Logo

नयाँ भाडादर कार्यान्वयमा ल्याउँदै विभाग, आजै राजपत्रमा सूचना प्रकाशित गरिने

नयाँ भाडादर कार्यान्वयमा ल्याउँदै विभाग, आजै राजपत्रमा सूचना प्रकाशित गरिने


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

१८ फागुन, काठमाडौं । यातायात व्यवस्था विभागले घटाएको भाडादर कार्यान्वयनमा ल्याउने भएको छ । सवारीभाडा घटाएको झण्डै १ महिनापछि राजपत्रमा सूचना प्रकाशित गरेर नयाँ भाडादर कार्यान्वयनमा ल्याउन लागेको हो ।

सोमबार नै राजपत्रमा सूचना प्रकाशित गरिने यातायात व्यवस्था विभागका महानिर्देशक मधुसदन बुर्लाकोटीले बताए । ‘यस अघि राजपत्रमा सूचना प्रकशित नगरेको भएकाले कार्यान्वयनमा ल्याउन सकेका थिएनौं,’ उनले भने, ‘सूचना प्रकाशित भएर आउने वित्तिकै घटेको भाडादर कार्यान्वयनमा ल्याउन व्यवसायीलाई पत्राचार गर्नेछौं ।’

सरकारले माघ २७ गते सम्पूर्ण सार्वजनिक सवारीसाधनको भाडादर घटाउने निर्णय गरेको थियो । तर, त्यतिवेला घटेको भाडादर हालसम्म पनि कार्यान्वयमा आएको छैन । त्यतिवेला विभागले उपत्यकामा चल्ने सवारीसाधनको भाडादर न्युनतम १३ रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्म तोकेको थियो । तर, उक्त भाडादर कार्यान्वयमा नआउँदा व्यवसायीले यात्रुसँग न्युनतम १५ रुपैयाँदेखि ५० रुपैयाँभन्दा बढी लिँदै आएका छन् ।

यस्तै, विभागले त्यतिवेला काठमाडौं उपत्यका र तराइमा चल्ने सवारीसाधनमा २ दशमलव ३ प्रतिशत भाडादर घटाएको थियो । पहाडी र हिमाली जिल्लामा चल्ने सवारीसाधमा भने ४ दशमलव ३७ प्रतिशत घटाएको थियो । यस्तै, ट्याक्सीको भााडादर १ दशमलव ६ प्रतिशतमात्र भाडा घटाएको थियो । सवारीभाडादर बढ्ने वित्तिकै बढाएर लिने तर घटाउनका लागि राजपत्रको सूचना कुर्ने व्यवसायीको गतल प्रवृतिले गर्दा यात्रुहरु मर्कामा परेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

पेट्रोलियम पदार्थको भाउ उच्च रुपमा घटेपनि विभागले त्यतिवेला सवारीभाडामा तेलको हिस्सा कम हुने भन्दै एकदमै न्यून भाडा घटाएको थियो । त्यतिवेला पनि संसद्को विकास समितिले भाडादर घटाउन निर्देशन दिएपछि मात्रै विभागले घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL