Logo

नागढुंगा नौविसे सुरुङमार्ग : मुख्य सुरुङ ब्रेकथ्रु हुन अझै २०० मिटर बाँकी, फ्लाई ओभर बनाउन जग्गाको टुंगो लागेन

नागढुंगा नौविसे सुरुङमार्ग : मुख्य सुरुङ ब्रेकथ्रु हुन अझै २०० मिटर बाँकी, फ्लाई ओभर बनाउन जग्गाको टुंगो लागेन



काठमाडौं । नागढुंगा नौविसे सुरुङमार्गको मुख्य सुरुङ ब्रेकथ्रु हुन अझै २ सय मिटर खन्नुपर्ने देखिएको छ । नागढुंगा नौविसे सुरुङमार्ग निर्माण परियोजनाका अनुसार सहायक सुरुङमार्ग ब्रेकथ्रु साढे ३ महिना अघि नै भईसकेपनि मुख्य सुरुङमार्गको ब्रेकथ्रु हुन भने अझै केहि समय लाग्ने देखिएको हो ।

laxmi

यसअघि गत अगस्ट ७ का दिन उक्त सुरुङमार्गको २ हजार ५ सय ५७ मिटर सहायक सुरुङको ब्रेकथ्रु गरिएको थियो । परियोजनाले मुख्य सुरुङको भने हालसम्म २ हजार ४ सय ८८ मिटर खण्ड खनिसकेको छ । यो सुरुङ कुल २ हजार ६ सय ८८ मिटर लम्बाईको छ । यससँगै परियोजनाका सुरुङमार्गको काममात्रै ९६.४० प्रतिशत सम्पन्न भईसकेको छ भने ३.६० प्रतिशत काम बाँकी छ ।

यता सुरुङबाहिरको काम पनि हालसम्म करिव अन्तिम चरणमा रहेपनि फलाईओभरका लागि आवश्यक जग्गा अधिग्रहणमै आयोजना अड्किँदा केहि ढिलाई हुने देखिएको छ । परियोजना अन्तर्गत सुरुङबाहिर ३ ओटा अन्डरपास,४ ओटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ ओटा पुल बनिसकेका छन् । यस्तै सुरुङ बाहिर एक फ्लाई ओभर पनि बनाउनुपर्ने भएपनि जग्गा अधिग्रहणकै कारण यसको काममा भने ढिलाई भएको छ । यद्यपी परियोजनाले फ्लाई ओभरका लागि पनि आवश्यकमध्ये ९५ प्रतिशत जग्गा अधिग्रहण गरी ५ मध्ये ३ सहायक स्ट्रक्चर र सबै जग हाल्ने काम भने गरिसकेको छ ।

परियोजनाको सुरुङमार्गका लागि मात्रै जमिनमुनी ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने थियो । त्यसमध्ये मुख्य र सहायक सुरुङ गरी ५ हजार २ सय ९९ मिटर खनिसकिएको छ ।

सरकारले कोरोना महामारीलगायतका कारण यसको निर्माणमा केहि ढिलाई भएपछि गत बर्ष आयोजनाको म्याद एक बर्ष थपिदिएको थियो ।

थपिएको म्याद सन २०२४ अप्रिलसम्मको छ । यो म्यादसम्म पनि आयोजनाको फिनिसिङको काम भने नसकिने आयोजना प्रमुख नविनमान श्रेष्ठ बताउँछन् । उक्त परियोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले उपलब्ध गराएको साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लागत लाग्ने बताईएको छ ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाकामा पछिल्लो समय बढ्ने सवारी जामलाई न्युनिकरण गर्न सरकारले उक्त सुरुङमार्गको अवधारणा अघि बढाएको थियो । यसले काठमाडौं भित्रिने बाटो पनि केहि छोट्याईदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL