काठमाडौं । भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । जम्मू–कश्मिरको पहलागाममा मंगलबार भएको आतंकवादी हमलापछि बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न आदेश दिएको हो ।
४८ घण्टाको समयसीमा सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई लागु हुनेछ । भारतले त्यस्ता भिसा जारी नगर्न र जारी भएकाहरू पनि रद्द हुने निर्णय गरेको छ । बैठकपछि निर्णय सुनाउँदै भारतीय विदेशमन्त्रालयका सचिव अजय मिस्रीले अब त्यस्ता भिसाबाट पाकिस्तानीहरूले भारत यात्रा गर्न नसक्ने व्यवस्था गरिएको बताएका छन् । त्यस्ता भिसा प्राप्त पाकिस्तानीहरूलाई ४८ घण्टाभित्र भारत छाड्न भनिएको उनले बताएका छन् ।
अन्य पाकिस्तानीहरूलाई मे १ अगाडि भारत छाड्न भनिएको छ । भारत र पाकिस्तानबीच सिधा हवाइ उडान सञ्चालनमा छैन । जमिनबाट आवतजावत गर्ने एक मात्रै अटारी नाका पनि मंगलबारको बैठकले बन्द गर्ने निर्णय गरेको छ । त्यसअघि भारतमा रहेका पाकिस्तानीहरूले उक्त नाका प्रयोग गर्दै आफ्नो देश फर्कन सक्ने विदेशसचिव मिस्रीले बताएका छन् ।
जमिनको नाका पनि बन्द गरेपछि भारत र पाकिस्तानबीच यातायात सिधा सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ । बैठकले सन् १९६० मा भएको सिन्धु जल सम्झौता पनि निलम्बित गर्ने निर्णय गरेको छ । विदेश सचिव मिस्रीले उक्त सम्झौतामा अस्थायी निलम्बन गर्ने निर्णय भएको बताए ।
‘सम्झौता तत्कालका लागि निलम्बन गर्ने निर्णय भएको छ । सीमापारि पाकिस्तानले आतंकवादलाई समर्थन नत्यागेसम्म निलम्बन जारी रहन्छ,’ मिस्रीले बैठकको निर्णय सुनाउँदै भने । विश्व बैंकको मध्यस्थतामा भएको उक्त सम्झौता दुई देशबीच युद्धको समयमा पनि कायम थियो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । सन्धी निलम्बनले पाकिस्तानमा सिँचाईमा ठूलो प्रभाव पर्ने बताइएको छ ।
बैठकले नयाँ दिल्लीमा रहेका पाकिस्तानी उच्च आयोगका रक्षा र सैन्य सल्लाहकारलाई अस्वीकार्य व्यक्ति (पर्सोना नन ग्राटा) घोषित गरी एक हप्ताभित्र भारत छाड्न भनेको छ । इस्लामावादमा रहेका आफ्ना रक्षा र सैन्य सल्लाहकारलाई पनि फिर्ता बोलाउने निर्णय भएको बिबिसीले जनाएको छ । उच्च आयोगमा कर्मचारीको संख्या ५५ बाट घटाएर ३० जना मात्रै कायम गर्ने निर्णय भएको बताइएको छ । मंगलबार जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपाली नागरिकसहित २६ पर्यटकहरूको मृत्यु भएको थियो । यो दुई दशक यताकै ठूलो आतंकवादी हमला रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।