Logo

आईएमईआई नम्बरको ‘ग्लोवल ट्रयाकिङ’, नम्बर दर्ता नभएका मोवाइल भन्सारमै रोकिने

आईएमईआई नम्बरको ‘ग्लोवल ट्रयाकिङ’, नम्बर दर्ता नभएका मोवाइल भन्सारमै रोकिने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोवाइलको आईएमईआई नम्बरको ‘ग्लोवल ट्रयाकिङ’ गर्न मिल्ने व्यवस्था लागू गर्ने भएको छ । नेपालमा कतिपय चोरीका मोवाइल भित्रने गरेकाले विश्यव्यापी रुपमै ट्राकिङ गर्न मिल्ने व्यवस्था लागू गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्राधिकरणले २०७३ बैशाखदेखि नेपाल भित्रने मोवाइलको आईएमईआई नम्बर दर्ता अनिवार्य गरेको छ । तर, कतिपय मोवाइलमा नक्कली आईएमईआई नम्बर हुने भएकाले विश्वव्यापी रुपमै ट्रयाकिङ गर्न मिल्ने व्यवस्था गर्न लागिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । ‘विश्वभर चल्ने मोवाइलको आईएमईआई नक्कली नहोस भन्ने उद्देश्य अनुरुप ग्लोवल डाटा वेसमा जान लागेका हौं,’ उलने भने, ‘उक्त व्यवस्था लागू भएपछि कुनै पनि स्थानमा नक्कली र आईएमईआइ दर्ता नभएका मोवाइल चल्न सक्ने छैनन् ।’ सो व्यवस्थालाई आगामी आर्थिक वर्ष भित्रमा कार्यान्वयमा ल्याइने प्राधिकरणले जानकारी दिएको छ ।

अर्यालका अनुसार आईएमईआई अनलाईन रजिष्टरका लागि परामर्श दाता समेत नियुक्ती गरिएको छ । उक्त परामर्श दाताले अनलाईन दर्ताको काम गर्ने छ । तर, ग्लोवल ट्रयाकिङको लागि भने भारतमा चलिरहेको सिस्टमलाई फलो गर्न लागिएको छ । ‘प्राधिकरणले भारतमा लागू गरिएको सिस्टमको अध्ययन गरिरहेको छ,’ उनले भने, ‘तत्काल आफैले सफ्टवेयर निर्माण गर्न नसकिने भएकाले हालका लागि भारतीय कम्पनीको सफ्टवेयर प्रयोग गर्ने योजना छ ।’

जस अन्तरगत मोवाइल आयातकर्ता आफैले उक्त डाटा वेशमा आईएमईआई नम्बर दर्ता गर्न सक्नेछन् । जसका लागि आयातकर्तालाई युजर नेम र आइडी दिइने छ । उक्त आईडी दिएपछि मोवाइ आयातकर्ताले भन्सारबाट मोवाइल सेट छुटाउनुपूर्व नै आफुले आयात गर्न लागेको मोवाइलको आईएमईआई नम्बर उक्त डाटा वेशमा दर्ता गराइसक्नुपर्ने छ ।

ग्लोवल डाटा वेश लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोवाइल भन्सारमै रोकिने छ । जसको लागि सम्बन्धित भन्सार कार्यालयलाई उक्त सफ्टवेयर संचालनको पहुँच दिइने छ । जसका माध्यमबाट भन्सार कार्यालयले आयातकर्ताले ल्याउन लागेको मोवाइल ठिक छ वा छैन जाच गर्न सक्ने छ । यदि आईएमईआई दर्ता नभएका वा नक्कली नम्बर भएका मोवाइल ल्याउन लागेमा भन्सार विन्दुमै रोकिने छ ।

प्राधिकरणले आईआईएमई नम्बर दर्ता लागू गरेसँगै ३ लाखभन्दा बढी मोवाइलको नम्बर दर्ता भइसकेको छ । मौजुदा व्यवस्था अनुसार मोवाइल आयातकर्ताले प्राधिकरणमै गएर फारम भरी मोवाइलको आईएमईआई नम्बर दर्ता गराउने गरेका छन् । यसैगरी व्यक्तिरुपमा भित्रिएका मोवाइलको भने अनलाईनमार्फत फारम विवरण बुझाउन सकिने छ । जसलाई प्राधिकरणले प्रमाणिकरण गर्ने छ । तर, नयाँ व्यवस्था लागू नभएसम्म अनलाईन दर्ता भने गराउने सकिने छैन ।

प्राधिकरणले करिव ४ महिनाअघि तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’ (एनइआईआर) को अन्तरिम कार्यविधीले आधिकारिक आईएमईआई नम्बर नभएका मोबाइल ब्लक गराउने निर्णय गरेको हो । एनआइइआर नाम दिइएको सो निर्देशिकाले मोवाइलको तस्करी, कालोबजारी रोक्ने र हराएका मोवाइलको ट्रयाकीङ तथा व्लकिङ गर्ने समेत बताइएको छ । मोवाइल प्रयोगकर्ताले स्टार ह्यास शुन्य ६ ह्यास डायल गरेर आफ्नो मोवाइलको आईएमइआई नम्वर पत्ता लगाउन सक्छन् । साथै मोवाइलमा व्याट्रि राख्ने भागमा पनि आईएमइआई नम्वर दिइएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL