Logo

भुकम्प पीडितलाई २ प्रतिशत व्याजमा कर्जा दिन राष्ट्र बैङ्कको निर्देशन

भुकम्प पीडितलाई २ प्रतिशत व्याजमा कर्जा दिन राष्ट्र बैङ्कको निर्देशन


रामराजा श्रेष्ठ
27
Shares

पहिलो वर्ष सावाँ व्याज तिर्नै नपर्ने ।

बिजखबर संवाददाता

१४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुकम्प पीडीतहरुलाई २ प्रतिशतको सहुलियत ब्याजमा आवास कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । ‘भूकम्पप्रभावित घरपरिवारलाई आवासीय घर पुनर्निर्माणका लागि प्रदान गरिने पुनर्कर्जा कार्यविधि २०७२’ जारी गर्दै राष्ट्र बैंकले बुधवार एक सर्कुलरमार्फत बैङ्क तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो ।

गत वैशाख १२ मा आएका महाभुकम्प र त्यसपछि आएका पराकम्पनका कारण आवासविहीन भएका परिवारलाई घर कर्जा उपलब्ध गराउन केन्द्रिय बैंकले निर्देशन दिएको छ । यसरी आवास कर्जा लिएको १ वर्षसम्म ऋणीले बैंक तथा वित्तीय संस्थालाई साँवा ब्याजको कुनै किस्ता तिर्नु नपर्ने सुविधा राष्ट्रबैंकले कार्यविधिमार्फत दिएको छ । शुरूको १ वर्ष ‘ग्रेस अवधि’ हुने गरी कम्तिमा ५ वर्ष र बढीमा १० वर्ष अवधिका लागि यस्तो कर्जा प्रदान गर्न सकिने व्यवस्था कार्यविधीमा छ ।

पहिलो वर्ष तिर्न नपर्ने भए पनि यस अवधिको ब्याज त्यसपछिका वर्षमा किस्ता तिर्दा समावेश हुने राष्ट्र बैंकले बताएको छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाबाटै घर कर्जा लिएर बनाएको घर नै भूकम्पबाट क्षतिग्रस्त भएर पुनः आवास कर्जा लिनु परेको अवस्थामा कर्जाको अवधि बढीमा १५ वर्षसम्म हुने व्यवस्था पनि कार्यविधिले गरेको छ ।

यस्तो कर्जा धितोको आधारमा काठमाडौं उपत्यकाभित्र अधिकतम २५ लाख रुपैयाँ र उपत्यका बाहिर बढीमा १५ लाख रुपैयाँसम्म लगानी गर्न सक्ने व्यवस्था कार्यविधीमा गरिएको छ । भुकम्प पीडितलाई यस्तो कर्जा उपलब्ध गराउन केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई शून्य ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउने बताएको छ ।

तर, यस्तो कर्जा प्राप्त गर्न चाहने परिवारले स्थानीय निकाय वा ‘तोकिएको’ सरकारी अड्डाबाट आफूसँग बस्न योग्य घर नभएको प्रमाणपत्र प्राप्त गर्नु पर्ने छ । धेरै ओटा घर भएर एउटा मात्रै घर बस्न योग्य भएको अवस्थामा यस्तो कर्जा दाबी गर्न पाइने छैन । धितो नहुनेले पनि यो कर्जा पाउन सक्दैन । यो कर्जा लिन पनि अन्य आवास कर्जाको सरह बीमा लगायत सबै प्रक्रिया पुरा गर्नु पर्ने छ । तर, यस्तो कर्जामा बेलाबेला ब्याजदर परिवर्तत गर्न र तोकिएकोभन्दा बढी सेवा शुल्क लिन पाइने छैन । कोही ऋणीले म्याद अघि नै पैसा तिर्न चाहेमा अग्रीम भुक्तानी शुल्क पनि तिर्नु पर्दैन ।

यसरी कर्जा लिएर घर बनाउँदा राष्ट्रिय भवन निर्माण संहिता र भुकम्प प्रतिरोधी भवनका सबै मापदण्ड पुरा गर्नु पर्ने छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले काम (घर निर्माण)को प्रगति हेरेर कम्तिमा ४ चरण (किस्ता)मा पुरै कर्जा भुक्तानी गर्ने छ । तर, २ लाख रुपैयाँसम्मको कर्जामा भवन निर्माण संहिता पालना गर्नु पर्दैन भने एकै किस्तामा पुरै कर्जा लिन पनि पाइन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL