Logo

नेपाली सामान बोकेका ५ हजार ट्रक भारतमा अलपत्र

नेपाली सामान बोकेका ५ हजार ट्रक भारतमा अलपत्र


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

भदौं २४, काठमाडौं । नेपाली भन्सार नाकादेखि कोलकत्ता बन्दरगाहसम्म नेपाली सामान बोकेर आएका ५ हजारभन्दा बढी ट्रक अलपत्र परेका छन् । तराइमा भइरहेको विभिन्न राजनीतिक दलको बन्दका कारण नेपाली सामान बोकेर आएका ट्रकहरु अलपत्र परेको अर्थमन्त्री डा. रामशरण महतले बताए । ‘व्यवसायीहरुले तराइमा केही दिनयता भइरहेको बन्दका कारण कोलकत्ता बन्दरगाहबाट सामान बोकेर आएका ट्रकहरु नेपाल भित्रने नसकेका गुनासो गर्दै आएका छन्,’ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै उनले भने, ‘जसले गर्दा नेपालमा सामानको अभाव हुनुका साथै व्यवसायीले अनावश्यक भार बोक्न बाध्य भएका छन् ।’

अर्थमन्त्री महतका अनुसार भन्सारमा लामो समय ट्रक थन्किएर बस्दा व्यवसायीहरुले बन्दरगाह तथा भन्सारको चार्ज तिर्न वाध्य भएका छन् । ‘हाल कोलकत्ता बन्दरगाहले २ हत्ताभन्दा बढी समय सामान राख्न नपाइने भन्दै तत्काल खाली गर्न आग्रह गर्दै आएको छ,’ उनले भने, ‘जसको मार नेपाली व्यवसायी देखि उपभोक्तासम्मलाई पर्नेछ ।’ २ हप्ताभन्दा बढी समयको लागि छुट्टै कर तिरेर सामान राख्नुपर्ने समेत उनले जानकारी दिए । यता व्यवसायीहरु पनि बन्दका कारण सामानहरु आयात गर्न नसकिएको बताउँदै आएका छन् ।

sejon1

पछिल्लो समय नेपालका राजनीति दलहरु आर्थिक भन्दा राजनीतिक मुद्दामा बढी केन्द्रित भएकै कारण देशले आर्थिक रुपमा गति लिन नसकेको उनको गुनासो थियो । नेतृत्वमा पुगेका राजनीतिक दलहरु आर्थिक मुद्दामा केन्द्रित नभएकै कारण देशको आर्थिक बृद्धिदर सोचेअनुरुप हुन नसकेको उनले दावी गरे ।

नेपालीहरुको काम गर्ने सस्कृति नै नभएका कारण देशमा विकास निर्माणका काम अघि नवढेको जानकारी दिए । ‘द्वुत रुपमा विकास निर्माणका काम अघि बढ्न काम गर्ने इच्छाशक्ति हुनुपर्छ,’ उनले भने, ‘तर, नेपालका मजदूरदेखि कर्मचारीसम्म त्यस्तो इच्छाशक्ति छैन ।’ यसैगरी बजेट निर्माणका क्रममा राजनीतिक दवावका कारण विभिन्न मन्त्रालयले अपरिपक्क आयोजना ल्याउने गरेकाले पनि पुँजी निर्माणको काम अघि बढ्न नसकेको उनको भनाइ थियो । साथै, नेपालमा काम गर्न आएका विदेशी निर्माण कम्पनीहरुको समेत गुणस्तर तथा क्षमता नभएको उनको आरोप थियो ।

देशमा भइरहेको आन्दोलनका कारण ट्रक व्यवसायीले दैनिक न्युनतम ५० करोड रुपैयाँभन्दा बढी घाटा व्यहोर्दै आएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘नपालमा झण्डै ५० हजार ट्रक संचालनमा छन,’ उनले भने, ‘बन्दका कारण हाल दैनिक ५ हजार मात्र ट्रक चलिरहेका छन् ।’ भन्सार नाका तथा उद्योग कलखारखानामा सामान लोड गर्न गएका ट्रकहरु लामोसमय देखि अलपत्र परेर बसेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL