Logo

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि, दैनिक संक्रमित २६ हजार नाघे

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि, दैनिक संक्रमित २६ हजार नाघे



काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७ सय २७ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

यसअघि दैनिक सङ्क्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेर २६ हजारभन्दा बढी भएको हो । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण २ सय ७७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ सङ्क्रमितमध्ये १५ हजार ९ सय १४ जना केरलाका मात्रै रहेको जानकारी दिएको छ । त्यसैगरी केरलामा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या १ सय २२ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७५ हजार २२४ रहेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या १९६ दिनपछिकै सबैभन्दा कम हो ।

पछिल्लो एक दिनमा २८ हजार २४६ जना सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमित भएकाको सङ्ख्या थोरै भएकाले सङ्क्रीय सङ्क्रमितको सङ्ख्या कम हुँदै आएको हो । भारतमा अहिलेसम्म कुल तीन करोड ३० लाख ४३ हजार १४४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १५ लाख २० हजार ८९९ जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५७ करोड चार लाख ७७ हजार ३३८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL