Logo

साताव्यापी ग्लोबल मनी विक सुरु, गभर्नरले भने–बचत गर्ने बानी बढाउनुपर्छ

साताव्यापी ग्लोबल मनी विक सुरु, गभर्नरले भने–बचत गर्ने बानी बढाउनुपर्छ



काठमाडौं । ग्लोबल मनी विक २०२३ सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न कलेजका १ सय बढी विद्यार्थीहरुको सहभागितामा उक्त विकको उद्घाटन् गरेका हुन् । ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ मनाईने यो विक एक हप्ता मनाईने चलन छ । हरेक बर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाईने मनी विकको यो एघारौं संस्करण हो ।

laxmi

कार्यक्रमको पहिलो दिनको उद्घाटन् गर्दै गभर्नर अधिकारीले बचतको तुलनामा उपभोग र खर्च गर्नै प्रवृत्ति हावी भएको बताएका छन् । ‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ । त्यसैले हामीले बचत गर्ने बानीको विकास गर्नुपर्छ । बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो ।’, उनले भने ।

युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्वपूर्ण अवसर रहेको उहाँको भनाई थियो । बैंकिङ, पुँजी बजार, बीमा जस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आपूmले सिकेका ज्ञान/सीपलाई आफ्ना समाज र परिवारमा समेत प्रवाह गर्न गभर्नर अधिकारीले विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिमिल्सीना र बमबहादुर मिश्रसँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा गभर्नरको कार्यालयका कामु कार्यकारी निर्देशक किरण पण्डितले स्वागत मन्तव्य राख्दै ग्लोबल मनी विकको सान्दर्भिकता र औचित्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण र सहकारी विभागका तर्पmबाट वित्तीय चेतना प्रवद्र्धनलाई समेटिएका चार वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL