Logo

सिएमसीले छोडेको १० महिना पछि सिनो हाईड्रोसँग सम्झौता गर्दै मेलम्ची, भदौ अन्तिमबाट काम सुरु

सिएमसीले छोडेको १० महिना पछि सिनो हाईड्रोसँग सम्झौता गर्दै मेलम्ची, भदौ अन्तिमबाट काम सुरु



काठमाडौं । इटालिएन कम्पनी सिएमसीले छोडेको करिब १० महिना पछि मेलम्ची खानेपानी आयोजनाले नयाँ ठेकेदार पाएको छ । आयोजनाका अनुसार करिब ९५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भए पनि बाँकी काम गर्न भने चिनियाँ कम्पनी सिनो हाईड्रोसँग यही भदौ २ गते सम्झौता गर्ने तयारी भईरहेको छ ।

आयोजनाले ठेकेदार कम्पनीलाई आशय पत्र पठाईसकेको र उक्त आशय पत्रको समय भदौ १ गते समाप्तीसँगै सम्झौताको तयारी भईरहेको आयोजना प्रमुख सुर्यराज कंडेलले जानकारी दिउका छन । आयोजनाले सुरुङमार्ग फिनिसिङ र हेडवर्कस निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाईड्रोलाई दिएको हो । कंडेलका अनुसार चिनियाँ कम्पनीले आयोजनाको इस्टिमेटभन्दा करिव २५ प्रतिशतमा तल ठेक्का हालेको थियो ।

कंडेलका अनुसार आयोजनाको सम्पूर्ण भौतिक निर्माणको काम ९५ प्रतिशत मात्रै भए पनि पानी संचालन गर्ने कार्यको भने ९७ प्रतिशत काम भएको छ । उनका अनुसार चिनियाँ ठेकेदारले भदौको तेस्रो हप्तादेखीनै काम सुरु गर्ने भएको छ ।

विगतमा जस्तो आयोजनामा कुनै दुर्घटना नभए चालु आर्थिक बर्ष भित्रै उक्त आयोजनाको काम सम्पन्न गरी काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्न सकिने आयोजना प्रमुख कंडेलले बिजखबरलाई जानकारी दिएका छन ।

हेडवक्र्सका लागि करिव १ अर्ब १२ करोड रुपैयाँ र सुरुङमार्गका लागि ९५ करोड रुपैयाँ लाग्ने अनुमान छ । यस अघि दशैं पछि मात्रै काम सुरु गर्ने भनिएको आयोजनाले भदौको अन्तिमशाताबाटै काम थाल्ने गरी प्रकृयालाई अगाडी बढाएको छ । कंडेलले भने, ‘आशा गरौं विगतमा जस्तो कुनै दुर्घटना नहोस काठमाडौबासीलाई काकाकुल झैं बनाएर राख्ने हाम्रो चाहा होईन ।’

चिनियाँ ठेकेदार सिनो हाईड्रोले काम थालेको १२ महिनामा सुरुङमार्ग फिनिसिङ र १५ महिनामा हेडवक्र्स तयार पार्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL