Logo

सुरुङमार्ग निर्माणको महत्वकांक्षी लक्ष्यमा देखिएन गति, चालु आवमा कुनै पनि काम अघि नबढ्ने

सुरुङमार्ग निर्माणको महत्वकांक्षी लक्ष्यमा देखिएन गति, चालु आवमा कुनै पनि काम अघि नबढ्ने



काठमाडौं । सरकारले बजेटमार्फत देशका विभिन्न स्थानमा निर्माण गर्ने घोषणा गरेका सुरुङमार्गको काम हालसम्म अघि बढन सकेको छैन् । सरकारले निकै ठूलो महत्कांक्षका साथ देशका विभिन्न स्थानमा सुरुङमार्ग निर्माणकोे घोषणा गरेपनि बजेट आएको ६ महिना नाघिसक्दा पनि सुरुङमार्ग निर्माणको प्रक्रियामै सुस्तता देखिएको छ ।

laxmi

देशको सडक यातायातमा सुधारको घोाषणा गर्दै सरकारले तत्कालै काम अघि बढ्ने बताए पनि सम्बन्धित सरकारी निकायले कुनै पनि काम अघि बढाउन सकेका छैनन् ।

सरकारले बजेटमार्फत टोखा छहरे–गुर्जे भञ्ज्याङ्ग, खुर्कोट–चियाबारी, विपिनगर खुटिया–दिपायल खण्ड, गणेशमान मार्गको थानकोट–चित्लाङ खण्ड र लामाबगर उत्तरी सीमा सडक, बुटवल पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउने बताए पनि ति सुरुङमार्गको सम्भाब्यता अध्ययनसमेत नहुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतका सडक बिभागका अनुसार चालु आर्थिक बर्ष भित्र सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकको सिद्धबाबा खण्डको मात्रै अध्ययन गरि टेण्डर गर्ने प्रकृयामा जाने छ । अन्य सुरुङ मार्गको भने तत्काल कुनै पनि काम अघि नबढ्ने विभागले जानकारी दिएको छ ।

यी आयोजनाहरुको प्रारम्भिक प्रतिवेदन अध्ययनको लागि काम भईरहेको बताए पनि सरकारको घोषणाबमोजिम यसै बर्ष भने कुनै पनि आयोजनाको सम्भाब्यता अध्ययन नहुने बिभागले स्पष्ट पारेको छ । विभागका अनुसार उक्त अध्ययनको लागि मात्रै ३ देखी ४ बर्षसम्म समय लाग्ने भएकाले यो बर्ष आन्तरिक तयारीमात्रै हुने छ ।

बिभागमा कर्मचारी अभाव तथा नेपालको लागि उक्त काम नयाँ थालनी भएकाले पनि तत्काल काम गर्न समस्या रहेको विभागका अधिकारी बताउँछन् । त्यस्तै सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि नयाँ प्रविधि अपनाउनु पर्नेलगायतका प्राविधिक समस्यासमेत ढिलाईका कारण हुुन् । विभागले डिजाईन परिवर्तन गर्नु नपर्ने गरि काम अघि बढाइएको बताउँदै पहिले प्रारम्भिक काम सम्पन्न गरेर मात्रै टेण्डर प्रकृयामा जाने भएकाले अहिले नै कामको कुनै प्रगति नआएको बताएको छ ।

सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख घनश्याम गौतमले सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि भने आवश्यक अध्ययन भईरहेको जानकारी दिए । उनले भने, ‘हामीले पनि यो काम पहिलो पटक गर्ने भएकाले सकेसम्म सबै बुझेर मात्रै अगाडि बढ्ने तयारीमा रहेका छौं, हामी प्रारम्भिक कामहरु गर्दै छौं सम्भवत यो आर्थिक बर्षभित्रै टेण्डर गर्ने गरी काम गछौं ।’

सो सुरुङमार्गको प्रारम्भिक डिजाईन स्वीस विकास बैंकले तयार गरेपनि त्यसैलाई अन्तिम रुप भने दिन नसकिने आयोजना प्रमुख गौतमले जानकारी दिए । उक्त सुरुङमार्गको प्रारम्भिक डिजाईनलाई नेपाली इन्जिनियरहरुले अध्ययन गरेरमात्रै अन्तिम निचोडमा पुगेपछि टेण्डर प्रकृयामा जाने गौतमको भनाई रहेको छ । उक्त सुरुङमार्ग १ दशमलब १२६ किलोमिटरको हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL