काठमाडौं । अमेरिकामा नयाँ घरहरूको बिक्री दर अगस्ट महिनामा सन् २०२२ को सुरुवातयताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ। बुधबार वाणिज्य विभागले सार्वजनिक गरेको सरकारी तथ्याङ्कअनुसार, यो वृद्धिले घरजग्गा बजारमा सकारात्मक सङ्केत देखाएको छ।
गत हप्ता अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा २५ आधार बिन्दुले कटौती गरेपछि घर खरिदकर्ताहरूलाई सहज भएको छ। यस वर्ष थप कटौती हुने सङ्केत पनि दिइएको छ। ब्याजदरमा भएको कटौतीका साथै निर्माणकर्ताहरूले खरीदकर्तालाई आकर्षित गर्न मूल्य कटौती र अन्य प्रोत्साहन योजनाहरू ल्याएका छन्। यसैगरी, नेवी फेडरल क्रेडिट युनियनका प्रमुख अर्थशास्त्री हेदर लङका अनुसार, खरीदकर्ताहरूले बजारमा उपलब्ध नयाँ घरहरूको उच्च कारोबारको फाइदा उठाइरहेका छन्।
अगस्टमा नयाँ घरको बिक्री अघिल्लो महिनाको तुलनामा २०.५ प्रतिशतले बढेर मौसमी रूपमा समायोजित वार्षिक दरमा ८ लाख पुगेको छ, जुन विश्लेषकहरूको अपेक्षाभन्दा निकै बढी हो। यसैगरी, नयाँ घरहरूको औसत मूल्य ४ लाख १३ हजार ५०० अमेरिकी डलर कायम भएको छ, जुन जुलाईको तुलनामा ४.७ प्रतिशत बढी हो। अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अर्थशास्त्री न्यान्सी भ्यान्डेन हाउटेनले केही निर्माणकर्ताहरूले नाफाको सीमा घट्दा प्रोत्साहन योजनामा कटौती गर्न सक्ने सङ्केत दिएका छन्। यद्यपि, केही विश्लेषकहरूले नयाँ घरको खरिद-बिक्री अस्थिर रहेको र समग्र बजारको सानो अंश मात्र ओगट्ने हुनाले यसलाई समग्र बजारको सूचक मान्न नहुने चेतावनी दिएका छन्।