GBIME

म अझैपनि नाडामा सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा छु, यदि चुनाव भएमा हाम्रो विजय सुनिश्चित छ : करण चौधरी


बिजखबर संवाददाता
30 November, 2021 12:52 pm

karan_chaudary

यतिवेला नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालमा चुनानी सरगर्मी बढेको छ । यस अघि सर्वसम्मत नेतृत्व चयन भएको नाडामा यस पटक प्यानलनै खडा गरेर उम्मेदावारहरु चुनावी मैदानमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा समेत प्रभाव पार्ने नाडाको नेतृत्व गर्न दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । नाडाको चुनावी सेरोफेरोमा केन्द्रित रहेर नाडाका अध्यक्षका प्रत्यासी हाल नाडाकै उपाध्यक्ष एवं सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीसँग बिजखबरले गरेको कुराकानीको सार :

Laxmi
NABIL
Yamaha

नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालमा चुनावी सरगर्मी बढेको छ । तपाईले अध्यक्षमा उम्मेदवारी प्रस्तुत गरिरहँदा तयारी कस्तो छ ?

नाडालाई यसपाली साँच्चैनै चुनाव लागेको छ । एक ठाउँमा बसेर चुनाव जितियो र गरियो भन्नु भन्दा पनि प्रदेशस्तरीय सबै मतदाताहरुलाई भेटेर उनीहरुको कुरा सुनेर, कुरा बुझेर, मन रिझाएर अघि बढ्नु नै चुनाव हो । तर, नाडाजस्तो ठुलो संस्थालाई चुनावमा धकेल्नु भनेको मनमा तुष लिएर अघि बढ्नु हो । त्यसैले म अझै पनि नाडामा चुनाव गर्नु हुँदैन सर्वसम्मतिबाटै नेतृत्व चयन गर्नु पर्छ भन्ने पक्षमा छु । केही साथीहरु प्यानलनै बनाएर चुनावी मैदानमा होमिसक्नुभएको छ । सबैले मलाई अझै पनि किन प्यानल घोषणा नगरेको भनेर भन्दै आउनुभएको छ । सकभर सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ र त्यसका लागि ढोका खुला राख्नकै लागि अहिलेसम्म प्यानल घोषणा गरेको छैन । मैले चाँडै प्यानल घोषणा गरेँ भने सहमतिको बाटो बन्द हुन्छ त्यसैले पनि मैले आफ्नो प्यानल घोषणा गर्न हतार गरेको छैन ।

sarbottam

म अझैपनि अन्तिम समयसम्म सहमतिमा कसरी जान सकिन्छ भनेर लागिपरेको छु । त्यति गर्दागर्दै पनि सहमतिमा जान सकिएन भने प्रजातान्त्रिक रुपमै चुनावमा जानुको विकल्प रहँदैन । यसरी चुनाबै भयो भने धेरैजसो मतदाताले स्वयं मत खसाल्ने प्रक्रियामा भाग लिन पाउनुहुनेछ र सही नेतृत्व चयन गर्नुहुनेछ । यसरी समग्रमा नाडालाई चुनाव लागेको छ र मलाई पनि लागेको छ । मैले सातै प्रदेशका प्रतिनिधिसँगै मतदाताहरुलाई भेटेर आएको छु । बाँकी काठमाडौं भक्तपुर र काठमाडौंमा पनि केहिदिनमा गर्दैछु । सर्वसम्मत नभई चुनाव भयो भने म र मेरो टीमले बहुमत मत ल्याएर चुनाव जित्नेछ ।

तपाईँ सहमतिको पर्खाईमा बस्ने र अर्का अध्यक्षका प्रत्यासी चुनाव प्रचारमै हिँडिरहेका बेला सर्वसम्मत नेतृत्व चयनको बाटोमा जान कत्तिको सम्भव छ ?

विभिन्न चरणमा सर्वसहमतिका लागि प्रस्तावहरु पनि आईरहेकै छन् । ती प्रस्तावहरुलाई कसरी समेट्ने भन्ने प्रक्रियामा पनि हामी लागिराखेका छौं । एकातिरबाट सर्वसहमतिको प्रस्ताव आईरहेको बेलामा एकतर्फी उम्मेद्वारले आफ्नो प्यानलै लिएर चुनाव प्रचारमा हिँड्नु शोभनीय पनि मानिदैन । तर, म अझै पनि सर्वसहमतिमै अगाडि बढ्नु अडानमा छु । र नाडालाई एक ढिक्का राख्नका लागि सबैभन्दा राम्रो पनि यहीँ नै हुनेछ ।

यसअघिका कार्यकालमा सहमतिमै सर्वसम्मत नेतृत्व चयन हुनेगरेको थियो । यो बर्ष किन चुनावी माहोल तताईयो ?

मेरो बिचारमा पछिल्लो समय नाडाको आकर्षण बढेको हो । यसरी पछिल्लो समय बढेको चुनावी आकर्षण र फैलिएको सूचनाले नाडा पनि एक ठूलो संस्था छ र रैछ भन्ने सन्देश गएको छ । हामी प्रदेश संरचनामा गईसकेपछि नाडा पनि महासंघको क्षमता भएको संस्था होकी भन्ने लागेको छ । यसले गर्दा पनि चुनावमा धेरैजना प्रत्यासी हुनुभएको होला ।

अध्यक्षको रुपमा आफुलाई अघि बढाईरहँदा संस्थागत हितसँगै सदस्यको हितका लागि के कस्ता एजेन्डाहरु लिएर अघि बढ्नुभएको छ ?

म नाडाको कार्यसमितिमा रहेको यो तेस्रो कार्यकाल हुनेछ । हालसम्म मैले चुनावकै लागि भनेर वा क्षणिक समयका लागि कुनै नयाँ प्रतिवद्धताहरु दिने गरेको छैन । मैले त्यो बेलाको आवश्यकता र जरुरीपनलाई सोचेर, हेरेर अघि बढ्ने गरेको छु । तर, अहिलेको लागि भने मैले कोरोना कालमा अटोमोबाईल सेक्टरलाई पुर्याएको असर र यसपछि व्यवसायीहरुलाई कसरी उकास्न सकिन्छ भन्नेमा केन्द्रित हुनेछु । त्यसअनुसारको ज्ञान, सीप तथा अन्य फण्डिङसमेत दिन सकिन्छ कि भनेर यस विषयमा छलफल अघि बढाईरहेको छ् ।

पछिल्लो समयको बढ्दो ब्याजदर, करलगायतका भारहरुकाबीच व्यवसायीलाई कसरी माथि उकास्न सकिन्छ भन्ने कुरा पनि मेरा प्रमुख प्रतिवद्धतामा पर्नेछन् । यो कोरोनाको एक चुनौति पनि हो । हामीले पहिले पहिले सार्वजनिक सवारीसाधन प्रयोग गरौं भन्ने प्रचारै गर्ने गरेका थियौं । तर, अब त्यो अवस्था कोरोनाले रहन दिएन । सुरक्षाका कारणले गर्दा पनि अबका दिनमा यात्रुहरु सार्वजनिक सवारीसाधनमा चढ्न हिचकिचाउँछन् । यस्ता विषयहरु हामीले कसरी अगाडि बढाउन सकिन्छ भनेर सोच्नुपर्ने अवस्था आएको छ । नाडाकै सहयोगमानै ब्याट्री उद्योग, टायर उद्योग खुल्ने क्रममा छन् भने फोरह्विल उद्योगहरुलगायत पनि स्थापना हुनसक्छन् । यसरी हामीले अन्य पार्टपुर्जा, पार्ट्सलगायत पनि नेपालमै उत्पादन गरेर रेट्रोफिटिङ गर्न सक्यौं भने त्योभन्दा राम्रो केही हुनै सक्दैन ।

नेपालमै एसेम्बल उद्योगहरु स्थापना गरी त्यहीअनुसार प्रतिश्पर्धी रुपमा अघि बढ्न के कस्ता सेवा सुविधा आवश्यक पर्दछन् ?

पहिलो कुरा त राज्यले एसेम्बलको परिभाषा दिनुपर्छ । मेरै गाडी पनि धेरै ड्यामेज भएर धेरै कुराहरु जस्तै ईन्जिनदेखि च्यासिस र अन्य पार्टपुर्जाहरु नयाँ हाल्नुपर्याे भने त्यो पनि एसेम्ब्ली हो । तर राज्यले कुन हदसम्म र कुन उपकरणसम्म जोड्नुलाई एसेम्ब्ली मान्ने भनेर तोकेको छैन । नेपाल सरकारले विदेशी मुद्रा बाहिर नजाओस, त्यही अनुसार रोजगारी सिर्जना होस र नेपालको पैसा नेपालमै बस्नुपर्याे भन्ने कुरालाई विशेष ध्यानमा राख्नु जरुरी छ । यसका लागि उद्योगीहरुले पनि सरकारको लक्ष्यलाई हेरेर हातेमालो गर्दै अघि बढ्नुपर्ने हुन्छ । हाल नेपालमै उत्पादित पार्ट्स, लुब्रिकेन्टलगायत अन्य उपकरणहरु प्रयोग गरेर यही नयाँ सवारी उत्पादन गर्नुजस्तो उचित केही हुँदैन । तर, त्यो गर्नलाई केहि समय भने लाग्छ ।

नेपालले एसेम्बल उद्योग स्थापनाका लागि दिएका विभिन्न सन्देशले अब नेपाल पनि उद्योगको युगमा गएको भन्ने सन्देश दिएको छ । यसले आगामी १० देखि १५ बर्षमा नेपालमै उत्पादित गाडीको सुविधा दिनसक्छ भन्ने सन्देश पनि हो । तर, सरकारले यस्ता कुराहरुमा नीतिगत स्पष्टता गरिदियो भने उद्योगीलाई धेरै ठुलो सहयोग हुन्छ । कुनैपनि एसेम्बलीको कुरा गर्दा कति पार्टमा गाडी आउन पाउने, कति ओटा उपकरणमा आउने र कति भागमा आउनेलगायतका नीतिगत आवश्यकताहरुलाई ध्यानमा राख्नुपर्छ । अर्थात विदेशबाट एउटा सिंगै गाडी किन्नको तुलनामा पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गर्दा केकस्तो घाटा नाफा हुन्छ त्यो पनि प्रष्ट गरिदिए पुग्छ । यस्तै नेपालमै उत्पादित वस्तुहरुको प्रवद्र्धनसँगै बाहिरबाट आउने त्यस्ता वस्तुहरु निरुत्साहित पनि गर्नुपर्छ ।

उद्योग विभागले पहिलो बर्ष १० प्रतिशत र पाँचौं बर्ष ३० प्रतिशत आन्तरिक भ्यालु एडिसन दिन सक्ने उद्योग स्थापना गर्न गाइडलाईन नै तयार पारेको छ । त्यही गाइडलाईन अनुसार एसेम्ब्ली उद्योग स्थापना गर्न सकिने अवस्था छ ?

सरकारले गाइडलाईन बनाउने हो, यसले केही हदसम्म असर त पार्छ नै । तर, बनाईएको गाइडलाईन कत्तिको कार्यान्वयन हुन्छ र कसरी अघि बढ्छ भन्ने प्रमुख कुरा हो । नेपालमा उद्योगी र व्यवसायीका लागि सबैभन्दा ठुलो विडम्बना भनेकै नीतिगत अस्थिरता हो । आज कुनै नीति आयो भने त्यो कहिलेसम्म स्थिर रहन्छ र कहिले परिवर्तन हुन्छ भन्ने चिन्ता आईरहन्छ । यदि ती नीतिहरु सही तरिकाले कार्यान्वयन भएको खण्डमा लगानीकर्ताहरु ओईरिन्छन् । भारतकै उदाहरण दिनेहो भनेपनि ४० बर्ष अघि सुजुकीले सरकारसँग जोईन्टभेन्चरमै काम अघि बढाएको थियो । यस्ता क्रियाकलापहरुलाई नेपालमा पनि लागु गर्न सकिन्छ नि ? नेपालमा उत्पादिन वस्तुहरुको माग बाहिर नहोला त्यो छुट्टै कुरा भयो आन्तरिक खपतकै लागि भएपनि यस्ता नीतिहरु आवश्यक हुन्छन् अनिमात्रै सरकारी नीतिहरु कार्यान्वयन भएको असर देख्न सकिन्छ । नेपालमा पनि उद्योग विभागले ल्याएको गाईडलाईनअनुसार एसेम्ब्ली उद्योग स्थापना गर्न सकिने अवस्था पक्कै पनि छ ।

तपाईँ नाडाको चुनावी मैदानमा होमिदै गर्दा नेपालमा विद्युतीय सवारीसाधन प्रवद्र्धनका लागि केकस्ता रणनीतिहरु अघि बढाउनुहुन्छ ?

तथ्यांक हेर्नुभयो भने नेपाल विद्युतीय गाडी आयातकर्तामा विश्वकौ उच्च १५ देशभित्र परिसकेका छौं । नेपालमा लगभग ६ प्रतिशतजति विद्युतीय सवारीसाधनहरु खपत भईरहेको विभिन्न तथ्यांकले देखाउँछ । यसले नेपालमा विद्युतीय सवारीसाधनको खपतमा अग्रसर भएर अघि बढिरहेको देखाएको छ । आज नेपालमा चाहिने सवारीसाधनहरु भुभागअनुसार कुन गाडी कहाँ र कसरी प्रयोग गरिनुपर्छ भन्ने अझै स्पष्टता छैन ।

हामी विद्युतीय युगको कुरा गर्दैगर्दा यसका लागि आवश्यक पूर्वाधारको कुरा गर्नु पनि उत्तिकै आवश्यक हुन्छ । विद्युतीय सवारीसाधनको उच्च प्रयोग र खपत गर्न पहल भईरहेको छ भने विभिन्न स्थानहरुमा चार्जिङ स्टेशनदेखि अन्य पूर्वाधारको विकास कम्पनीहरु आफैले पनि अघि बढाईरहेका छन् । तर, यसलाई अझै तिव्र रुपमा अघि बढाउनका लागि सरकारदेखि निजी क्षेत्र लागिपरेमा विश्वमै धेरै विद्युतीय सवारी चल्ने देशका रुपमा हामी चिनाउन बेर लाग्नेछैन । विद्युतीय सवारी धेरै खपत गर्ने नर्वेमा सरकारले विद्युतीय सवारी चलाउनेलाई पैसासमेत दिने गरेको छ । त्यहाँ विद्युतमा सहुलियत त छ । यस्तो देशमा पनि विद्युतीय गाडी ३५ प्रतिशत मात्रै छन भने नेपालमा हालसम्म भएको प्रगतिलाई नै धेरै मान्नुपर्छ ।

सरकारले राजस्वको मुख्य स्रोत गाडी आयातको भन्सारलाई केन्द्रमा राखेर शुल्क बढाईरहँदा नेपाली अटो बजार खुम्चिने त होइन । यसले झन चुनौती थपिएको त हैन ?

नाडाले वर्षै पिच्छेजस्तो हुने सवारीसाधनको भन्सार वृद्धिको विषयमा कुरा उठाउँदै आएको छ । अझैपनि नाडाले यो कुरालाई अगाडि बढाउनेछ । ठुला र महंगा गाडीहरुलाई छोडेर अन्य गाडीहरुको भन्सार महशुल अत्याधिक भएको छ जुन् विलासितामा पर्दैनन् । यस्ता कुरालाई सरकारले बुझिदिनुपर्ने हो । यसलाई मध्यनजर गर्दै अघि बढ्दा विलासिता होईन भने वस्तु आयातमा प्रोत्साहन गर्नुपर्छ । अटोमोबाईल उद्योग र पेट्रोलियमको मात्रै हाम्रो जीडीपीमा २५ प्रतिशतजति योगदान छ । यसरी आयातलाई निरुत्साहित गर्दै जाँदा सरकारले उठाउने राजस्व र जीडीपीमा समेत नकारात्मक असर पर्नेछ । बरु यसका लागि पूर्वाधार, र रोडनेटवर्क मात्रै बढाउन सकियो भने भन्सारदर सहजै घटाउन सकिन्छ । यसो गर्दा जनताले सस्तोमा सवारीसाधन खरिद गर्न सक्छन् भने सरकारले पनि बढि राजस्व उठाउन सक्छ । म अध्यक्ष भएभने यो बिषयलाई मुख्य रुपमा अघि बढाउनेछु ।

नाडा भन्नेवित्तिकै गाडी र मोटरसाईकल आयात गरेर बेच्ने व्यवसायीहरुको संस्था भन्ने बुझ्छौं । तपाईँहरुको दायित्व यति मात्रै हो ?

मैले नेतृत्व पाएभने सबैभन्दा महत्वपुर्ण कुरा नलेज इम्पावरमेन्टलाई अघि बढाउने छु । अटोसँगै सम्बन्धित मान्छे अटोमोबाईल क्षेत्रको विज्ञ नै हुन्छ भनेर भन्न सकिँदैन । अर्थात तपाईँ हामीले पनि यो क्षेत्रमा सबै ज्ञान पाईसकेका हुँदैनौ । यी कुराहरुलाई मध्यनजर गर्दै गाडी आयात गरी विक्री गर्ने कुराभन्दा बाहिर आएर हामीले नलेज ईम्पावरमेन्टका कार्यक्रमहरु अघि बढाउनेछौं । हामीले अटोमोबाईल क्षेत्रसँग सम्बन्धित धेरै जनालाई गाडीलगायतका कुराहरुका बारेमा राम्रो ज्ञान दिई अघि बढ्नु हाम्रो दायित्व हुनेछ र हामी यसै गर्नेछौं । यदि यस्तो भयो भने हामीले रोड सेफ्टीका बिषय, कार्वन उत्सर्जनलगायतका बिषयहरुहमा पनि सम्बन्धितहरुलाई विज्ञता प्रदान गर्नेछौं ।हाल सरकारले पनि नाडालाई कार्वन उत्सर्जन तथा सडक सुरक्षाका बिषयमा झकझकाउन थालेको छ । यसले नाडा पनि देशको एक अंग हो है भन्ने अनुभव हामीलाई भएको छ । सरकारले नाडासँग सल्लाह माग्न थालेको छ । यस्ता बिषयहरु नाडाका लागि अवसर हुन् । म सरकारको यस्तो कदमले नाडालाई मान्यता दिएको मान्छु ।

नेपालमा कोरोनापछि व्यापारचक्र टुटेर गाडीको मागभन्दा आपूर्ति न्यून हुने समस्या देखियो । अझै पनि विश्वका धेरै देशहरुमा नयाँ भेरियन्ट आईरहेको छ । पहिलेको अवस्था नेपालमा आयो भने त्यहि अनुसारको माग कसरी पुर्ति गर्न सकिएला ?

विश्वका कार निर्माताहरुसँग गाडीमा लाग्ने चिपको अभाव हुँदा त्यसको असर नेपालको माग र पुर्तिमा पर्याे । यसले गाडीको मागअनुसारको पुर्ति हुनसक्ने अवस्था भएन । तर, अब चिप अभावको समस्या हटिसकेको छ भनेबमोजिम गाडी उत्पादन हुन थालिसकेको छ । अब मागअनुुसार गाडी पुर्ति गर्न सकिने अवस्था छ । तर, पछिल्लो समयमा अन्य विभिन्न देशहरुमा देखिएको नयाँ भेरियन्टको कोरोना र केहि देशहरुले लगाएको लकडाउन नेपालमा पनि नहोला भन्न सकिने अवस्था छैन । त्यसैका कारण सरकाले पनि अब सार्वजनिक सवारीसाधनलाई भन्दा पनि निजी सवारीसाधनलाई धेरै कुरामा सहजीकरण गरिदिनुपर्छ । जसका कारण पछि सर्वसाधारणले दुःख नपाउन् ।

तपाईँ अध्यक्षको प्रत्यासी हुँदैगर्दा मतदातासँग के अपिल गर्न चाहनुहुन्छ ?

म कार्यरत संस्था सिजी मोटरकोर्प र समग्र अटोमोबाईल क्षेत्रलाई नै अगाडि बढाउन लागेको १६ बर्ष भयो । मैले करिव १० बर्ष निजी कम्पनी पनि चलाएँ । यसबीचमा म आफैलाई सक्षम भए वा छैन भन्ने प्रश्न सोध्ने गरेको छु । मैले आज अध्यक्षको उम्मेदवारी दिँदै गर्दा मभन्दा अग्रजहरुलाई सोधेर के गर्दा उचित होला भन्दा राम्रो हुने थियो भन्ने सोचेको छु र त्यसै गर्दै पनि आएको छु । अबका दिनमा अग्रजलाई सम्मान नगर्दै नाडाको नेतृत्व अब युवाको हातमा जानुपर्छ । यसले नाडालाई अघि बढाउन सोच्ने धारणा र कार्यशैली नै भिन्नका साथै नवीनतम हुन्छ । यति हुँदाहुँदै पनि म सर्वगुणसम्पन्न छैन । त्यसैले अब मैले मेरो टिममा भएका सबैलाई समेटेर सँगै अगाडि लैजानुपर्छ । जसका कारण म पुर्ण हुनेछु । यसैका कारण मैले मेरो टिममा व्यवसायी, उद्योगीलगायत सबै समेटिनुभएको छ । मैले मेरो टिममार्फत नाडामा केही गरेर देखाउनु नै प्रमुख उद्देश्य हुनेछ । सरकार पनि हाल केही गर्नुपर्छ भनेर अघि लागिरहेकै बेलामा नाडाले पनि केही गर्नुपर्छ भनेर लाग्नु राम्रो कुरा हो । मेरो मुख्य फोकस युवालाई मौका दिनुपर्याे भन्ने हो । म सक्षम छु भने मलाई नाडाले साथीहरुले किन अघि नबढाउने ?

प्रतिक्रिया दिनुहोस्

NTC
MBL