काठमाडौं । फ्लाई दुवईलाई त्रिभुवन विमानस्थल सम्बन्धी अन्तरराष्ट्रिय नियम (नोटाम) लागू भइसकेको अवस्था उडान अनुमति दिएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टिकरण दिएका छन् ।
मंगलबार राती फ्लाई दुबईको उडान नं. एफजेड ५७४ लाई विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि उडान अनुमति दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २४ घण्टे लिखित स्पष्टीकरण मागेको थियो । क्षेत्रीले अन्तरराष्ट्रिय उडानको नियमविपरित उडान अनुमति दिएपछि प्राधिकरणले स्पष्टिकरण मागेको हो ।
विमानस्थलमा धावनमार्ग मर्मतका लागि राति १० बजेपछि उडान अवतरण बन्द हुन्छ । विमानस्थल सम्बन्धी अन्तरराष्ट्रिय नियम (नोटाम) लागू भइसकेको अवस्थामा उडान अवतरण गराउन पाइँदैन ।
तर क्षेत्रीले भने मानवताका नाताले सो उडान अनुमति दिएको बताएका छन । उनले भने, ‘एक हप्ता अगाडी नेपाल वायुसेवा निगमको जहाज रोक्दा कयौं नेपालीले दुख भोग्नु परेको भन्दै फ्लाई दुबईलाई उडान अनुमति दिएको हो ।’ रनवे क्लियर भएको र काम सुरु नगरेका कारणले नै उक्त जहाजलाई उडान अनुमति दिएको क्षेत्रीले जानकारी दिएका छन ।
तर अन्तरराष्ट्रिय नियम (नोटाम अनुसार) लागु भईसके पछि उक्त छुट कसैलाई हुँदैन । क्षेत्रीले भने नियम उल्लंघन भन्दा पनि फ्लाई दुबईले रनवे र ट्याक्सी वेमा अलि ढिला गरेका कारण उडान ढिला भएको जानकारी दिएका छन ।
बजारमा हल्ला आए जस्तो आफुले नियम विपरित नगरेको उनले दाबी गरेका छन । ‘एक हप्ता अगाडी निगमको जहाजलाई पनि आफु नेपाल भएको भए मिलाएर पठाउने थिएँ,’ उनले भने, ‘डुबाउने खेल भनेको के हो मैले कुरा नै बुझेको छैन, निगम मेरो आमा बाबु हो र अंश माग्नको लागि मैले डुबाउने ?’
क्षेत्रीले लिखित स्पष्टिकरणमा फ्लाई दुबईले १० बजे अगाडीनै पुसब्याक लिएको, ट्याक्सीवेमा जाँदा यात्रु आउँदै गरेको देखे पछि एक छिन कुरेको, आफ्नो कारणले ढिला गरेको भनि दिन लागेको क्षेत्रीले जानकारी दिएका छन ।
निगमको प्रतिवेदन आज आउने
काठमाडौं–दुबई उडानका लागि गत मंगलबार नेपाल वायुसेवा निगमले विमानस्थल व्यवस्थापनसँग ४ मिनेट थप समय माग गर्दा अनुमति दिएको थिएन । सोही कारण यात्रुहरु रातभर जहाजभित्रै बस्न बाध्य भएका थिए ।
निगम जहाजको उडान तालिका उक्त दिन राति ९ः१५ मा भए पनि त्रिभुवन विमानस्थलले १० बजेसम्म पनि विमानलाई उडान भर्ने अनुमति दिएका थिएनन । सोही समयमा एटीसीले हंगकंग रूटमा उड्ने ड्रागन एयरलाइन्सलाई भने उडान अनुमति दिएका थिए ।
निगमको जहाज रोकिएपछि त्यसको छानबिनका लागि बुद्धिसागर लामिछानेको संयोजक्त्वमा समिति गठन भएको छ । नेपाल एयरलाइन्सका प्रतिनिधि नराखी पर्यटन मन्त्रालयले गठन गरेको समितिले ५ दिनको समय पाए पनि एक हप्ता हुँदासम्म पनि प्रतिवेदन सार्वजनिक गरेको छैन ।
लामिछानेले भने, ‘सके सम्म आज बेलुका सम्म प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन नभए भोली विहान सम्ममा हामी प्रतिवेदन सार्वजनिक गछौं ।’ तर प्रतिबेदन कस्तो आउने भन्नेबारे उनले खुलाउन चाहेनन् ।