्था छ । यसैगरी लगानी जुटाएर एउटा फण्ड सिर्जना गरिन्छ । सबैभन्दा सानो फण्ड भने कम्तिमा १५ करोड रुपैयाँको हुन्छ । तर, हामीले पहिलो फण्ड नै २ अर्ब रुपैयाँ बराबरको बनाउने योजना बनाएका छौं ।

विदेशी स्रोतमार्फत फण्ड सिर्जना गर्न के के समस्या छन् ?

धितोपत्र बोर्डले हामीलाई प्राईभेट ईक्विटी एण्ड भेन्चर क्यापिटलको लाइसेन्स दिएपनि केहि नीतिगत समस्या भने अझै छन् । जसमध्ये पहिलोमा कुनै पनि विदेशी वा एनआरएनले फण्ड ल्याउन खोज्दा सिधै हामीकहाँ ल्याउन सक्छ कि सक्दैन भन्ने स्पष्ट गरिएको छैन । दोस्रोमा प्राईभेट ईक्विटी फण्डको एक एकाईको मुल्य ५० लाख रुपैयाँ बराबरको हुने भएपनि प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोड रुपैयाँ छ ।

सरकारले बजेटमार्फत घटाएर २ करोडमा झारेपनि हालसम्म यसको कार्यान्वयन भएको छैन । यसो हुँदा कुनै विदेशी लगानीकर्ताले ५० लाख रुपैयाँ मात्रै फण्डमा लगानी गर्न खोज्दा पाउने/नपाउने टुंगो लगाउनुपर्छ ।

तेस्रो समस्या भनेको कुनै विदेशी लगानीकर्ताले फण्डमार्फत लगानी गर्न खोज्दा फण्डमा लगानी हुने हो वा ईक्विटी फण्ड कम्पनीले उनीहरुले भनेको जस्तो परियोजनामा लगानी गर्नुपर्ने हो भन्ने पनि स्पष्ट भईसकेको छैन । चौथो समस्या फण्डले लगानी गरेको कुनै कम्पनीले बैंकको कर्जा तिर्न नसकेर कालोसूचीमा परेमा पुरै ईक्विटी फण्ड कम्पनीनै कालोसूचीमा पर्ने कि सम्बन्धित कम्पनी मात्रै भन्ने पनि भईसकेको छैन ।

यस्तै अन्य पेन्सन फण्डहरु जस्तै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायतले ईक्वीटी फण्डमा लगानी गर्न पाउने नपाउनेसमेत टुंगो लागिकसकेको छैन । त्यसैले हामीले लाइसेन्स पाएपनि विभिन्न नियामकीय निकायलाई यसको बारेमा बुझाएर नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ । अर्थात हामीले पहिलो फण्ड सिर्जना गर्दासम्म धेरै किसिमका समस्याको समाधानसँगै अघि बढ्नुपर्ने देखिन्छ । यसमा धेरै काम गर्न बाँकी छ ।

फण्ड रेजकै लागि अहिले मर्चेन्ट बैंकर पनि छन् । यस्तो अवस्थामा त मर्चेन्ट बैंकरसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो नि ?

मर्चेन्ट बैंक र प्राईभेट ईक्विटी फण्डबीच सहकार्य नै हुन्छ । तर, मर्चेन्ट बैंकर र हाम्रो लगानीको क्षेत्र धेरै फरक हुन्छ । मर्चेन्ट बैंकहरुले खासगरी पुँजी बजारमा लगानी गर्ने हो । त्यहाँबाट फाईदा ल्याएर युनिट होल्डरलाई उनीहरुले नाफा बाँड्छन् । प्राईभेट ईक्विटी फण्डको प्रकृति भने फरक हुन्छ । हामीले कुनै कम्पनीमा लगानीका साथै प्राविधिक र व्यवस्थापनको समेत सहयोग लिएर कम्पनीलाई नाफामा लगेर कम्पनीबाट बाहिरिएर मात्रै फण्डका लगानीकर्तालाई त्यसको प्रतिफल दिन्छौं । मर्चेन्ट बैंकहरुले लगानी गरेको सेयर बजारमा लिस्टेड हुन्छ । हाम्रा लगानीकर्ताले गरेको लगानी सूचिकृत नहुन पनि सक्छ । हाम्रो फण्डमा लगानी गर्ने लगानीकर्ताहरुले आगामी १० बर्षको होराईजन हेरेर लगानी गर्नुहुन्छ । त्यसो हुनाले मर्चेन्ट बैंकर र हामीबीचको प्रकृति नै फरक हो ।

हामी सेयर बजारमा लिस्टेड कम्पनीमा लगानी गर्नुभन्दा पनि कुनै कम्पनीमा लगानी गरेर बरु आईपीओ निकाल्न सक्ने क्षमतामा पुगाउन सहयोग गर्छाैं । तर, हामीले लगानी गरेका कम्पनीलाई पब्लिकमा लैजानका लागि मर्चेन्ट बैंकको सहयोगको आवश्यकता पर्दछ । त्यसो हुँदा पनि हामी मर्चेन्ट बैंकहरुसँग सहकार्य गरेर काम गर्छाैं ।

भेञ्चर क्यापिटले मुख्य गरी स्टार्टअपमा लगानी गर्छ । तर नेपालमा स्टार्टअप खासै सफल भएको पाईंदैन । यस्तो अवस्थामा तपाईहरुले कसरी लगानी गर्नुहुन्छ ?

आर्थिक बर्ष २०७१/७२ को बजेटमा पहिलोपटक स्टार्टअप शब्द घुसाएर यसको प्रवद्र्धनमा लाग्ने कुरा समेटिएको थियो । त्यसयता बजेटमा रकमको आधारमा यसको दायरा बढ्दै गएको भएपनि त्यसको कार्यान्वयन अझैसम्म पनि भईसकेको छैन । संसारमा १ सय ओटा स्टार्टअप कम्पनी आउँदा त्यसमध्ये १० प्रतिशत स्टार्टअप मात्रै सक्सेस हुन सक्छन् । तर भेञ्चर क्यापिटलले लगानी गरेका स्टार्टअप बढी सफल हुने सम्भावना रहन्छ । संसारभरका स्टार्टअप कम्पनीको अध्ययन गर्दा पनि यस्तो भेटिएको छ । सोही अनुसार भेञ्चर क्यापिटलले यस्ता कम्पनीमा लगानी गर्छन जसलाई प्राविधिक र व्यवस्थापकीय सहयोग समेत उपलब्ध गराएर हालको अवस्थाभन्दा माथि उठाउन सकियोस ।

हामीले पैसा लगानी गरेका स्टार्टअप कम्पनीलाई प्राविधिक सहयोग पनि दिन्छौं । हामी लगानीकर्ता भईसकेपछि त्यस्ता कम्पनीलाई बैंकले दिएको ऋणजस्तो बेलाबेलामा ब्याज र किस्ता तिरिरहनुपर्ने झण्झट वा दायित्व हुँदैन ।

स्टार्टअप कम्पनीले कति फण्ड सिर्जना गर्न सक्छ सोही आधारमा सफलता पाउने हो । ठूला स्टार्टअप कम्पनी मार्केटमा पुग्ने, आवश्यक पर्ने जति पैसा जुटाइदिने लगायतका क्षमता विस्तारमा पीईभीसीले ठुलो सहयोग गरेका हुन्छन् । धेरैजसो स्टार्टअप कम्पनीले ग्रोथ गर्ने समयमा आवश्यक पर्ने जति पैसा जुटाउन नसकेपछि फेलर हुनुपर्ने अवस्था सिर्जना भएको थुप्रै उदाहरण छन् ।

हामीले पैसा लगानी गरेका स्टार्टअप कम्पनीलाई प्राविधिक सहयोग पनि दिन्छौं । हामी लगानीकर्ता भईसकेपछि त्यस्ता कम्पनीलाई बैंकले दिएको ऋणजस्तो बेलाबेलामा ब्याज र किस्ता तिरिरहनुपर्ने झण्झट वा दायित्व हुँदैन । भेञ्चर क्यापिटलले त्यस्ता स्टार्टअप कम्पनीको ग्रोथका लागि आवश्यक प्राविधिक क्षमता विस्तार, सञ्जाल विस्तार, जनशक्ति व्यवस्थापन लगायतमा ध्यान दिन्छौं र एक अब्बल कम्पनीको रुपमा स्थापित गर्न सहयोग गर्छ । किनकी त्यो व्यापार हाम्रै हुन्छ । त्यसैले हामी स्टार्टअप कम्पनीमा लगानी मात्रै नगरी त्यसको विस्तार र विकासका लागि रणनीति पनि तयार गर्छाैं । हामी यसबीचमा प्रतिफल पनि लिँदैनौं । हामीले सकेसम्म कम्पनीको रिजर्भ बलियो बनाएर त्यसलाई कसरी माथि उठाउने बारेमा सोच्छौं ।

आर्थिक अवस्थाका कारण बन्द हुन लागेको वा समस्या परेका कम्पनीमा लगानी गरेर माथि उठाउँदा प्राईभेट ईक्विटी फण्डले कसरी लगानी गरेर आफ्नो प्रतिफल लिन्छ ?

पीईभीसी कुनै पनि कम्पनीमा दीर्घकालिन भन्दा पनि सर्ट टर्म सेयर होल्डर हुन्छ । अर्थात् हामीले कुनै कम्पनीसँग जुन दिनदेखि लगानी गरेर सहकार्य गरेका हुन्छौं त्यहि दिनदेखि बाहिरिने रणनीति सुरु गरिसकेका हुन्छौं ।

हामीले पहिले त निश्चित कम्पनीमा पुँजीका साथै प्राविधिक सहयोगको लागि समेत लगानी गर्छौं । उक्त कम्पनीलाई कसरी माथि उठाउन सकिन्छ वा कसरी अब्बल बनाउन सकिन्छ त्यसमा विशेष ध्यान दिएर लागिपर्छाैं । सोही अनुसार व्यापार व्यवसाय फस्टाउँछ पनि । कम्पनीलाई एउटा तहमा पुर्याएपछि हामी कम्पनीबाट बाहिरिने प्रक्रिया औपचारिक रुपमा सुरु गर्छाैं । कम्पनीबाट बाहिरिनका लागि हामीले ३ ओटा विधि अपनाउन सक्छौं ।

पहिलो संसारभर प्रख्यात मानिएको प्राईभेट ईक्विटी फण्डको भागमा भएको सेयर बराबरको आईपीओ जारी गर्ने र सोही अनुसार बाहिरिने । दोस्रोमा कम्पनीले धेरैभन्दा धेरै कमाउन थालेको खण्डमा ईक्विटी फण्डको भागमा भएको सेयरलाई कम्पनी मालिकले नै किन्दा पनि बाहिरिने बाटो रहन्छ । तेस्रो विकल्प भनेको कुनै अन्य कम्पनीलाई उक्त कम्पनीको सेयर बेचेर पनि बाहिरिन सकिने रणनीति रहन्छ । जस्तै कुनै कम्पनीलाई मर्जर वा एक्विजिसनमा लगेर समेत बाहिरिन सकिने व्यवस्था छ । यो प्राईभेट ईक्विटी फण्डको एक महत्वपुर्ण रणनीतिमा पनि पर्दछ । नेपालमा पनि यो सम्भावना अत्याधिक देखिन्छ ।

हामीले यस्ता कम्पनीमा ३ देखि ८ बर्षको बीचमा लगानी गर्न सक्नेछौं । अर्थात कुनै कम्पनीमा हामीले लगानी गरेको ३ बर्षमै लगानी झिक्छौं भने कुनै कम्पनीमा लगानी गरेको ८ बर्षसम्म पनि लम्बिन सक्छ ।

ग्लोबल ईक्विटी फण्ड कहिलेदेखि पुर्ण रुपमा सञ्चालनमा आउँछ ? यसले कुन कुन क्षेत्रमा लगानी गर्ने रणनीति बनाएको छ ?

हामीले लाइसेन्स भर्खरै पाएका छौं । लाइसेन्स पाउनु मात्रै सबै कुरा होईन । सञ्चालमा ल्याउन अझै धेरै नीतिगत सुधारका कामहरु गर्न बाँकी छ । पहिलो चरणमा त हामी एउटा फण्ड सिर्जना गर्नका लागि स्किम फण्डको घोषणा गर्नेछौं ।
नेपालमा सेबोन, हामी र अन्य सबैका लागि पनि यो नयाँ बिषय भएकाले यसको स्किम ल्याउनका लागि पनि धेरै अध्ययन आवश्यक छ । हाल यो अध्ययनकै सिलसिलामा छ । उक्त स्किम फण्ड सार्वजनिक गर्न केहि समय लाग्ला ।

फण्डको स्किम सार्वजनिक गरेपछि पनि धेरै नियामकीय बाधा भने हुनेछन् । नेपालमा कुनै एक निकायले अर्काे निकायसँग समन्वय गरेर अघि बढ्ने खालका नीतिहरु छैनन् । बरु, उल्टै एक निकायले अर्काे निकायलाई समस्या सिर्जना गरिदिने खालका नीतिहरु छन् । यसमा लगानी गर्नका लागि हामीले विभिन्न नियामकीय निकायसँग छलफल गरेर सो सम्बन्धमा बुझाएर बैंक वित्तीय संस्थाले पनि यस्ता फण्डमा लगानी गर्न पाउने र सक्ने गरी नीति नियम बनाउनु पर्नेछ । सहजीकरणका यी सबै काम गर्न सकिए आगामी ६ महिनाभित्रमा यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सक्नेछौं ।

ग्लोबल ईक्विटी फण्डले कुनै पनि आयोजनामा न्यूनतम ५० लाखदेखि अधिकतम ५० करोड रुपैयाँसम्मको लगानी गर्नेछ । हामीले नवीकरणीय ऊर्जा, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कृषि र सेवा क्षेत्र गरी ६ क्षेत्रमा लगानी गर्नेगरी क्षेत्र निर्धारण गरेका छौं । यी क्षेत्रका विभिन्न कम्पनीहरुमा उनीहरुको क्षमता र सम्भाव्यता हेरेर लगानी गर्न सकिनेछ ।

अहिले कुनै वित्त सम्बन्धी कम्पनी आयो कि सर्वधारण लगानीकर्ताहरु प्राथमिक सेयरको आश गरेर बस्न थालेका छन् । तपाईँहरु आइपीओ जारी गर्नुहुन्छ कि गर्नुहुन्न ?

सकेसम्म हामी आइपीओमा जाँदैनौं । हामी फण्ड म्यानेजर भएका कारण हामी आइपीओमा गईराख्नु पनि पर्दैन । हामीले ठूलो फण्ड चलाउने भएपनि आन्तरिक व्यवस्थापनका लागि ठुलो लगानीको आवश्यकता पर्दैन । हालसम्म मर्चेन्ट कम्पनीहरु पनि आइपीओमा गएका छैनन् । कम्पनी त पब्लिकनै हो तर, नियामकीय निकायले हामीलाई आइपीओमा जाउ भनेर दबाब नदिएसम्म हामी यसमा जाने योजना बनाएका छैनौं ।

कुनै कम्पनीले लगानी गर्ने भनेको राम्रो प्रतिफल आर्जन गर्न हो । ग्लोबल ईक्विटी फण्डमा लगानी गर्दा प्रतिफलको टार्गेट कसरी निर्धारण हुन्छ ?

हामी प्राईभेट ईक्विटी हौं । हामीले स्थापनाका बेलामा नै कुल लगानीको १० प्रतिशत भेञ्चर क्यापिटलमा लगानी गर्छाैं भनेका छौं । संसारभरको अभ्यास हेर्दा प्राईभेट ईक्विटी र भेञ्चर क्यापिटल नै सबैभन्दा बढी प्रतिफल दिने क्षेत्र हुन् । अर्थात् यो क्षेत्रले लगानीकर्तालाई ५ गुणासम्म प्रतिफल दिन सक्ने हैसियत राख्छ । विश्वभर गरिएको अध्ययनले पनि यहि देखाएको छ । तर, यो जोखिम फण्ड पनि हो । किनकी यो कतै लिस्टेड पनि भएको हुँदैन ।

त्यसैले यसलाई हाई रिस्क हाई रिटर्नको क्षेत्र पनि भन्ने गरिन्छ । तर, संसारभर ९८ प्रतिशत फण्डहरु सफल भएको अभ्यास छ । किनकी फण्डले एउटै सेक्टरमा मात्रै लगानी नगरेर लगानीमा विविधिकरण गरिरहन्छ । लगानी गरेको कुनै क्षेत्र वा कम्पनीमा अप्ठ्यारो अवस्था आउन लाग्दा त्यसको चुनौतिलाई सामना गर्ने पनि गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL