Logo

छाला निर्यात बढ्यो, प्रशोधन मेशिन नहुँदा समस्या

छाला निर्यात बढ्यो, प्रशोधन मेशिन नहुँदा समस्या


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ माघ, काठमाडौं । पछिल्लो समय नेपालबाट छाला निर्यात बढेको छ । नेपालका व्यवसायीले त्यस्ता छालालाई प्रशोधन गरी उपयोगमा ल्याउन नसेकपछि निर्यात बढेको हो ।

चालु आर्थिक बर्षको पाँच महिनामा नेपालबाट २८ करोड रुपैयाँ बराबरको छाला निर्यात भएको छ । यो गत आवको सो अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो ।  गत आवको सोही अवधिमा १६ करोड ५५ लाख रुपैयाँ बरारको छाला निर्यात भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । विशेषगरी उक्त छाला चीन र भारततर्फ निर्यात हुँदै आएको छ ।

चालू आवको ५ महिनामा भारततर्फ १४ करोड २६ लाख रुपैयाँ बराबरको छाला भारत निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७९ प्रतिशतले बढी हो । गत आवमा ७ करोड  ९५ लाखको छाला भारत निर्यात भएको थियो ।

त्यस्तै चीन तर्फ १४ करोड २१ लाख टेन्ड स्किन(प्रशोधित छाला) चीन  निर्यात भएको छ । गत आवमा ९ करोड ३ लाखको टेन्ड स्किन चीनतर्फ निर्यात भएको थियो । उक्त निर्यात ५७ प्रतिशतले बढी हो ।
देशमा छालाको उत्पादन बढेपनि यसको प्रयोग नगन्य रुपमा भएकोले निर्यात बढेको छाला उद्योग संघका अध्यक्ष संञ्जय गिरीले बताए । ‘नेपाली उद्योग पूर्ण रुपमा प्रशोधित छाला खोज्छन्,’ उनले भने, ‘तर, हामीसँग पूर्ण रुपमा प्रसोधन गर्ने मेसिन नै छैन ।, आधुनिक खालका मेशिन नभएकै कारण अर्धप्रशोधित कच्चापदार्थका रुपमा निर्यात गर्न बाध्य भएको उनको भनाइ छ ।

उद्योग मन्त्री महेश वस्नेत भने नेपालको छाला न्युन मुल्यमा निर्यात भएको भन्दै नेपालमै प्रशोधन गर्नुपर्ने बताउँछन् । ‘हामीले त्यसता उद्योगलाई प्रोत्साहन गर्न औद्योगिक व्यवसाय ऐन मार्फत विभिन्न योजना ल्याएका छौं,’ उनले भने, ‘यदि व्यवसायीले छाला प्रशोधन उद्योग खोल्न चाहेमा सरकार जुनसुकै सहयोग गर्न पनि तयार छ ।’

यता छाला जुत्ता तथा बस्तु उत्पादक संघ नेपालका महासचिव मनोज श्रेष्ठ भने नेपाली छाला स्तरीय नभएकोले नै प्रयोग नगरिएको बताउँछन् । नेपाली छाला फिनिसिङ राम्रो नभएकाले भारतीय छाला किन्न बाध्य हुनुपरेको उनको भनाइ छ । नेपालमा भैसी र बाख्राको छाला मात्र उत्पादन हुने भएकोले त्यस्ता छालाहरु गुणस्तरिय नहुने उनको भनाइ छ ।

व्यवसायीहरुले छाला आयात गर्नुपरेकोले छालाजन्य बस्तुको उत्पादन लागत समेत बढी पर्ने श्रेष्ठले जानकारी दिए ।  ‘हामीसँग कच्चा पदार्थ भएर पनि यसको प्रशोधनको मेसिन नहुँदा भारतको भर पर्नुपरेको छ,’ श्रेष्ठले भने, ‘नेपाली व्यवसायीले ८० प्रतिशतभन्दा बढी छाला भारतबाट आयात गर्दै आएका छन् ।’

छाला फिनिसिङ गर्ने मेसिन महंगो हुने भएकोले खरिद गर्न नसकिएको छाला उत्पादकहरु बताउँछन् । सरकारसँग यस्तो मेसिन उपलब्ध गराउन माग गर्दै आएपनि पुरा नभएको उनीहरुको गुनासो छ । उद्योगमन्त्रीले केही समय अघि छाला निर्यात रोक्न विशेष कदम चाल्ने भनेपनि हालसम्म केही काम नभएको सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

त्यस्तै छाला जुत्ता तथा बस्तु उत्पादक संघले पनि सरकार समक्ष नेपाली छाला निर्यात रोक्न पटकपटक आग्रह गरिरहेका छन् ।  नेपालबाट प्रति वर्गफिट  २० देखि ८० रुपैयाँमा छाला निर्यात हुन्छ । गुणस्तरको आधारमा यसको मूल्य फरक पर्ने व्यवसायीहरु बताउँछन् । हाल नेपालमा १२ ओटा छाला उद्योग सञ्चालनमा छन् । नेपालबाट भैंसी, गोरु तथा बाख्राको छाला निर्यात हुने गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL