Logo

हप्तादिनमै १० डलरले घट्यो कच्चा पेट्रोलियमको मूल्य, आयल निगमलाई सहज होला ?

हप्तादिनमै १० डलरले घट्यो कच्चा पेट्रोलियमको मूल्य, आयल निगमलाई सहज होला ?



काठमाडौं । पछिल्लो १ हप्तादेखि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटिरहेको छ । अमेरिकी बजारमा ग्यासोलिनको न्युन मागका कारण यसको असर विश्व बजारमा पर्दा यसको अन्तराष्ट्रिय मूल्यमै ठुलो धक्का लाग्न पुगेको हो ।

laxmi

अर्थात गएको सेप्टेम्बर २७ तारिखका दिन एक बर्षयताकै उच्च अर्थात ९४.३६ डलर प्रतिब्यारल पुगेको ब्रेन्ट कच्चा तेलको मूल्य हाल घटेर ८४ डलर आशपास पुगेको हो । यसरी हेर्दा करिव १ हप्ताकै अन्तरालमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १० डलरले घटेको देखिन्छ ।

खासगरी पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको मन्दी, रुसले युरोपमाथि गरेको प्रतिवन्ध, ओपेकले गरेको उत्पादनमा कटौतिलगायतका कारण तेलको मूल्य पछिल्लो ४ महिनादेखि लगातार उकालो लागिरहेको थियो । यसअघि गएको जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्य पछिल्लो २ बर्षयताकै न्युन अर्थात ७१ डलर प्रतिब्यारल आसपासमा पुगेको थियो । त्यसयता भने लगातार कच्चा तेलको मूल्य बढेर सेप्टेम्बर २७ मा एक बर्षकै उच्च विन्दुमा पुगेको थियो ।

यसैबेला नेपालमा पनि भारतीय आयल निगमले तेलको बढेको मूल्यसूची पठाएपछि नेपाल आयल निगमले पनि डिजेल, पेट्रोल र ग्याँसको मूल्य बढाएको थियो । त्यसैबेला आयल निगमले खाना पकाउने ग्याँसको मूल्य मात्रै प्रतिसिलिण्डर २ सय १५ रुपैयाँले बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्याएको थियो । तर, यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिने निर्णय गरेसँगै यसको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगम बाध्य भएको थियो ।

यसअघि उच्च ऋण र लगातार घाटाका कारण आफुखुसी तेलको भाउ घटबढ गर्दै आएको नेपाल आयल निगम साउनदेखि आफ्नो सबै दायित्व सकिएपछि स्वचालित मूल्य प्रणालीमा गएको थियो । अर्थात भारतीय आयल निगमबाट घटेर आएको खण्डमा सोही अनुसार घटाउने र बढेर आएमा सोही अनुसार बढाउने गरी स्वचालित मूल्य प्रणालीमा गईसकेको निगमलाई मन्त्रिपरिषदको ठाडो आदेशले पुनः पुरानै लयमा फर्काईदियो ।

यसरी स्वचालित मूल्य प्रणाली कार्यविधि नै मिचेर बढाएको मूल्यवृद्धि फिर्ता लिँदा पुनः पुरानै अवस्था अर्थात पुनः घाटा खानुपर्ने अवस्था आएको नेपाल आयल निगमका अधिकारीहरु बताउँछन् । बढेको मूल्यवृद्धि फिर्ता लिएपछि आगामी १५ दिनमा मात्रै करिव २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अनुमान आयल निगमको छ । जसअन्तर्गत हाल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा भएपनि डिजेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई ईन्धन प्रतिलिटर ५ रुपैयाँ घाटा व्यहोर्नुपरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुर बताउँछन् । यस्तै निगमले खाना पकाउने ग्याँस मात्रै प्रतिसिलिण्डर १ सय ८१ रुपैयाँ घाटा खाएर बेचिरहेको उनले बताए ।

तर, विश्व बजारमा कच्चा तेलको मूल्य हाल घटिरहेकोले यसले केहि प्लस पोइन्ट दिएको निगमको भनाई छ । विश्व बजारका कच्चा तेलको मूल्य घटेसँगै भारतबाट नेपाल आउने तेलको मूल्यमा पनि केहि घटेर आउँछ ।

यसले निगमले अनुमान गरेको घाटामा केहि कमी ल्याउने निगमका अधिकारी बताउँछन् । खासगरी विश्व बजारमा कच्चा तेलको मूल्य उच्च बढेकै कारण नेपालमा पनि यसको मूल्य बढेपपनि मन्त्रिपरिषदको आदेशमा घाटा खाएरै मूल्यवृद्धि फिर्ता लिनुपरेको ठहर निगमको छ । यसरुी घाटा खाईरहँदा पुनः विश्व बजारमा तेलको मूल्य घट्दा भने निगमलाई हाईसन्चो भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL