Logo

गभर्नर डा. नेपालको स्वाभाव, दक्षता र आगामी बाटो

गभर्नर डा. नेपालको स्वाभाव, दक्षता र आगामी बाटो


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर विश्लेषण ।

laxmi

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरिञ्जीवी नेपाल गतसाता नेपाल राष्ट्र बैंकको सोह्रौ गभर्नरको रुपमा नियुक्त भएका छन । धेरै बौद्धिक र विश्लेषकहरुको अनुमान विपरीत उनी मौद्रिक नीति निर्माणको प्रभावशाली केन्द्रीय निकायको प्रमुखको जिम्मेवारी सम्हाल्दैछन ।

उनी श्रम विषयका पीएचडी हुन । उनले धितोपत्र बोर्डमा अध्यक्षको रुपमा केही बर्ष काम गरेका छन । तत्कालिन उपप्रधानमन्त्री सुजाता कोइरालाको सल्लाहकार र शंकर कोइराला अर्थमन्त्री भएको बेला अर्थमन्त्रालयको आर्थिक सल्लाहकार भएर डा. नेपालले काम गरिसकेका छन । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा पढाउँथे । तर काम गरेका हरेक ठाउँमा उनलाई विषयवस्तुको ज्ञान भएको भनेर टिप्पणी गरेको कमै मात्र सुनिन्थ्यो  । हुन पनि संयोगले उनी त्यस्तै त्यस्तै ठाउँमा र अबुझ नेताको सल्लाहकार बन्न पुगे । टिप्पणी गर्नेहरुले भन्ने गर्छन, विषयवस्तुको कम ज्ञान र साहित्यमा बढी अभिरुची भएका तत्कालिन अर्थमन्त्री शंकर मात्र होइन, सुजाता र अहिलेका प्रधानमन्त्री तीनवटै कोइरालाको संगतमा थिए डा.नेपाल । तीनवटै कोइरालाहरुले उनीबाट के सल्लाह लिए र उनले के दिए भन्ने बुझ्न धेरैलाई कठिन छैन ।

bizkhabar_nrb

 

तर उनलाई नजिकबाट चिन्नेहरुको अर्को विश्लेषण रहेको छ । तिनीहरु भन्छन्, चिरिञ्जीवीसँग एउटा गज्जवको कला छ । उनी परस्पर विरोधी पक्षलाई वेग्ला वेग्लै ढंगले समानरुपमा प्रभावित पार्न सक्ने क्षमता राख्छन । एक अर्काका कट्टर विरोधी भएपनि छुट्टाछुट्टै ढंगले दुबै पक्षको उत्तिकै विश्वासपात्र देखिन सक्नेगरी ढाेंग रच्न सक्ने बेजोड कला उनमा छ । उनको आनबानीसँग नजिकबाट नियाल्नेहरु भन्छन् यही कलाका कारण उनी सबै पक्षलाई फेरि एकपटक छक्याउन सफल भएका छन । धेरैवटा परस्पर विरोधी पक्षको नजिकको हुन सक्ने क्षमता मात्र होइन, सत्तारुढ र प्रतिपक्ष, मजदूर र मालिक, विक्रेता र ग्राहक, कर अधिकृत र करदाता, स्वदेशी र विदेशी हरेक पक्षलाई उत्तिकै अनुकूल कुरा गरिदिन सक्ने खुबी चिरिञ्जीवीमा छ । तर, दुबै पक्ष एकैठाउँमा बसेका दिन उनी उदाङ्ग हन सक्ने प्रवल खतरा छ । दुबै पक्ष एकठाउँ उभिने वा एउटा निर्णय गर्दा दुबै पक्ष होइन कि एउटा पक्ष मात्र खुस हुने दिन उनका लागि सर्वाधिक कठिन हुनेछ । त्यो दिन पन्छाउन सक्छन कि सक्दैनन् भन्ने अहम महत्वको विषय हो । लुक्दै छिप्दै आजसम्मको यात्रा तय गरेका उनलाई भावी यात्राको चुनौतीले भने सताइरहनेछ । किनकि एकपटकमा एउटा मात्र सही निर्णय गर्न सकिन्छ । दुबै पक्षको सर्वाधिक खुसी एकै निर्णयमा संभव छैन ।

डा. नेपालले फरक फरक मञ्चहरुमा व्यक्त गरेका फरक फरक टिप्पणीहरुलाई एकै ठाउँमा राखेर हेर्ने हो भने कुनै तालमेल मिल्दैन । त्यसैले उनलाई धेरैले सस्ता टिप्पणी गर्ने अर्थशास्त्रीको रुपमा मूल्यांकन गर्ने गर्छन । यही कारण हुन सक्छ उनी अर्थशास्त्रीहरुको ‘मेनस्ट्रीम’ संगतमा छैनन् ।

अहिलेसम्म उनी केन्द्रीय बैंकको युनियन पदाधिकारीहरुको नजिकको संगतमा छन । तर, राजनीतिक संक्रमणकालसँगै अनुशासनहीन र छाडा बनेका युनियनहरुलाई काममा लगाउने उनको सबैभन्दा ठूलो चुनौती हो । कडा ढंगले काममा लगाउँदा ती युनियनमुखी कर्मचारीहरु बेखुस हुनेछन काममा लगाउन नसक्दा उनी आफै असफल हुनेछन । बैंकरहरुबीच पनि उनी सजिला छन तर यस क्षेत्रमा भैरहेका बिकृतिहरुलाई नियन्त्रण गर्नका लागि उनी कठोर हुनुपर्छ । उनी व्यापारीहरुबीच पनि प्रिय छन तर यस क्षेत्रमा भएका बिकृति नियन्त्रण गर्न र कानूनको पूर्ण परिपालना गर्न कठोर हुनुपर्ने आवश्यकता छ । अर्थात दुबै पक्षबीच एकसाथ प्रिय हुन संभव छैन ।

गभर्नर हुनका लागि उनी विभिन्न पक्षसँग बसेका सूचना तथा जानकारीका आधारमा भन्ने हो भने धेरैलाई उनले चित्त बुझाउन सक्ने संभावना छैन । चित्त बुझाउन खोजे भने नराम्ररी फँस्नेछन । उनको नियुक्तिलाई केही राजनीतिक दल र व्यापारीहरुको पैसा अर्थात स्वदेशकै विदेशी लगानीलाई सहजता दिने मुद्दासँग जोडेर हेर्नेहरु धेरै छन । दुबै पक्षलाई राजी गराउने उनको यो कुटनीति पनि संभवत छिटै उदाङ्गो हुन सक्छ । कानूनत दिन नमिल्ने झड्का पर्न सक्ने क्षेत्र भनेको चर्चित स्वदेशकै विदेशी लगानी हो ।
अर्कोकुरा उनले नेतृत्व गर्न लागेको केन्द्रीय बैंकमा निवर्तमान गभर्नर युवराज खतिवडाको कार्यजालो खतरनाक ढंगको छ । कर्मचारी विनियमावली संशोधन नगरी उनी टिक्नै सक्दैनन् । उनीसमक्ष सूचना आउने च्यानल निर्माण गर्नका लागि पनि यस्तो संशोधन जरुरी छ । राष्ट्र बैंकका अधिकारीहरु भन्छन्, केही समय त उनलाई त्यो कार्यजालो कस्तो छ भन्ने बुझ्दैमा बित्नेछ । त्यसपछि तोड्ने रणनीति बनाउँदा कर्मचारीहरुबाट हुने असहयोगले ‘डेलिभर’ गर्न पूरै रोक्नेछ । त्यसबेला सम्ममा आफू समर्थक युनियनहरु पनि वाक्क भैसकेका हुनेछन ।

दुबै डेपुटी गभर्नरहरु उच्च पदका आकांक्षी र प्रतिस्पर्धी भएकोले उनीहरुबाट बाध्यात्मकबाहेक स्वतस्फूर्त सहयोग हुनेछैन । यस्तो अवस्थामा फँसाउने ठूलो षढयन्त्र हुन सक्ने प्रवल संभावना रहेको अनुमान गर्न कठिन छैन । अपरिपक्वता र हल्काफूल्का टिप्पणी गर्ने स्वाभाव र ज्ञानको सीमाका कारण नयाँ भिजनरी काम उनबाट संपादन हुने संभावना बिल्कुलै न्युन रहेको छ । यस्तै पृष्ठभूमिका बीच पनि अघिल्ला गभर्नरले कुण्ठाको भावना बोकेर जे जस्ता निर्णय गरेर र बैंकर तथा उद्यमी व्यवसायीहरुलाई पूर्वाग्रही व्यवहार र तदनुकूलका सर्कुलरहरु जारी गरेका छन, तिनलाई उल्टाउँदा मात्र पनि उनी लोकप्रिय हुन सक्ने अभूतपूर्व संभावना चाहिँ छ । तर त्यस्तो साहसिक निर्णय गर्न सक्ने हिम्मत उनमा बचेको छैन । कसरत मात्र गरे भने पनि खतिवडाको पुरानो कार्यजालोले रोक्नेछ । यो सारा परिवेश बुझ्नेहरुले धितोपत्र बोर्डमा जस्तै केन्द्रीय बैंकमा पनि उनले पूरा कार्यकाल बिताउँदैनन् भन्ने टिप्पणी गरेको सुनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL