Logo

एनबी इन्स्योरेन्स किन्दै आइएमई समूह, फागुनसम्म सञ्चालनमा आउने, प्रतिकित्ता ८१ रुपैयाँ

एनबी इन्स्योरेन्स किन्दै आइएमई समूह, फागुनसम्म सञ्चालनमा आउने, प्रतिकित्ता ८१ रुपैयाँ


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

८ पुस, काठमाडौं । अन्ततः ग्लोबल आइएमई समूहले एनबी इन्स्योरेन्स कम्पनी किन्ने भएकोे छ । चन्द्रप्रसाद ढकाल नेतृत्वको उक्त समूहले एनबीको ४५ प्रतिशत सेयर किन्न लागेको हो ।

नेपाल बङ्गलादेश बैंकको स्वामित्वमा भएको इन्स्योरेन्सको ४५ प्रतिशत स्वामित्वमध्ये ३५ प्रतिशत सेयर उक्त समूहले किन्ने निश्चित भएको छ । बाँकी १० प्रतिशत सेयर एनसीसी बैंकसँग सो समूहले पहिले नै किनिसकेको थियो ।

नयाँ व्यवस्थापन आएपछि कम्पनीको नाम पनि परिवर्तन हुने भएको छ । ग्लोबल इन्स्योरेन्सको नाममा कम्पनी सञ्चालन गर्ने करीव निश्चित भएको स्रोतले बताएको छ । आइएमई समूहले अन्य केही बैंकर, व्यवसायी र बीमा क्षेत्रका व्यवस्थापकहरु समेतको लगानीमा इन्स्योरेन्स किन्न लागेको हो ।

इन्स्योरेन्सको सेयर प्रतिकित्ता ८१ रुपैयाँमा किन्ने निश्चित भएको बताइएको छ । सोमवार विहानमात्रै यसबारे अन्तिम टुङ्गो लागेको समाचार स्रोतले बतायो । सो सेयर किन्न ५१ रुपैयाँबाट सुरु भएको बार्गेनिङ ६६ रुपैयाँ हुँदै ८१ मा पुगेपछि सहमति भएको थियो । यसअघि नेपाल स्टक एक्चेञ्जमा पछिल्लो पटक उक्त इन्स्योरेन्स कम्पनीको सेयर ८० रुपैयाँमा कारोबार भएको थियो ।

नयाँ समूहको व्यवस्थापनमा आएपछि १ः१ हकप्रद सेयर जारी गरेर चुक्ता पूँजी रु.२८ करोड पु¥याइने, कम्पनीको नाम ग्लोवल इन्स्योरेन्स राख्ने तयारी ।

नयाँ समूहले आगामी फागुनसम्ममा कम्पनी सञ्चालनमा ल्याइसक्ने बताएको छ । ‘त्यस लगत्तै शतप्रतिशत (१ बराबर १ कित्ता) हकप्रद सेयर निश्काशन गरेर कम्पनीको चुक्तापूँजी २८ करोडभन्दा बढी पु¥याउने छौं’, ग्लोबल समूहका एक लगानीकर्ताले विजखबरसँग भने । हाल कम्पनीको चुक्ता पूँजी १४ करोड १९ लाख रुपैयाँ छ । नियामक निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीलाई चुक्तापूँजी २५ करोड पु¥याउन निर्देशन दिएको थियो ।

व्यवसायिक समूह एनबी ग्रुपले प्रबद्र्धन गरेको उक्त इन्स्योरेन्समा एनबी बैंकको ४५ प्रतिशत र एनसीसी बैंकको १० प्रतिशत सेयर स्वमित्व थियो । बाँकी सेयर एनबी समूह र सर्वसाधारणको स्वामित्वमा छ । एनबी र एनसीसी दुबै बैंक पनि एनबी समूहकै प्रबद्र्धनमा खुलेका हुन् । अहिले एनबी बैंक बङ्गलादेशको आईएफआईसी बैंकले किनेको छ भने एनसीसी बैंकको सञ्चालन र व्यवस्थापन नेपाल राष्ट्रबैंकले गरिरहेको छ ।

बीमा समितिले केही महिनाअघि एनबी इन्स्योरेन्सको पूँजी बिढाउने योजना ल्याउन वा विक्रीको प्रक्रिया अघि बढाउन प्रमुख लगानीकर्ता एनबी बैंकलाई आग्रह गरेकोे थियो । यी दुबै विकल्पमा जान नसकिए इन्स्योरेन्स खारेजीको प्रक्रियामा लाने तयारी बीमा समितिले गरेको थियो । तर, बीमा समितिले नयाँ बीमा कम्पनी खोल्न अनुमति रोकेकाले व्यवसायिक समूहहरु पुरानो कम्पनीतर्फ आकर्षित भएका हुन् । बैंकीङ क्षेत्रमा आक्रामक लगानी विस्तार गरिरहेको ग्लोबल आइएमई समूहले इन्स्योरेन्समा पनि हात हाल्न लागेको हो । यसबाहेक रेमिट्यान्स, अटोमाबाईल, सञ्चारलयायत क्षेत्रमा लगानी गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL